सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
१२ औं स्मृति दिवस

गिरिजा बाबुलाई कसले सम्झिरहेछन्, कसले बिर्सिए ?

सोमबार, ०७ चैत २०७८, १२ : २५
सोमबार, ०७ चैत २०७८

युगपुरुष गिरिजा बाबुको आज चैत्र ७  गते १२ औं स्मृति दिवस हो । यस  पावन अवसरमा मलाई पनि केही लेख्न मन लाग्यो । उहाँ जीवितै रहेको भए लेख्न आवश्यकता हुन्थेन होला ।  चितवनलाई उहाँ अत्यन्तै माया गर्नु हुन्थ्यो । कम्तीमा बर्षको ५÷६ पटक नजिकैबाट देखभेट, भलाकुशारी गर्न  पाइन्थ्यो ।

गिरिजा बाबुलाई मैले पहिलोपटक २०४५ सालमा देख्न पाएँ । कक्षा १ देखि ७ सम्म अध्ययन गरेको भरतपुर महानगरपालिका वडा नं ६ (साबिक गीतानगर गाविस–४ देवनगर) स्थित श्री देव ज्योति निमाविमा लगाएको धनधान्याञ्चल महायज्ञमा सर्वोच्च नेता गणेशमान सिंहको साथमा उहाँ आउनु भएको थियो । पछि दोश्रो पटक २०४७ सालमा, जनआन्दोलन २०४६ सालका प्रथम सहिद गणेश पौडेलका परिवारका सदस्यहरुलाई भरतपुर महानगर–१३ (साबिक गीतानगर गाविस–२) चम्पानगरमा भेटघाट गर्न आउँदा नजिकैबाट देख्न पाएँ । त्यस पछि पटकपटक, धेरै पटक नजिकैबाट देख्न, उहाँको कुराकानी सुन्न पाएँ ।

२०५३ सालदेखि २०६७ सालसम्म उहाँको धेरै नजिकै बसेर नेता तथा कार्यकर्ता साथीहरूलाई देशको समसामयिक राजनैतिक वस्तुस्थितिका बारेमा जानकारी गराउने र प्रशिक्षित गरिरहँदा नजिकैबाट सुन्ने अवसर मिल्यो । बिद्यार्थी राजनीति गतिविधिमा संग्लग्न हुँदा पनि उहाँसँग ब्यक्तिगत चिनजान बढाउन सकिएन । 

आज गिरिजा बाबुका बिषयमा केही लेखिरहँदा उहाँ जस्तो राजनैतिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यक्तित्वका बिषयमा  लेख्न मलाई चुनौतीले घेरको जस्तो लागिरहेको छ । गिरिजा बाबुका राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका बारेमा, उहाँका ब्यक्तिगत जीवनका दुःख कष्टलाई सम्झी सम्झी इतिहास पल्टाएर लेख्ने हो भने महिनौसम्म पनि सकिदैन । उहाँबारे थोरै भए पनि यो सानो लेखमा लेख्ने दुष्प्रयास गर्दैछु ।

पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको सन्तानको रुपमा यस धर्तीमा  १९८१  साल असरा १८ गते गिरिजाप्रसाद कोइरालाको जन्म भएको थियो  । पिता कृष्णप्रसाद, दाजुहरु वीपी कोइराला, मातृकाप्रसाद कोइराला, तारिणीप्रसाद कोइरालालगायत परिवारका सबै सदस्यहरु राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका पक्षमा सक्रिय थिए । यस कारण घरायसी वातावरणबाट नै सामाजिक रुपान्तरण र राजनैतिक परिवर्तन पक्षका गतिविधिका बिषयमा धेरै जानकार थिए गिरिजाबाबु । यसरी उहाँलाई बाल्यकालबाट नै राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणमा सक्रिय हुने अवसर मिल्यो । बाल्यकालबाटै हरेक बिषयमा आफूले योगदान पुर्याउनु पर्दछ र नेतृत्व पनि लिंदै जानुपर्छ भन्ने जुझारु मान्यता गिरिजाबाबुसँग रहेको देखिन्छ ।

बाल्यकालबाटै गिरिजाप्रसाद अत्यन्तै मेहनती, दुःख कष्ट झेल्न सक्ने, ठूल्ठूला जोखिम पनि उठाउन तयार हुने स्वभावको, निडर र स्वाभिमानी हुनुहुन्थ्यो । जब उहाँ हरेक गतिविधिमा सरिक हुँदै अगाडि अगाडि बढ्दै जानु हुन्थ्यो, पार्टीभित्र उहाँका प्रसंशकहरु थपिंदै गएका थिए । पार्टीभित्र सबै उमेर समूहका साथीहरूले सजिलो गरी बोलाउनु पर्दा गिरिजा बाबु भन्दा उहाँ खुशी नै हुनुहुन्थ्यो ।

तत्कालीन राणा शासनका बेलामा राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका बिषयमा कुरा मात्रै गर्दा पनि ज्यान जाने, सर्वस्व हरण हुने  र देश निकाला गरिदिने प्रशस्त संभावना थियो । गिरिजा बाबुका परिवारका सबै सदस्यहरु राणा शासन बिरोधी राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणका अगुवाको रुपमा चिनिनु हुन्थ्यो । त्यसैकारण तत्कालीन राणा सरकारले पटक पटक उहाँहरुको सर्वस्व हरणका साथै देश निकाला गरेका थिए ।

बिराटनगरस्थित जुटमिलमा ऐतिहासिक औद्योगिक मजदुर हड्ताल सम्पन्न पश्चात् उहाँलाई सबै मजदुरहरुले २००३ साल फागुन २० गते  अध्यक्षको रुपमा चुनेका  थिए । उक्त मजदुर आन्दोलनलाई वीपी कोइरालाको सहयोग र निर्देशन थियो । उक्त मजदुर हड्तालमा संलग्न रहेको आरोपमा तत्कालीन राणा सरकारले उहाँलगायत वीपी कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी, गेहेन्द्र हरि शर्मा लगायतलाई गिरफ्तार गरी २४ दिनको पैदलयात्रामा काठमाडाैं पुर्याएको थियो ।

मजदुर आन्दोलनपछि गिरिजा बाबुको राजनैतिक उचाई थपिदै गयो । उहाँले आफ्नो  ब्यक्तिगत जीवनलाई कहिल्यै ख्याल गर्नु भएन, सधैं राष्ट्र र पार्टीका बिषयमा मात्र समय खर्चिनु भयो । नेपालको कुनै त्यस्तो भूगोल छैन, जहाँ गिरिजा बाबु नपुगेको होस् । सबै ठाउँमा पुगेर, सबै तहका मानिसहरुको बिचार बुझी पार्टीमा त्यही अनुसारको भूमिकामा प्रस्तुत हुने स्वभाव गिरिजा बाबुसँग थियो ।

 वीपी कोइरालाको राजनैतिक नेतृत्वमा रही गिरिजा बाबुले पार्टीको संगठनलाई गाउँ गाउँमा, झुपडी झुपडीमा पुर्याउनु भएको  थियो । १०४ बर्षसम्म सञ्चालनमा रहेको राणा शासन र पछि ३० बर्षसम्म सञ्चालनमा रहेको  पञ्चायती ब्यवस्था मात्रै होइन, राजतन्त्रलाई तह लगाई गणतन्त्र ल्याउन पनि उहाँको ठूलो योगदान छ ।

२०४६ सालको राजनैतिक परिवर्तन पछाडि उहाँले पार्टी र सरकार दुबै सञ्चालन गर्नु पर्यो । यसरी अगाडि बढ्दै गर्दा उहाँले पार्टी भित्रैबाट अनावश्यक गुनासाहरू व्यहोर्नु पर्यो । उहाँ प्रधानमन्त्री भएकै समयमा २०५२ साल फागुन १ गतेबाट देशमा सशस्त्र माओवादी द्वन्द्व सुरु भयो । १० बर्षको द्वन्द्वले दसौँ हजारौं हजारले बलिदानी दिए । उहाँ प्रधानमन्त्री हुँदाका बखतमा, राजा वीरेन्द्रको बंशनाश हुने गरी २०५८ जेठ १९ दरबार हत्याकाण्ड भयो । दरबार हत्याकाण्ड पछि राजा हुन पुगेका तत्कालीन राजा ज्ञानेन्द्रले जनताका निहित अधिकारलाई अपदस्थ गरी शासन सत्ता लिएको दिन २०५९ साल असोज १८ को निरंकुश शाही घोषणाले उहाँलाई अर्को चोट दियो ।

त्यसै गरी २०५९ साल आश्विन ४ गते उहाँलाई निकै  दुःखको  अनुभूति भएको अर्को क्षण जब पार्टी विभाजन भयो । यो घाउले नेपाली काँग्रेसलाई र प्राप्त राजनैतिक परिवर्तनलाई धरापमा पार्यो ।

सशस्त्र माओवादी द्वन्द्वलाई कसरी समाधान गर्ने र विघटित संसदलाई कसरी ब्यूँताउने भन्ने सम्बन्धमा उहाँले तत्कालीन अवस्थामा सक्रिय सात राजनैतिक दलहरूसँग सहमति लिई अगाडि बढ्नु भयो । तत्कालीन शाही सरकार  उहाँको यो योजनाको मुख्य तगारोको रुपमा देखिएको थियो । २०६२ मंसिर ७ गते माओवादीसँग बाह्र बुँदे सहमति गराउनमा गिरिजाबाुबको ठूलो हात छ । यो सहमतिले देशमा जारी हत्या हिंसाको राजनीतिलाई पूर्ण रुपमा बिराम दियो । त्यसैको जगमा टेकेर २०६२÷०६३ को जनआन्दोलन सफल भयो । बिघटित संसद पुनस्थापित भयो र गिरिजा बाबुको नेतृत्वमा सरकार गठन भयो । गिरिजाबाबुकै नेतृत्वमा रहेको सरकारले देशमा अन्तरिम संविधान र अन्तरिम सरकारको घोषणा गर्यो । उहाँले प्रधानमन्त्री, व्यवहारतः राष्ट्राध्यक्षको भूमिका  निर्वाह गर्नु भयो ।

गिरिजाबाबु नेतृत्वको  सरकार र द्वन्दरत माओवादी सगँ २०६३ साल मंसिर ५ गते बिस्तृत शान्ति सम्झौता सम्पन्न भयो र २०६३ मंसिर १२ गते गिरिजा बाबुकै नेतृत्वमा द्वन्द्वरत माओवादी समेत सरकारमा सामेल भयो  । यसरी विगत १० बर्षदेखिको द्वन्द्व अन्त्य भयो । उहाँले सबैलाई भन्ने गर्नुहुन्थ्यो  कि यो राजनीतिक लडाइँमा जितेमा देशले जित्ने छ, हारेमा मैले मात्र हार्ने छु । अन्ततः देशले जित्यो, देशको  राजनीति भविष्यलाई ध्यानमा राखी उहाँले ठूलो जोखिम मोल्नु भएको थियोे । उहाँको यो योगदानलाई आज पनि  सम्पूर्ण शान्तिगामी देशबासी नेपालीहरुले सम्झिरहेका छन् ।

विभाजनमा पुगेको नेपाली काँग्रेस पार्टीलाई एकजुट बनाउनुपर्ने दायित्व पनि उहाँकै थियो । उहाँले विघटित पार्टीका साथीहरूको इच्छा जे थियो, त्यो सबै पूरा गरी २०६४ आश्विन ८ गते दुवै पार्टीबीच संयुक्त महासमितिको बैठकद्वारा बिधिवत रुपमा पार्टी एक भएको घोषणा गर्नु भयो । विडम्बना आजको विद्यमान परिस्थितिमा सत्ताको स्वाद लिईसकेका र पार्टीको हालिमुहालीमा रुमल्लिरहेकाहरुले उहाँलाई सम्झिएको जस्तो लाग्दैन । जबकि आजको विषम् राजनीति परिस्थितिलाई समाधान गर्न सक्ने, जोखिम उठाउन सक्ने  उनीहरुसँग कुनै क्षमता पनि देखिएन ।

अन्तरिम संविधानअनुसार माओवादी लडाकु र हतियारको ब्यवस्थापन र संविधान सभाको चुनाव गराउनुपर्ने दायित्व गिरिजा बाबुसँग थियो । संयुक्त राष्ट्रसघंको प्रत्यक्ष निगरानीमा माओवादी लडाकु र हतियारलाई क्यान्टोनमेन्टमा राखी संविधान सभाको निर्वाचन गर्ने दायित्वलाई महत्त्वपूर्ण जिम्मेवारी सम्झनु भयो । सम्पूर्ण अनुगमन प्रतिवेदन अनुसार नेपाली काँग्रेस चुनावमा हार्ने जानकारी उहाँलाई आयो । उहाँले समयमै चुनाव नगराउँदा देशले हार्ने, चुनाव गराउँदा काँग्रेस हार्ने । उहाँ देशलाई जिताएर, बरु काँग्रेसलाई हराउन तयार हुनु भयो । त्यसैले उहाँकै नेतृत्वमा २०६४ चैत्र २८ गते प्रथम संविधान सभाको निर्वाचन सम्पन्न भयो । के आज यो देशमा कुनै पनि राजनीतिक दलका नेताहरुसँग गिरिजाबाबु जस्तो त्यो दृढ क्षमता छ, त्यागको भावना छ ?

देशमा २३८ बर्षदेखिको शाहबंशीय राजसंस्थाका बिषयमा धेरैखाले विचारहरु आए । यस बिषयले राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्त्व पायो तर गिरिजाबाबुले सबै परिस्थितिलाई बुझी २००७ सालदेखि २०६३ सालसम्म राजसंस्थाका गतिविधिहरुलाई आँकलन गर्दा यसको बिसर्जन नै अन्तिम बिकल्प उहाँलाई लाग्यो । तर बिसर्जन गर्न त्यति सजिलो भने थिएन, अत्यन्तै जोखिम थियो  । उहाँले अत्यन्तै बुद्धिमताका साथ प्रथम संविधानसभा बैठक २०६५ जेष्ठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको प्रस्तावलाई पारित गराउनसफल हुनुभयो । सोही दिनबाट आजसम्म नेपाल लोकतान्त्रिक गणराज्य नेपालको रुपमा अगाडि बढिरहेको छ । तर आज उहाँको योगदान खोला तर्यो, लौरो बिर्सियो जस्तो भइरहेको छ ।

संविधान सभाको निर्वाचनपछि गिरिजाबाबुलाई नेपाली काँग्रेसलाई देशकै ठूलो दल कसरी बनाउने भन्ने चिन्ताले पिरोल्यो । देशभर पार्टी संगठन बिस्तारका क्रममा उहाँको उमेरका कारण, विभिन्न रोगका कारण स्वास्थ्यमा समस्या पर्दै गयो । अन्ततः उहाँले २०६६ साल चैत्र ७ गते आफ्नो इहलीला त्याग गर्नु भयो ।

गिरिजाबाबु, तपाईं नेपाली काँग्रेसका कार्यकर्ता माझ मात्रै होइन, आज सबै नेपालीको मनमनमा हुनुहुन्छ । तपाईंको सुन्दर शान्त नेपाल, सुखी नेपाली र स्वाभिमानी नेपाली बनाउने इच्छालाई पूरा गर्ने छन् भावी सन्ततिले । अलबिदा गिरिजाबाबु, अलबिदा ।

लेखक नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनका उपसभापति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजीव न्यौपाने
राजीव न्यौपाने
लेखकबाट थप