आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंमा मधेसी नेतादेखि सर्वसाधारणसम्मको होली

बिहीबार, ०३ चैत २०७८, २२ : ०१
बिहीबार, ०३ चैत २०७८

तराई मधेसमा विशेष रुपले मनाइने होलीमा केही वर्ष पहिलेसम्म घर नजाने कोही मधेसी हुँदैनथ्यो । अरु चाडपर्वमा नगए पनि काठमाडौं बस्ने अधिकांश मधेसीहरु होलीमा घर अवश्य जान्थे । तर परिस्थिति विस्तारै फेरिएको छ । अहिले काठमाडौंमा पनि होली धुमधामका साथ मनाइन थालेपछि मधेसीहरु गाउँ जान छाडेका छन् । कतिपय अवस्थामा तराई मधेसबाट समेत काठमाडौं आएर होली मनाउने भेटिएका छन् । 

मधेस प्रदेशका प्रमुख न्याधीवक्ता दीपेन्द्र झा आफ्नो परिवारसँग होली मनाउन काठमाडौं आएका छन् । उनका बालबच्चा काठमाडौं बस्छन्, उनीहरुको साथमा होली मनाउन काठमाडौं आएको बताउँदै न्यायाधिवक्ता झा मधेसको मधेसको होली मनाउन पनि मधेसमै जाने बताए । 

काठमाडौंको एक निजी क्षेत्रमा कार्यरत सरोज मिश्र विगत तीन चार वर्षदेखि काठमाडौंमै होली मनाइरहेका छन् । यसपटक त उनले आफ्ना आमा–बुवालाई समेत काठमाडौं बोलाए । उनी भन्छन्, ‘पछिल्लो समयको ट्रेन्ड चेन्ज भएको छ । १० वर्ष अगाडि होलीमा घर जाँदा गाडीमा सीट पाइन्नथ्यो, दसैंभन्दा बढी मान्छे होलीमा घर जान्थे तर विस्तारै त्यो ट्रेन्ड हटेको छ । अहिले मुस्किलले मधेसीहरु होली मनाउन घर जाँदो होलान् ।’ हिमाल, पहाडको चाडपर्व तराई मधेसमा पनि मनाउन थालिएको अनि तराई मधेसको चाडपर्व हिमाल पहाडले पनि मनाउन थालेको कारण यस्तो भएको उनको बुझाई छ । 

कलाकार श्यामसुन्दर यादव पनि केही वर्षयता प्रायः होली काठमाडौंमै मनाउन थालेका छन् । ‘तराई मधेसमा मनाइने होली पहिलाको जस्तो रहेन । त्यहाँको होलीमा धेरै विकृति देखिन थालेको छ । त्योभन्दा राम्रो काठमाडौंकै होली लाग्न थालेको छ,’ उनले भने, ‘काठमाडौंमा विभिन्न संघ संगठनले होली मनाउन थालेका छन्, विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छन् । यहाँ पनि रमाइलो भएको कारण अधिकाँश मधेसी होलीमा घर जाँदैनन् ।’ 

काठमाडौं लगायत पहाडमा बिहीबार होली मनाइएको छ भने तराई मधेसमा शुक्रबार होली मनाउँदैछन् । तराई मधेसका अधिकांश नेताहरु काठमाडौंमै होली मनाउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पार्टीको धनुषा कमिटीले होलीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किसकेका छन् । 

अध्यक्ष ठाकुरका स्वकीय सचिव सतेन्द्र मिश्रले भने, ‘अध्यक्षज्यूले आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग होली मनाएर काठमाडौं फर्किसक्नु भएको छ । काठमाडौंमा पनि आफन्त र पार्टीका कार्यकर्ताहरूसँग होली मनाउनुहुन्छ ।’ सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि आफ्नो चुनावी क्षेत्र धनुषामा गएर पार्टीका नेता तथा कार्यकर्ताहरूसँग होली मनाएर बुधबारै काठमाडौं फर्केका छन् । महतोका प्रेस सल्लाहकार किशोर गुरुकाअनुसार उनले पनि यसपालिको होली काठमाडौंमै मनाउने भएका छन् । 

लोसपाका अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी पनि होली कार्यक्रममै सहभागी हुन आफ्नो गृह जिल्ला महोत्तरी गएका थिए । उनी त्यहाँ कार्यक्रम सकाएर बिहीबारै काठमाडौं फर्किई घरपरिवार तथा पार्टीका कार्यकर्तासँग काठमाडौंमै होली मनाएका छन् ।  

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि यसपटक काठमाडौंमै होली मनाउने भएका छन् । उनका सहयोगी सुवास यादवको अनुसार अहिलेसम्म अध्यक्ष यादवको काठमाडौंमै होली मनाउने तयारी छ । 
जसपाका कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भने आफ्नो क्षेत्रका नेता तथा कार्यकर्तासँग होली मनाउन गृह जिल्ला सर्लाही गएका छन् । उनले भने, ‘आफ्ना आफन्त तथा कार्यकर्ताहरूसँग चाडपर्व मनाउनुको बेग्लै आनन्द छ । म हरेक चाडपर्व आफ्ना क्षेत्रका जनतासँग मनाउन गरेको छु । यसपालिको होली पनि त्यही मनाउने भएर जान लागेको छु ।’

लोसपाका कार्यकारिणी सदस्य अनिलकुमार झा पनि गृह जिल्ला रौतहटमा छन् । उनी यसपटकको होली त्यही मनाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप