मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गोर्खाल्यान्ड होइन मधेसप्रति चिन्तन गरौँ

सोमबार, १२ असार २०७४, ११ : ५०
सोमबार, १२ असार २०७४

हेमन्त नेपाल

इन्डियन आइडल, २००७ को फाइनलमा दार्जिलिङका प्रशान्त तामाङ र अमित पल भिडिरहँदा तामाङका लागि भोट पठाउन भनेर नेपालका काठमाडौँलगायत देशका अधिकांश सहरहरुमा पैसा सङ्कलन गरियो । त्यसबेला नेपाली मूलका प्रशान्तप्रति विश्वभरि छरिएर रहेका नेपालीहरुले देखाएको सदाशयताको मद्दतले उनले सो प्रतियोगिता जिते । भारतीय भए पनि नेपाली मूलको भएकै कारण उनलाई नेपालीहरुले खुलेरै सहयोग गरे । नेपाल र दार्जिलिङबीचको भाषिक, सांस्कृतिक र साङ्गीतिक सम्बन्धको एक ज्वलन्त उदाहरण थियो त्यो । 


आज ठीक दस वर्षपछि नेपाली र नेपालीभाषी भारतीयबीचको सामीप्यता र भिन्नताको विषय पेचिलो रुपले अगाडि आएको छ  । यसको पछाडि  भारतमा पटकपटक उठान र बैठान हुँदै गरेको छुट्टै गोर्खाल्यान्ड राज्यको आन्दोलन रहेको छ । आफ्नो मुलुकमा छुट्टै राज्य मागेर आन्दोलन गर्न पाउनु दार्जिलिङवासीको अधिकारको कुरा हो । नेपाल र नेपालीहरुका निम्ति यो सरोकारको विषय हुँदै होइन । कुनै समय नेपालको भूभाग रहेको कारणले नेपालीहरुलाई सो भूमिप्रति चासो रहनु स्वभाविक भए तापनि त्यसपछिका सन्धि, सम्झौता र विकसित राजनीतिक घटनाक्रमको कारणले सो क्षेत्र आज भारतकै एक भूभाग हो र त्यहाँका जनता भारतीय हुनुमै गौरव गरिरहेको साश्वत सत्य हो ।


त्यसो भए नेपालले सो आन्दोलन र क्षेत्रको विषयमा किन बेकारमा टाउको दुखाउने भनेर प्रश्न उठ्न सक्छ । निश्चय नै नेपाललाई भारतमा भइरहेको प्रदर्शनप्रति कुनै लेनादेना छैन तर अलग गोर्खाल्यान्ड मागिरहँदा गोर्खाल्यान्ड शब्दको प्रयोगको विषयमा सामाजिक सन्जाल विभाजित भएको छ । त्यसैले यस विषयमा प्रष्ट हुनु जरुरी छ । गोरखा जिल्लाबाट पृथ्वीनारायण शाहले एकीकरण थालेदेखि त्यस एकीकरणमा सहभागी सेनाहरु गोर्खाली कहलिन पुगे । उनले एकपछि अर्को गर्दै सफलता हात पार्दै गएकाले गोर्खाली सेना विश्वभरि प्रख्यात हुन गए । त्यही बहादुरीले गर्दा नै बेलायतको तर्फबाट विश्वयुद्धमा समेत गोर्खालीको सहभागिता रहेको थियो । त्यसको निरन्तरता स्वरुप हालसम्म पनि नेपालीहरु बेलायती सेनामा बर्सेनि भर्ती हुने गर्छन् । बेलायतमा मात्र नभएर भारतमा समेत गोर्खा रेजिमेन्टको तर्फबाट नेपालीहरु सेनामा सामेल छन् । यसमा केही मात्रामा दार्जिलिङका युवाहरु पनि छन् । यसरी हेर्दा गोर्खाली राष्ट्रियता पूर्ण रुपमा नेपालको हो ।

समयक्रममा फौजमा रहँदा केही गोर्खालीहरु विभिन्न देशमा छरिन पुगे र त्यहीँ स्थायी बसोबास गर्न थाले । यसो भनिरहँदा अर्को देशको नागरिकता लिइसकेका नेपालीहरुले आफूलाई गोर्खाली भन्न पाउँदैनन् र गोर्खा शब्दको पेटेन्ट राइट नेपालसँग मात्र छ भनेर दम्भ देखाउन किमार्थ जरुरी छैन । 


नेपाली साङ्गीतिक क्षेत्रको निम्ति अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल, विपुल क्षेत्रीलगायतका भारतीयले निकै ठूलो गुन लगाएका छन् ।

साहित्यिक क्षेत्रमा सूधपा, इन्द्रबहादुर राई, पारिजातलगायतका थुप्रै हस्तीहरु आजीवन लागेकै हुन् । यसरी हेर्दा भूगोलभन्दा माथि उठेर स्थानीयबीच भावनात्मक सम्बन्ध रहेको छ । राजनीतिक रुपले भने अलग अलग दुई राष्ट्रले एकअर्काको आन्तरिक मामिलामा चासोे नदिएकै बेस हुन्छ ।

नेपाल, भुटान, बङ्गलादेशसँग सीमाना जोडिने भएकाले पनि चिकेन्स नेक मानिने यो क्षेत्र निकै नै संवेदनशील क्षेत्र हो । त्यसकारण त्यहाँका उत्तारचढावका केही बाछिटाहरु नेपालसम्म आउन सक्छन् । यस परिस्थितिमा नेपालले खेल्न सक्ने भूमिका भनेकै तटस्थ रहनु हो । नेपालीहरुले पनि सामाजिक सन्जालमा भारतीयहरुसँग तल्लो स्तरमा गिरेर मारमुङ्ग्री गर्नुको कुनै तुक छैन । हाम्रा आफ्नै मधेसीहरुलाई विश्वासमा लिएर संविधान कार्यान्वयनतर्फ लाग्नु नै मुलुकका लागि हितकर हुनेछ । सिक्किम, दार्जिलिङका भारतीयलाई नेपाली देख्ने तर जनकपुर र वीरगन्जका मधेसीहरुलाई भारतीय देख्ने दृष्टिकोण भएको दुई चारजना मानिसका लागि यो प्रकरण दह्रिलो झापड भएको छ । 


अतः हामीले यसबाट के शिक्षा लिन सक्छौँ भने राष्ट्रियताप्रति कुनै पनि सम्झौता हुन सक्दैन । उनीहरु भारतीय हुनुमा गर्व गर्छन् भने हामीलाई नेपाली हुनुमै गर्व छ । समान भाषा, संस्कृति भए पनि उनीहरु भारतीय नै हुन् र हामी नेपाली नै हौँ । त्यसकारण उनीहरुको नितान्त आन्तरिक विषयमा हामी पक्ष या विपक्षमा उभिनु हाम्रै लागि प्रत्युत्पादक हुन सक्छ । बरु हाम्रो सम्पूर्ण जोडबल आउँदै गरेको चुनावसहित अन्य निर्वाचनलाई सफलतामा पुर्याएर मुलुकलाई विकासको बाटोतर्फ लाने हुनुपर्छ । यसैमा हामी सबैको भलो छ । 
                                                                                      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप