आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको चुनावी रणनीति : हल्लाखल्ला नगर्ने, सकेसम्म सबैसँग मिल्ने !

मङ्गलबार, ०८ चैत २०७८, २० : ४४
मङ्गलबार, ०८ चैत २०७८

‘नेकपा एमाले एक्लै ६० देखि ७० प्रतिशत स्थानीय तह जित्छ । हामी एक्लै लड्न सक्छौँ । त्यति जित्न हाम्रो पार्टीलाई कसैको वैशाखी टेक्नुपरेको छैन, कसैको सहारा पनि लिनु पर्दैन,’ चैत १ गते पार्टीको भगिनी संगठन अखिल नेपाल महिला (अनेम) संघको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए । त्यस यता अध्यक्ष ओलीले पार्टीको औपचारिक/अनौपचारिक कार्यक्रम, नेताहरूसँगको छलफल र कुराकानीमा पनि सोही कुरा दोहोर्‍याइरहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूलाई देशको एक नम्बर पार्टीका रूपमा व्याख्या गर्दै आएको छ । अध्यक्ष ओलीले अहिले पनि देशमा एमालेकै पक्षमा जनलहर रहेको बारम्बार बताउने गरेका छन् । आगामी निर्वाचनको परिणाम एमालेकै पक्षमा आउने उनको दाबी छ । तर, सत्तारुढ दलबीच गठबन्धनको तयारी र हालै पार्टीले बेहोरेको विभाजनका कारण कारण अध्यक्ष ओलीले भनेजस्तो सहज अवस्था छ भन्नेमा एमालेकै कतिपय नेताहरू ढुक्क छैनन् । त्यसैले एमालेका नेताहरू भित्रभित्र आगामी चुनाव कसरी जित्ने भन्ने रणनीति बुन्न व्यस्त छन् । बाहिर अभिव्यक्त नगरे पनि कतिपय एमाले नेताहरू स्थानीय स्तरमा तालमेलका आधारमा चुनाव जित्ने गृहकार्यमा लागिसकेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भित्रभित्रै अन्य दलसँग तालमेल गरेर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिलाई एमालेले प्राथमिकता दिने देखिन्छ । 

२०७४ को निर्वाचनमा देशभरका स्थानीय तहमा ४२ प्रतिशत जितेको एमाले यो निर्वाचनसम्म आइपुग्दा सग्लो छैन । माधव नेपालले नेकपा एकीकृत समाजवादी नामक फरक पार्टी बनाएका छन् । नयाँ पार्टीले हालसम्म निर्वाचनमा भाग नलिएका कारण यसको शक्ति कति हो भन्ने परीक्षण भएको छैन । त्यसैले आगामी निर्वाचनमा माधव फ्याक्टरले कति असर गर्ला भन्ने हिसाबकिताबमा एमाले नेताहरू व्यस्त छन् ।

चैत ७ गते बसेको एमाले पोलिटब्युरो बैठकमा घनश्याम भुसाल, रघु पन्त लगायतका केही नेताले वाम तालमेल गरेर चुनावमा जानुपर्नेमा विशेष जोड दिए । त्यस क्रममा भुसालले त पार्टी एकता नै गरेर जानुपर्ने प्रस्ताव राखे पनि अध्यक्ष ओलीले त्यसलाई ठाडै अस्वीकार गरे । ओलीको यस्तो जवाफपछि एमालेभित्रको वाम तालमेल र एकता पक्षधरको स्वर दबिन पुगेको देखिन्छ ।

विगतमा एमालेमा १० बुँदे पक्षधर भनेर चिनिएका धेरै नेता कार्यकर्ता अहिले पनि सके पार्टी एकता, नभए पनि वाम तालमेलको पक्षमा छन् । तर ओली अहिले नै केन्द्रीयस्तरमा वाम तालमेल वा गठबन्धनको कुरा गर्दा एमाले कमजोर भएको सन्देश जाने भन्दै राष्ट्रियस्तरमा तालमेलको उच्चारण गर्न चाहिरहेका छैनन् ।

सोमबारको पोलिटब्युरो बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले राष्ट्रियस्तरमा कुनै पनि दलसँग चुनावी तालमेल गर्ने नीतिमा एमाले नरहेको बताए । तर उनले स्थानीयस्तरमा आवश्यकता अनुसार जतिसुकै र जुनसुकै दलसँग तालमेल गर्न सकिने सन्देश सञ्चारकर्मीमार्फत दिए ।

‘सदस्यहरुबाट चुनावी तालमेलका लागि ठोस नीतिसहित जानुपर्छ भन्ने धारणा आए पनि अहिले हामी हल्लाखल्ला गर्दैनौं, त्यसका लागि नीतिगत निर्णय नै गरेर वाम तालमेल गर्ने वा लोकतान्त्रिक शक्तिसँग तालमेल गर्ने भन्ने ठाउँमा पुग्दैनौँ’, गुरुङले भने, ‘हामी हाम्रै शक्तिमा विश्वास गर्छौं र सबै स्थानीय तहमा एमालेको एकल बहुमतको सरकार निर्माण गर्नतर्फ केन्द्रित हुन्छौँ ।’

गुरुङले अझ प्रस्ट पार्दै भने, ‘यसका बाबजुद पनि स्थानीय तहमा जहाँ–जहाँ सम्भव छ, औचित्य र आवश्यकता पुष्टि हुन्छ, त्यहाँ तालमेल हुनसक्छ, तर निर्णय भएको होइन ।’

उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख गुरुङको यो भनाइले पनि एमाले धेरै सिट जित्न स्थानीयस्तरमा जुनसुकै दलसँग तालमेल गर्न तयार छ भन्ने सहजै बुझिन्छ । एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘एमालेले केन्द्रमा गठबन्धन नगर्ने तर स्थानीय स्तरमा आवश्यकताअनुसार गर्न सक्ने भनेको पनि त्यही हो ।’ उनका अनुसार पाँच दलीय गठबन्धनलाई आफ्नो तागत देखाउन पनि एमालेले अघिल्लो चुनावको परिणामलाई कायमै राख्नुपर्ने चुनौती विद्यमान छ । ‘भन्न त हामी पाँच दल त के, १० दल मिलेर आए पनि केही फरक पर्दैन भन्छौँ तर आखिर चुनाव त जित्नैपर्छ फेरि, त्यसका लागि कमजोर भएका ठाउँमा तालमेल नगरी जित्ने आधार बन्दैन’, ती सदस्यको भनाइ छ । 

त्यसो त अध्यक्ष ओली स्वयंले पनि सोमबारको बैठकमा गठबन्धन हुन नसक्ने तर आवश्यकताका आधारमा तालमेल हुन सक्ने बताएका थिए । ‘स्थानीय निर्वाचनमा आवश्यकताअनुसार जुनसुकै दलसँग पनि तालमेल हुन सक्छ तर वाम गठबन्धन हुँदैन,’ ओलीले बैठकमा भनेका थिए ।

तर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी बैठकमा वाम तालमेलमात्रै नभएर अन्य पार्टीहरूसँग पनि तालमेल गर्नुपर्छ भन्ने प्रसङ्ग उठेको भन्दै अध्यक्षले दिएको जवाफमा तालमेल गर्ने कुरा नआएको बताइन् । ‘पार्टी बैठकमा सदस्यहरूले विभिन्न ढङ्गले आफ्ना विचार राख्ने त भइहाल्छ । त्यसमा अध्यक्षले तालमेलको कुरा नगरौँ, एक्लै जान सकिन्छ, एक्लै आँट गर्नुपर्छ र एक्लै उभिनुपर्छ भन्नुभएको हो’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै शाक्यले भनिन्, ‘हामी जित्छौँ, त्यो मनस्थिति बनाएर चुनावमा जानुपर्छ ।’

एमालेका अर्का एक स्थायी समिति सदस्यका अनुसार वडादेखि प्रदेश कमिटीले गरेको रिपोर्टिङका आधारमा कुन कुन ठाउँमा तालमेल गर्ने भन्ने निर्णय पार्टीले गर्छ । त्यसका लागि गाउँ कमिटीदेखि, जिल्ला र प्रदेशलाई रिपोर्ट तयार गरेर बुझाउन भनिएको छ । त्यसलाई औपचारिकता दिन केन्द्रीय कमिटीमा छलफल गरेर निर्णयसहितको सर्कुलर जारी गर्ने एमालेको तयारी छ । त्यस्तो रिपोर्ट बुझाउन चैत महिनाभरको समयसीमा तोकेर निर्देशन दिने तयारी भएको छ । त्यसो गर्दा आएको रिपोर्टको आधारमा कुनै पनि दलसँग तालमेल गर्दा एमालेलाई फाइदा हुन्छ भने तालमेल गर्न पार्टीले नरोक्ने नीति लागु गर्ने भित्री योजना छ ।

‘आवश्यकता र औचित्य भन्नुको अर्थ नै त्यही हो । तर कमजोर भएको र खुट्टा कमाएको अरूले देख्नुहुँदैन भनेको हो’, ती सदस्यको भनाइ छ ।

तर केही एमाले नेताहरू चुनाव जित्ने नाममा जोसुकैसँग पनि तालमेल गर्ने नीति अझ खतरनाक हुने बताउँछन् । ‘गत निर्वाचनमा अध्यक्ष ओलीले माओवादी र राप्रपासँग गरेको तालमेल नै एक उदाहरण हो’, एक नेताको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप