बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संस्कृतिमा योगदान दिएका पाँच स्रष्टा सम्मानित

आइतबार, ०६ चैत २०७८, १८ : ४०
आइतबार, ०६ चैत २०७८

नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँच स्रष्टालाई सम्मान गरिएको छ । दश हजार पुरस्कार राशि तथा ताम्रपत्रसहितको जनसांस्कृतिक महासंघ नेपालले प्रदान गर्दै आएको ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट अग्रज ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, चलचित्रकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेवी रुवाली सम्मानित भएका हुन् । 

उनीहरुलाई २४औं सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर शनिबार राजधानीमा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सम्मान गरे । सम्मान कार्यक्रममा महराले समाज रुपान्तरणका लागि संस्कृतिकर्मीले महत्वपूर्ण योगदान दिएको बताए । कला, साहित्य, गीत–संगीत, नाटक तथा सिर्जनाका विभिन्न माध्यमबाट स्रष्टाले समाजको प्रगतिशील रुपान्तरणमा निरन्तर आवाज उठाउँदै आएको विचार व्यक्त गरे । उनले भने, ‘समाजमा रहेको विभेदलाई हटाइ प्रगतिशील रुपान्तरणका लागि सांस्कृतिककर्मी निरन्तर खबरदारी गरिरहनु पर्दछ ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज डा. गोपाल ठाकुरले कलाकारलाई वस्तु मात्रै सम्झिने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिँदै संघर्ष र चुनावका बेला सांस्कृतिककर्मी चाहिने प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार व्यक्त गरे ।  उनले भने, ‘परिवर्तनको अनुभूति विश्वविद्यालय र विद्यालयमार्फत हुनुपर्दछ ।’ उनले प्रतिरोध दिवसले विभेदविरुद्ध आवाज उठाउन, न्याय र समानताको बाटोमा अग्रसर हुन सबै क्रान्तिकारी तथा प्रगतिशील व्यक्तिलाई अभिप्रेरित गर्ने भनाइ राखे । 

यस्तै, प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले ‘सांस्कृतिक प्रतिरोध दिवस र प्रगतिशील संस्कृति रुपान्तरणको प्रश्न’ विषयमा अवधारणा पत्र प्रस्तुत गरे । उनले सांस्कृतिक प्रतिरोध दिवस सांस्कृतिक क्रान्तिकै एउटा विम्ब भएको बताए । उनले भने, ‘२०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जम्मा भएका कलाकारलाई तत्कालीन सत्ताधारी वर्गको कायर मनस्थिति र आतंकित अवस्थाका कारण घरमै घेराहाली आगो लगाएर र गोली चलाएर सात जना कलाकारको जघन्य हत्या गरियो । अमानवीय र नृशंस प्रतिशोध लिने काम भयो । यी कलाकारसँग गितार, मादल, हार्मोनियम, पोशाक, र ड्रमसेटबाहेक अरु केही थिएन ।’ 

उनले जनयुद्धका बेला हत्याको शृंखला विभिन्न स्थानमा गरिए पनि कलाकारको आवाजले गाउँ बस्तीलाई बिउँझाउने काम गरेको बताए । उनले कला, साहित्य तथा संस्कृतिमार्फत जनता जगाउने काम सांस्कृतिककर्मी गरेको सुनाए । काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन सत्ताले कलाकार च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बसिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा अधिकारी र मञ्जु कुँवरलाई घरमा आगो लगाएर हत्या गरेको थियो । यही दिनको सम्झनामा नेकपा (माओवादी केन्द्र) ले सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै आएको छ । साहित्यकार ज्ञवालीले खबर प्रवृत्तिका विरुद्ध प्रतिरोधी चेतनासहित जनता जगाउने काममा सांस्कृतिककर्मी सशक्त ढंगले आवाज उठाउँदै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपप्राध्यापक बालाकृष्ण अधिकारीले प्रतिरोध दिवस र प्रगतिशील संस्कृतिका विषयमा ज्ञवालीले गहिरो संश्लेषण गरेको बताए । उनले प्रतिरोध क्रान्तिप्रतिको आक्रमणको प्रतिरोधी आक्रमण भएको बताउँदै समाजमा रहेको विभेदको खाडललाई अन्त्य गर्न संस्कृतिकर्मीले विशिष्ट योगदान दिएको बताए । डा. अधिकारीले भने, ‘भविष्यको सुन्दर मार्गचित्र कोर्न इतिहासबाट पाठ सिकेर अगि बढ्नुपर्छ । यसमा प्रतिरोध दिवसले सबैमा उत्प्रेरणा दिने विश्वास लिन सकिन्छ ।’ 

कार्यक्रममा जनसांस्कृतिक महासंघका उपाध्यक्ष कर्ण विद्रोहीले संस्कृतिकर्मीले आफ्ना सिर्जनामार्फत रुपान्तरणका पक्षमा माहोल सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रतिरोध दिवस प्रगतिवादी सांस्कृतिक आन्दोलनमा विशिष्ट महत्व राख्ने दिन हो । बलिदान र उत्सर्गको इतिहास हो । सिर्जनाको तार चुँडाल्न गरिएको आततायी हर्कतविरुद्ध लड्ने संकल्प गरिएको अभियान हो । यसले हामीलाई आलोचनात्मक ढंगले अगाडि बढ्न उत्प्रेरणा दिइरहने छ ।’

महासंघका उपाध्यक्ष भीम कुमाखीले सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरे । उनले प्रतिरोध दिवसको सन्दर्भ पारेर महासंघले समाजको प्रगतिशील रुपान्तरणमा योगदान दिएका स्रष्टालाई सम्मान गरिएको बताए । उनले भने, ‘प्रतिरोध दिवसले स्रष्टालाई कला, साहित्य, गीत–संगीत तथा सिर्जनाका विभिन्न माध्यमबाट सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन अभिप्रेरित गरेको छ ।’ महासंघका केन्द्रीय सचिव केशरी घर्ती मगरले संस्कृतिकर्मीले दिएको बलिदानले देशमा परिवर्तन आउन सकेको बताइन् । उनले भनिन्, ‘परिवर्तनका खातिर आफ्नो ज्यानको आहुति दिने संस्कृतिकर्मी सहिदको योगदानलाई सम्झिँदै प्रतिरोध दिवस मनाउँदै आएका हौं । यसले हामी सबैलाई रुपान्तरण र परिवर्तनका पक्षमा उभ्याउनका लागि उत्प्रेरणा दिइरहन्छ ।’ 

महासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सांस्कृतिक रुपान्तरणबिना समाज परिवर्तन हुन नसक्ने बताए । उनले स्रष्टाले जहिले पनि खराब प्रवृत्तिविरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रगतिवादी संस्कृति निर्माणमा स्रष्टाले सिर्जनात्मक अभियानलाई व्यवस्थित गर्नुपर्ने भनाइ राखे । उनले भने, ‘समाजमा रहेको विभेद, अत्याचार तथा असमानतालाई हटाउन संस्कृतिकर्मीले निरन्तर खबरदारी गर्नुपर्दछ । साथै प्रतिरोध दिवसले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन उत्प्रेरणा प्रदान गरेको छ ।’ सो अवसरमा कवि प्रथा, बाबा बस्नेत तथा कृष्णकिशु लगायतका कविले कविता वाचन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप