मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मिथिला मध्यमा परिक्रमा (फोटो फिचर)

शुक्रबार, ०४ चैत २०७८, ०८ : २६
शुक्रबार, ०४ चैत २०७८

मिथिलाको महाकुम्भ मानिने धार्मिक तथा ऐतिहासिक १५ दिवसीय मिथिला मध्यमा परिक्रमा अन्तर्गत जनकपुरधाममा अन्तः गृह परिक्रमा हुँदै छ । विगतमा कोरोना महामारीले प्रभावित हुँदै आएको मिथिला मध्यमा परिक्रमामा यसपटक तीर्थालुहरुको ठूलो सहभागिता छ ।

बिहीबार मध्यरातमै जनकपुरधामको अधिकांश चोकमा दाउरा, काठलाई एकत्रित गर्दै होलिकाको प्रतीक बनाएर दहनसँगै अन्तःगृह परिक्रमा सुरु भएको हो । यस मिथिला मध्यमा परिक्रमाको अन्तिम परावको रुपमा जनकपुरधामको अन्तःगृह परिक्रमामा हजारौं भक्तालुहरु सहभागी भएका छन् ।

जनकपुरधामको मिल्सएरिया, भानु चोक, कदम चोक, विशहरा चोक, विद्यापति मुरली चोक, विश्वकर्मा चोक, भप्सी चोक, भ्रमरपुरा सडकलगायत दर्जनौँ चोक चौडाहामा परिक्रमा गरिने विभिन्न स्थलमा दाउरा वा काठलाई जम्मा गरि आगो लगाइ तीर्थालुले दर्शन गर्दैछन् ।

खरानी निधारमा टिकाको रुपमा तीर्थालुहरुले दलेर आशिर्वाद स्वरुप परिक्रमासँगै विभिन्न मलहारसहित लोक गित गाएर समूहमै परिक्रमा गर्ने गर्दछन् । धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेको परिक्रमाका यात्रीहरु जनकपुरधाम बिहीबार आइपुगेका थिए । परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त एवं श्रद्धालुहरुको  सहभागिता रहेको छ ।


 
जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमा परिक्रमा विधिवत रुपमा सुरु भएको मानिन्छ ।

नेपाल भारतको धार्मिक, सांस्कृतिक एवं सामाजिक पारम्परिक सदभावको प्रतीकको रुपमा मिथिला मध्यमा परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई मध्यमा परिक्रमाका रुपमा मनाइँदै आएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।

मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । आज बिहान श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन भएको मानिन्छ । यस वर्ष परिक्रमामा करिब ७ लाख भन्दा बढी तीर्थालुले अहिलेसम्म परिक्रमा गरेको अनुमान स्थानिय युवा शम्भु झा निर्दोषीले अनुमान गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप