आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चुनावी तालमेलका लागि माओवादीको रणनीति : केन्द्रदेखि पालिकासम्म ‘टीम’ बन्ने

बुधबार, ०२ चैत २०७८, १२ : ५३
बुधबार, ०२ चैत २०७८

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरू चुनाव केन्द्रित अभियानमा जुटेका छन् । त्यसका लागि प्रमुख राजनीतिक दलहरूले गाउँकेन्द्रित अभियानलाई तीव्रता दिन थालिसकेको छन् । मुख्य चुनावी रणनीति बनाउनुअघि सबैजसो दलहरू पहिला वस्तुस्थिति बुझ्न मतदाता, उनीहरूको मनोभाव, आफ्नो संगठनको अवस्था लगायतका अवस्था बुझ्न केन्द्रित भएका हुन् । यही तयारीका लागि तेस्रो ठुलो दल नेकपा माओवादीले पनि दुई महिने अभियानात्मक कार्यक्रमलाई जारी राखेको छ । उक्त अभियान अन्तर्गत पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने माओवादीको आन्तरिक तयारी छ ।

सोही अभियान अन्तर्गत हाल माओवादी केन्द्रले विभिन्न प्रदेशस्तरीय प्रशिक्षण दिइरहेको छ । फागुन चौथो साता सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सबै तहका पार्टी कमिटीलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन सर्कुलर जारी गरिसकेको छ । सर्कुलरमा माओवादीले पार्टी पङ्क्तिलाई चलायमान बनाउन निर्देशन समेत दिएको छ । जसमा वैचारिक राजनीतिक कार्यक्रमदेखि संगठनात्मक कार्यक्रमहरू समावेश छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा माओवादीले हालको गठबन्धन कायमै रहने भन्दै गठबन्धनका घटकहरूसँग चुनावी तालमेलका लागि आवश्यक पहल गर्ने नीति पनि अघि बढाएको छ । जसका लागि सो पार्टीले संघ, प्रदेश, जिल्ला र पालिकास्तरसम्म ‘टीम’ गठन गरेर वार्ता र संवाद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

माओवादीले अभियान सञ्चालन गर्दा खासगरी व्यवस्थापकीय पक्ष, सूचना तथा सञ्चार सम्बन्धी कार्यक्रम, अध्ययन सर्वेक्षण तथा विश्लेषण गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।  व्यवस्थापकीय कार्यक्रमअन्तर्गत स्वयंसेवकहरूलाई राजनीतिक प्रशिक्षण, गाउँ टोलहरूमा हुने विकृति विसङ्गतिको नियन्त्रण, असहाय अशक्तहरूलाई सहयोग, मतदाताहरूको सुरक्षा सम्बन्धी आवश्यक तयारी गर्न माओवादीले निर्देशन दिएको छ । त्यसै गरी सूचना सञ्चार तथा प्रचारसम्बन्धी कार्यक्रम अन्तर्गत नगर गाउँपालिका, वडा र टोलहरूमा सञ्चार तथा प्रसार शाखा, इकाईका टोली गठन गर्ने र त्यसरी गठन भएका टोलीहरूलाई सूचना सञ्चार तथा प्रचारको महत्त्व र विधिबारे प्रशिक्षित गर्न माओवादीले जोड दिएको छ । साथै सामाजिक सञ्जालमा प्रचार समूहहरू निर्माण गर्दै अभियानका गतिविधिहरूको व्यापक प्रचार प्रसार गर्ने नीति बनाउने भएको छ । माओवादीले पार्टी र अन्तरपार्टी अन्य महत्त्वपूर्ण सूचना तथा समाचारहरू सङ्कलन गर्न र त्यसको रिपोर्टिङ गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।

अध्ययन सर्वेक्षण तथा विश्लेषण सम्बन्धी कार्यक्रम अन्तर्गत जिल्ला टिमको अगुवाइमा हरेक पालिकामा टोलीहरू गठन गर्ने, हरेक वडाहरूको राजनीतिक आर्थिक, सामाजिक अवस्थाको रिपोर्ट तयार गर्नुका साथै मतदाता नामावलीको आधारमा सबै पार्टीहरूको अवस्थाको यकिन रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।

पार्टीहरूका सबल र कमजोर पक्षहरू छुट्ट्याउनै चुनावमा विजय हासिल गर्न अवलम्बन गर्नुपर्ने रणनीति के हुन सक्दछ ? भन्ने कुराको विश्लेषण गर्दै सम्भावित उम्मेदवारहरूको सूची तयार गर्न पनि माओवादीले मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । त्यस्तै राजनीतिक तथा प्रशासनिक समन्वयका लागि राजनीतिक प्रशासनिक समन्वय टोली गठन गरी अन्य पार्टीहरूसँग संवाद, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयसँग समन्वय, अभियान टोली र पालिकाहरूसँग समन्वय, पार्टीको माथिल्लो कमिटीसँग (केन्द्र प्रदेश) सम्पर्क, समन्वय गर्न पनि माओवादीले सर्कुलरमार्फत भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप