सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लेटाङ घटनाका कारक ‘एमपी सर’ विरुद्ध पाँच वर्ष अघिदेखि नै उजुरी

बुधबार, ०९ चैत २०७८, १५ : ००
बुधबार, ०९ चैत २०७८

गत आइतबार मोरङको लेटाङमा एक जना प्रहरीको ज्यान जाने गरी भएको घटनाको मुख्य कारक ‘एमपी सर’ अर्थात् मनोज प्रसाद पौडेलविरुद्ध ०७३ सालदेखि नै विद्यार्थीले उजुरी गरेको पाइएको छ ।

पौडेलका विरुद्ध विद्यार्थीहरूले पहिलो पटक ‘विगत समयको समस्या फेरि दोहोर्‍याइएको बारे’ भन्ने विषयमा २०७३ साल जेठ २३ गते शिक्षा विकास मावि लेटाङमा प्रधानाध्यापकलाई उजुरी दिएका थिए ।

त्यसबेलै उक्त निवेदन विद्यालय व्यवस्थापन समितिको बैठक, शिक्षक बैठकमा पेस गर्ने तोकआदेश प्रधानाध्यापकले दिएको देखिन्छ । ‘उपरोक्त सम्बन्धमा यसै विद्यालयमा पढाउँदै आइरहनु भएको शिक्षक मनोज पौडेलज्यूको विगतको समयमा भएको गल्ती फेरि दोहोर्‍याइएको जानकारी हजुरसामु पेस गर्दछु । उक्त समस्यालाई बुझी प्रधानाध्यापकले त्यही अनुसार आफ्नो विचार राखी दिई न्याय नपाएका विद्यार्थीहरूलाई न्याय दिलाइदिनु हुन विनम्रसाथ हार्दिक अनुरोध गर्दछु,’ विद्यार्थीहरूले त्यसबेला प्रधानाध्यापक डिल्लीराम ओझालाई दिएको पत्रमा उल्लेख छ ।

सोही पत्रको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर श्रेष्ठ तथा प्रधानाध्यापकसहित शिक्षक र विद्यार्थीसमक्ष आरोपित शिक्षक पौडेलले आउने दिनमा गल्ती नगर्ने भनी कागजसमेत गरेका छन् । ‘उपर्युक्त विद्यार्थीसमेत राखी छलफल सोधनी गर्दा छात्राहरूबाट हामीलाई मनोज सरबाट यौन हिंसा भएकै हो भनी किटानी दिएको र उक्त कार्य मबाट गल्ती भएकोले अब उप्रान्त मबाट यस्तो महिला यौनजन्य हिंसाको गल्ती कहिल्यै दोहोर्‍याउने छैन, यदि मबाट कुनै किसिमको यस्ता गल्ती दोहोर्‍याएमा विद्यालयले गरेको कारबाहीप्रति मेरो मन्जुर छ भनी निम्न विवरणको व्यक्तिहरूको रोहबरमा मेरो मञ्जुरी साथ सही गरिदिएँ,’ पौडेलले गरेको कायलनामामा उल्लेख छ ।

यसअघि पनि उक्त घटना दोहोर्‍याएको भनी विद्यार्थीले ०७३ जेठमै उजुरी दिएको घटना विवरण स्कुलमा फाइल बनेर बसेको छ । निवेदन हुनु अगाडिदेखि नै शिक्षक पौडेलले छात्राहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको निवेदनको भाषाले बताउँछ ।

निवेदन दिने र यौन दुर्व्यवहारको सिकार हुने छात्राहरूमा कक्षा ४ देखि कक्षा ७ सम्मका छन् । गत चैत ४ गते पनि शिक्षक पौडेलले कक्षा ७ मा अध्ययन गर्ने एक छात्राको घरमा होली खेल्ने निहुँले पुगेका थिए । ‘उपरोक्त सम्बन्धमा मिति २०७८/१२/३ गतेका दिन मलाई मेरो सरले मेरै घरमा धेरै पटक आएर म माथि नराम्रो दृष्टिले हेर्नुहुन्थ्यो । तर, ४ गते शुक्रबारको दिन मेरो घरमा कोही नभएको बेला पानी खाने निउँ पारेर किचनमा पसेर ममाथि हातपात गर्नुभयो । मलाई मात्र नभएर मेरो कक्षाको सम्पूर्ण साथीहरूलाई पनि नराम्रो दृष्टिले हेर्नुहुन्छ । त्यसैले हामीलाई न्याय चाहियो । हामी सहेर बस्ने छैनौँ,’ ती छात्राले प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई दिएको निवेदनमा उल्लेख छ ।

सोही विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थी सुस्मिता राईको भनाइमा मनोज पौडेलले छोरा मान्छेलाई र छोरी मान्छेलाई गर्ने व्यवहार फरक हुने गरेको छ । उनले आफू ८ कक्षामा अध्ययन गर्दा पनि मनोज सरले आफ्ना साथीहरूलाई त्यसखालको दुर्व्यवहार गर्ने गरेको सम्झिइन् ।

शिक्षा बाल विकास क्लबको उपाध्यक्ष समेत रहेकी सुस्मिताका अनुसार त्यस दिन पनि शिक्षकलाई जागिरबाट निकाल्ने र कानून अनुसार कारबाही हुनुपर्ने माग विद्यार्थीले गरेका थिए । ‘त्यसक्रममा विद्यार्थीबाहेक अन्य नचिनेका मान्छेहरू आएर झन् ठुलो घटना भयो,’ उनले भनिन् ।

मुख्य दोषी शिक्षक पौडेल नै रहेको विद्यालयका प्रधानाध्यापक मिश्रको भनाइ छ । ‘हामीले त विद्यार्थीले कम्प्लेन गरेपछिका फाइल नै बनाएर राखेका छौँ, विद्यालय नमुना बनाउने गरी काम भइरहेको छ, यसखालका घटना हुनुहुँदैन भनेर हामीले मनोज सरलाई खुब सम्झायौँ,’ उनले भने, ‘त्यस दिन त कारबाहीको दायरामा ल्याउने तयारीस्वरुप छलफल भएको थियो, एक्कासी नसोचेको परिणाम निस्कियो ।’

घटनामा संलग्न भनिएका शिक्षक पौडेल अहिले प्रहरी नियन्त्रणमा छन् । विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पौडेलमाथि कारबाहीको माग गर्दै लेटाङमा गत आइतबार भएको प्रदर्शन र त्यसलगत्तै प्रहरी र स्थानीयवासीबीच भएको झडपमा परी उदयपुरकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा परी मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ प्रहरी र ७ जना स्थानीयवासी घाइते भएका छन् ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्न भनेर एक दर्जन बढीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ भने लेटाङमा आइतबार रातिदेखि लागेको निषेधाज्ञा आजदेखि केही खुकुलो पार्ने तयारी भइरहेको छ । लेटाङको अवस्था सामान्य बनाउन प्रहरी र स्थानीयवासी लागेका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप