आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरका मेयरलाई विपक्षीको प्रश्न– फ्लाईओभर खोई ?

शनिबार, ०५ चैत २०७८, ०६ : ५०
शनिबार, ०५ चैत २०७८

ललितपुर । स्थानीय जनप्रतिनिधिले कार्यकाल सम्हालेको लगभग ५ बर्ष पूरा भएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएपछि निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम समेत अगाडि बढाइरहेको छ । यसै सन्दर्भमा हामीले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको ५ बर्षको कामलाई उनका निकटम प्रतिस्पर्धीले कसरी लिएका छन् भन्नेबारे बुझ्ने प्रयास गरेका छौं ।

२०७४ सालको चुनावमा ललितपुर महानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट चिरीबाबु महर्जन निर्वाचित भएका थिए । उनले २४ हजार ६४२ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकार ३२६ मतान्तरले पराजित हुन पुगेका थिए । उनले २४ हजार ३१६ मत ल्याएका थिए ।

त्यस्तै विवेकशील साझाका स्व. रमेश महर्जनले १३ हजार ५५८ मत ल्याएका थिए । चौथो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत पाएका थिए ।

ललितपुर महानगरपालिकाको उपप्रमुखमा काँग्रेसकी गीता सत्यालले १९ हजार ८१९ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धीहरूमा विवेकशील साझाकी शोभा शाक्यले १४ हजार २४० मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९७९ मत ल्याएकी थिइन् भने राप्रपाका बाबुकाजी प्रधानले १० हजार ५४० मत ल्याएका थिए ।

सो निर्वाचनमा ललितपुर महानगरका मुख्य प्रत्याशीको नजरमा महानगरपालिकाले गरेको काम कस्तो रह्यो त ?

कुपन्डोलदेखि पुल्चोकसम्म फ्लाईओभर बनाइसक्नुभयो ?

हरिकृष्ण व्यञ्जनकार, नेकपा एमाले

ललितपुर महानगरमा के काम भयो, के काम भएन सबै कुरा जनताले हेरिरहेका छन् । महानगरपालिकाको काम एकलौटी ढंगले सञ्चालन भयो । बोर्ड बैठक नराखी आफूखुसी निर्णय गर्ने परिपाटी बसालियो । बाटोमा सुन बिछ्याउने हो भने पनि बोर्ड बैठकबाट नै निर्णय गर्नुपर्छ । महानगरपालिको नेतृत्वले गर्ने निर्णय संस्थागत हुन सकेन ।

मलाई साथीभाइले विरोध नगर्नुस् भनेको भएर मात्र चुप बसेको हो । महानगरपालिकामा यति धेरै बेथितिहरू रहेका छन् कि भनिसाध्यै छैन । मलाई महानगरपालिकाभित्र भएका धेरै बेथितिहरू थाहा छ । बैठक नै नराखिकन, कसैलाई जानकारी नै नगराइकन धुर्मुस सुन्तली फाउन्डेसनलाई २० लाख रुपैयाँ दिएको पनि थाहा छ । सडकमा साइकल लेनका नाममा रेखा तानेर करोडौं पैसा खाएको पनि देखिएकै हो । साइकल लेनमाथि नै सवारी पार्किङ गरेर रकम असुल गरेको पनि थाहा छ ।

मलाई साढे २ वर्षअघि मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले आफ्नो क्षेत्रमा बोलाएर लगेका थिए । त्यहाँ ध्वस्त भएको पोखरीलाई बनाएर उदाहरण प्रस्तुत गरेका छन् । त्यहाँ बिहान बसेर चिया खान सकिने, दिउँसो फाउन्टेन चलाएर शीतल हुने र साँझ पनि बत्ती बालेर घुम्नका लागि रमाइलो हुने बनाएका छन् । मदन सुन्दरले पार्टी पौवा, ढुङ्गेधारा त्यत्तिकै मात्रामा बनाएका छन् । इँटाले छापेर बाटो त्यत्तिकै राम्रो बनाइएको छ । मैले यहाँ आएर यस्तो काम किन गर्न सकेनन् भन्दा केही भन्न सकेनन् ।

ललितपुर महानगरपालिकाको कार्यालयबाट पुलचोक जाने सडक छेउको ड्रेनको अवस्था कस्तो छ हेर्नुभएको छ ? क्रिम पाउडर लगाएर अनुहार चिटिक्क पार्ने, तर मैलो कपडा लगाएको छ भने कस्तो देखिन्छ ? ललितपुर महानगरपालिकाको अवस्था त्यस्तो छ । यसबारेमा मलाई धेरै बोल्न मन छैन ।

उहाँले कुपन्डोलदेखि पुल्चोकसम्म फ्लाईओभर बनाइसक्नुभयो हैन ? तीन–चार वर्षसम्म त के–के सर्भे भनेर बेकारमा खर्च मात्र भएको छ । विपक्षीले हुँदैन भन्दाभन्दै पनि खर्च गरेको छ । म भएको भए संस्थागत निर्णय गर्थेँ । विपक्षीलाई पनि सँगै लिएर जान्थेँ । महानगरपालिकाको गौरवका थुप्रै योजनाहरू अगाडि बढाउँथेँ । काममा कसैको गुनासो नहुने गरी गर्थेँ ।

अहिले जाउलाखेलको अवस्था हेर्नुस् त । त्यसको आफ्नै ऐतिहासिक अस्तित्व छ । नाम जाउलाखेल, ऐतिहासिक सम्पदा बचाएको भनिएको छ तर कङ्क्रिटले छोपेर पार्क बनाएको भनिएको छ । पार्क भनिएको छ, कहीँ पार्क बनाएको छैन । सडक पिच गर्ने काम त नगरपालिकामा बजेट छ, नियमित विकासको कामबाट भइरहेको हुन्छ । फेरि सडक पिच कसरी गरेको छ भन्ने कुरा हेर्न पुलचोकबाट जाउलाखेल जाने बाटो हेरे पुग्छ । सडकको दायाँ–बायाँ पानी निकासको अवस्था कस्तो हालतमा छ हेर्नुस् । म आफू छुद्र नबनौँ भनेर मात्र हो, कुरा गरिसाध्य छैन ।

रिङरोड बाहिर जानै चाहनुभएन

दिनेश महर्जन, माओवादी केन्द्र

चिरिबावुले काम त के गर्नुभयो र ? उहाँले आफ्नो पार्टीका कार्यकर्ता रिझाउने काम गर्नुभएको छ । उहाँ रिङरोड बाहिर जान चाहनु नै भएन । वडा नम्बर २१, २२, २६, २७, २८, २९ को कुनै मतलव गर्नुभएन । महानगरको रिङरोडभित्रको भागलाई मात्र ध्यान दिनुभयो ।

सुरुमा प्रतिपक्षी दलसँग पनि सहकार्य गरेर काम गर्ने सहमति थियो ।  उहाँले नगरको काममा हामीसँग पटक्कै सहकार्य गर्नुभएन । चिरिबावुले ५ वर्षमा गरेको काम हेर्दा म शून्यभन्दा बढी नम्बर दिन सक्दिनँ । विकासको काममा, सुशासनको काममा, सहकार्यको काममा, राजनीतिक रूपमा उहाँको भूमिका सकारात्मक देखिएन । मेयरका रूपमा जुन काम गर्नुपर्ने हो, त्यो काम नगरीकन एउटा संस्थाको, एउटा गुठीको सदस्यको हैसियतले काम गरेको देखियो ।

सडक छेउमा चिरीबावु आउनुअघि नै रुख बिरुवा थिए । उनले पानी हाले होला । भइरहेको सडकमा रेखा तान्दैमा साइकल लेन हुन्छ ? खै छुट्टै सडक बनाएको ? अगाडिदेखि नै भइरहेको कुरालाई मैले बनाएँ भन्नलाई लाज शरम पनि हुँदैन ? त्यसो हो भने नेपाल नै मैले बनाएँ भने पनि भयो नि ।

कार्यकर्ताभन्दा माथि उठेर काम गरेको देखिएन

शोभा शाक्य, विवेकशील साझा

पाँच वर्षअघिको चुनावमा ललितपुर महानगरपालिकामा विवेकशील साझाबाट मेयरमा रमेश महर्जन र उपमेयरमा म उठेका थियौँ । त्योबेला हामीले एउटा भिजन तयार पारेका थियौँ । ललितपुर महानगरमा यस्तो यस्तो काम गर्ने भनेर योजना तयार पारेका थियौँ । मेयरमा रमेश महर्जन तेस्रो स्थानमा र म उपमेयरमा उपविजेता रहेकी थिएँ ।

हामीले सोचेजस्तो अहिलेको मेयरले काम गर्न सक्नुभएको छैन । उहाँहरूले चुनाव जितेपछि नगरपिता, नगरमाताको रूपमा साथ सहयोग गर्ने कुरा त छँदैछ । उहाँहरूले चुनाव जित्ने वित्तिकै मैले फोन गरेर तपाईहरुलाई के सहयोग गर्नुपर्छ, हामीलाई भन्नुहोस, हामी सहयोग गर्न तयार छौँ भनेर पनि भनेकी थिएँ । तर, पाँच बर्षको अवधिमा उहाँहरूले हामीसँग एकपटक पनि सल्लाह लिनुभएन ।

यदि हामीले जितेको भए सम्पदा क्षेत्रलाई सम्पदा क्षेत्रको रूपमा विकास गर्ने र नयाँ आधुनिक नयाँ महानगरपालिका पनि बनाउने उद्घोषका साथ हामी अगाडि गएका थियौँ । तर, अहिलेका मेयरले त्यति उल्लेखनीय काम गर्न सकेको जस्तो लागेन ।

उहाँले आफ्ना मतदाता बचाउने र आफ्नो क्षेत्रको लागि मात्र काम गर्नुभयो । महानगरपालिकाका २९ वटा सबै आफ्नै वडा हुन् । २९ वटा वडा सबै समेटेर समानुपातिकरुपमा काम गरेको मैले चाहिँ देखिनँ । टुक्रे–टुक्रे योजना दिने र आफ्ना कार्यकर्ता पालनपोषण गर्न खोजेको मैले देखेँ ।

राम्रो काम गरेको भए त ललितपुर महानगरपालिका स्वच्छ सफा हराभरा हुनुपर्ने हो । भूकम्पले भत्काएको मठ मन्दिर निर्माणको काम पनि पूरा गर्न सकेको छैन । कुनै कुनै ठाउँमा पुराना मठ मन्दिरको संरक्षण गरेको भए पनि पर्याप्त मात्रामा सांस्कृतिक सम्पदा संरक्षण हुन सकेको छैन । धेरैजसो सांस्कृतिक सम्पदाहरू अलपत्र अवस्थामा रहेको छ ।

हाम्रो यही महानगरपालिकाभित्र १६ वटा बहालहरू छन्, गोल्डेन टेम्पल यहीँ छ । यसलाई मात्र भए पनि उजागर गरेर देखाउन सकेको खण्डमा, विदेशीहरूलाई आकर्षण गर्न सकेको खण्डमा विश्वसमक्ष परिचित गराउन सकिने महानगर पनि यही हो ।

कारण देखाउन त उनीहरूले कोभिडको कारण पनि देखाउँछन् तर ३ वर्षसम्म कोभिड त आएको थिएन । त्योबेला नगरपालिकाका तर्फबाट के काम भयो त ? आफू र आफ्ना कार्यकर्ताभन्दा माथि उठेर काम गर्न सकेको देखिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप