सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चेक फिर्ता प्रकरण : एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस

बुधबार, ०९ चैत २०७८, २१ : ००
बुधबार, ०९ चैत २०७८

‘जुवाडे’बाट बरामद चेक कानुनी प्रक्रिया नलगेर फिर्ता गरेको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले कानुनी प्रक्रिया छलेर २ करोड २९ लाखको बरामद चेक आरोपीलाई नै फिर्ता दिएका थिए ।

अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमारलाल कर्ण नेतृत्वको समितिले छानविन पुरा गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ । २०७८ पुस १३ मा गठन भएको समितिले प्रतिवेदन बुझाउँदै एसएसपी सिंहले आचरण विपरित त्रुटिपूर्ण काम गरेको ठहर गरेको छ ।

छानविन समितिले प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । एसएसपी केसीले भने–‘छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएको छ ।’ असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए । त्यहाँ आफुलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले उजुरी गरेका थिए ।

असोज २५ मा काठमाडौं प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौंको चेक बरामद गरेको थियो । सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिएपनि एसएसपी अशोक सिंहले करिब ३ महिना आफुसँगै राखेर सो चेक भेटवाललाई फिर्ता दिएका थिए ।

छानविन समितिमा एसपी आभूषण तिम्सिना र डिएसपी सन्तोष तामाङ सदस्य थिए । बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गासम्बन्धी कार्यालयबाट प्रहरीले सिसिटिभी फुटेज पनि बरामद गरेको थियो । फुटेजमा बरालको चेक अर्का जुवाडेले भरेको देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि बरामद गरेको थियो । जुवा खेलेको र खेलाएको फुटेज भएपनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्विकार गरेर लामो समय चेक आफैंसँग राखेका थिए ।

पुस २ मा काठमाडौं परिसरमा एसएसपी सुदिप गिरीलाई स्वागत गरेर हिँड्ने बेलामा सिंहले आरोपी भेटवाललाई बोलाएर चेक फिर्ता गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप