आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसरी चलिरहेको छ काँग्रेसको चुनावी अभियान (भिडियोसहित)

बुधबार, ०२ चैत २०७८, २१ : ४०
बुधबार, ०२ चैत २०७८

सत्तारुढ नेपाली काँग्रेस देशभर स्थानीय निर्वाचन लक्षित चुनावी अभियानमा छ । काँग्रेसले फागुन २९ गतेबाट ‘घर घर जाऔं, काँग्रेस जिताऔँ’ अभियान चलाइरहेको छ । अभियानका लागि ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । केन्द्रीय प्रतिनिधिको अगुवाइमा काँग्रेसको सबै कमिटी आफ्नो पक्षमा चुनावी माहोल बनाउन व्यस्त छ । बुधबार दिउँसो रातोपाटी टोली नेपाली काँग्रेस काठमाडौंको कार्यालय पुग्दा नेता–कार्यकर्ता चुनावी मन्थनमा ब्यस्त देखिए ।

काँग्रेस काठमाडौंका केन्द्रीय प्रतिनिधि मोहनबहादुर बस्नेतको नेतृत्वमा कालोपुलस्थित जिल्ला पार्टी कार्यालयमा काँग्रेसले चुनावी अभियानबारे छलफल चलिरहेको थियो । छलफलमा पार्टीको बागमती प्रदेश सदस्य, जिल्ला कार्यसमिति, प्रतिनिधि–प्रदेश क्षेत्रीय सभापति र पालिका सभापति सहभागी थिए । अभियान अन्तर्गतको तेस्रो बैठक आगामी कार्यक्रमबारे केन्द्रित थियो ।

काठमाडौं काँग्रेसले चैत ११ गतेबाट अभियान थाल्ने निर्णय लिएको छ । काठमाडौंका ११ पालिकामा ५ दिनभित्र कार्यक्रम सक्ने केन्द्रीय प्रतिनिधि मोहन बस्नेतको तयारी छ । जिल्लाको कार्यक्रमसँग नजुध्ने गरि कार्यक्रम गरिराख्न पालिका कमिटीलाई उनको निर्देशन छ ।

‘वडा, पालिका र क्षेत्रीय समितिले राखेको कार्यक्रमा सबै सहभागी हुन सम्भव हुँदैन । जिल्लाले तोकेको कार्यक्रममा भने सबै कमिटी सहभागी हुँदा हुन्छ ।’

यस्तै, पालिका कार्यसमितिमार्फत भने चैत ३ गतेदेखि वडास्तरीय कार्यक्रम अगाडि बढाउन जिल्ला सभापति सबुज बानियाँको निर्देशन छ । बानियाँले भने, ‘काठमाडौंमा १३८ वडामा कार्यक्रम लगेर जानुपर्छ । समय छैन, वडा–वडामा जान सकिन नभन्नु होला । भोलिदेखि नै वडास्तरीय कार्यक्रम र टोली कमिटी गठनमा तीव्र रुपमा लाग्नुहोला ।’

पालिका र क्षेत्रका कार्यक्रमको भने जिल्ला समितिले मापदण्ड बनाउने उनको भनाइ छ । वडा तहमा जाँदा बढीभन्दा बढी स्थान दिएर सोही तहका नेता कार्यकर्ताको वृत्ति विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘स्थानीय तहलाई बलशाली बनाउन वडास्तरका नेता कार्यकर्तालाई स्थान दिनुपर्छ,’ उनले भने, ‘टोल समितिले निरन्तर काम गरिराख्नु पर्छ । टोल समिति जति परिचालन गर्न सकिन्छ, चुनाव जित्ने आधार बलियो बन्छ ।’

उम्मेदवारभन्दा संगठन प्रधान

उम्मेदवारसहित चुनावी अभियानमा जाँदा परिणाम राम्रो आउने बैठकमा सहभागीहरुको सुझाव थियो । तर जिल्ला सभापति बानियाँले संगठन बलियो बनाउने कुरा प्रधान भएको बताए ।

‘उम्मेदवार को हो भन्ने अहिले नै भन्न सकिँदैन । हामीले अहिले पार्टीलाई भोट माग्ने हो,’ उनी भन्छन्, ‘हामीले व्यक्तिलाई भोट हाल्ने होइन, रुखमा भोट हाल्ने हो । हामीले संगठन बलियो बनाउन जानुपर्छ ।’ उपयुक्त समयमा पार्टीमा योगदान गरेका योग्य नेताहरुलाई उम्मेदवार बनाएर पठाइने बानियाँले बताए ।

केन्द्रीय प्रतिनिधि बस्नेत अहिले नै स्थानीय तहको उम्मेदवारको टुंगो लगाउँदा टिकट नपाएकाहरुले पार्टी छोड्ने खतरा हुने बताउँछन् । ‘अहिले टिकट दिँदा आफूले नपाए अन्य पार्टीमा जाने खतरा हुन्छ । टिकट चाँडो दिएरमात्र चुनाव जित्ने होइन,’ उनले भने, ‘संगठन बलियो हुँदा चुनाव जितिन्छ ।’

चाँडो टिकट दिँदा नपाउने नेताहरुबाट टिकट पाएकालाई हराउन षड्यन्त्र व्यापक हुने गरेको बस्नेतले सुनाए । अधिकांश स्थानीय तह जित्ने गरी चुनावी रणनीति बनाउनुपर्ने उनको भनाइ छ ।

‘काठमाडौंबाट काँग्रेसले देशभर सन्देश दिनुपर्छ । स्थानीय तहको चुनाव जनमत संग्रह हो,’ उनी भन्छन्, ‘यो जनमत संग्रहले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ठूलो अर्थ राख्छ ।’

तिक्तता कम गर्ने जुक्ति

१४ औं महाधिवेशनको प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता मेटाउन भेला बोलाउने काठमाडौं काँग्रेसको तयारी छ । ‘अधिवेशनबाट जितेका र हारेका उम्मेदवारलाई बोलाएर एउटा ठूलो भेला गरौँ । त्यहाँ एक अर्काले आफ्नो गुनासो राख्नु हुन्छ,’ बस्नेतले भने ।

नेतृत्वलाई सराप्न दिएर कार्यकर्तालाई आक्रोश पोख्न दिँदा अन्तर्घात कम हुने उनको भनाइ छ । ‘अधिवेशनमा पराजित साथीहरूलाई खुलेर गाली गर्न दिउँ । उहाँले तलदेखि माथिसम्मको नेतृत्वलाई सराप्नुहुन्छ,’ बस्नेत सुनाउँछन्, ‘त्यसपछि शान्त भएर जानुहुन्छ । यसले अन्तर्घात कम हुने सम्भावना रहन्छ ।’

स्थानीय तहमा अन्तर्घात हुने संकेत पाएमा उनीहरु निकटका केन्द्रीय नेताबाटै कुरा गर्न लगाउने नीति बनाइने बस्नेतले बताए । ‘को मान्छे केन्द्रमा कुन नेतासँग नजिक भनेर बुझौँला । सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइरालालाई फोन गरेर उनीहरुलाई भन्न लगाउनुपर्छ,’ उनले भने ।

टोली कमिटीमै जोड

काँग्रेसमा १४ औं महाधिवेशनबाट केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधिसभा–प्रदेश क्षेत्रीय समिति, पालिका र वडा कमिटी बनेको छ । काँग्रेस विधानले ८ वटा कमिटीको व्यवस्था गरे पनि अधिवेशनबाट ७ वटा कमिटीमात्र आएको छ ।

अभियानमा काँग्रेसले बाँकी रहेको टोल कमिटीमा जोड दिएको छ । काँग्रेसमा वडा समितिले आवश्यकता अनुसार टोल समिति गठन गर्न सक्ने व्यवस्था छ । टोल कार्यसमितिमार्फत नागरिकसँग जोडिन सजिलो हुने काँग्रेस बुझाइ छ ।

मतदातासँग निरन्तर सम्पर्क र सम्वाद गर्ने तथा आवश्यकता अनुसार सहयोग पु¥याउने टोल समिति अनिवार्य भएको उनले बताए । त्यस्तै निर्वाचनको समयमा पार्टीको प्रचार प्रसार, निर्वाचन तथा मतदानसँग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र माथिल्लो निकायलाई प्रतिवेदन पठाउने काम पनि टोल कार्यसमितिलाई तोकिएको छ ।

विधानको दफा ५ (२) ग मा टोल कार्यसमितिको काम, कर्तव्य र अधिकारमा पनि सोही कुरा उल्लेख छ । काँग्रेस केन्द्रीय कार्यालयले पनि अभियानका क्रममा टोल कमिटीलाई नियमित रुपमा साढे ७ सय मतदातासँग नियमित भेटघाट गर्न निर्देशन दिएको छ ।

वडा कमिटीलाई गरिएको परिपत्रमा टोल कमिटीलाई नियमित साढे ७ सय मतदातासँग भेटघाट गर्न र दुःख सुखमा सहभागी हुन उल्लेख छ । देशभरका ६ हजार ७ सय ४३ वडा कार्यसमितिलाई चैत ११ सम्म १५ सदस्यीय टोल कार्यसमिति गठन गर्न काँग्रेसको निर्देशन छ । सोही अनुसार काठमाडौंमा करिब १५ को संख्यामा टोल कमिटी गठन गरिने जिल्ला सभापति बानियाँले बताए । बानियाँका अनुसार काठमाडौंका अधिकांश स्थानमा टोल कार्यसमिति बनिसकेको छ । बाँकी रहेको ठाउँमा पनि केही दिनमै टोल कमिटी गठन गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप