सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचन : मकवानपुरमा एमाले फुट्दा काँग्रेसको प्रभाव बढ्दै, एकीकृत समाजवादीको अग्निपरीक्षा

बिहीबार, १० चैत २०७८, ०६ : ३६
बिहीबार, १० चैत २०७८

एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको मकवानपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको उपस्थिति बलियो रह्यो । एमालेले ६ वटा स्थानीय तहको प्रमुखमा र ८ स्थानीय तहको उपप्रमुख पदमा जित हासिल गरेको थियो ।

एमालेले २०७४ मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा जित निकालेको थियो भने बकैया गाउँपालिका र बागमती गाउँपालिकामा उपप्रमुख पद जितेको थियो ।

एमालेले ६ वटा स्थानीय तहमा नेतृत्व पाउँदा नेपाली काँग्रेस र माओवादी केन्द्रले २÷२ वटा स्थानीय तहमा नेतृत्व लिएका थिए । काँग्रेसले राक्सिराङ गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित बकैया गाउँपालिकामा प्रमुख पद जितेको थियो ।

त्यस्तै माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिकामा पालिका प्रमुख पद जितेको थियो । त्यसो त हेटौंडा उपमहानपरपालिका र थाहा नगरपालिकामा काँग्रेस र माओवादी केन्द्र गठबन्धनमा आवद्ध भएर निर्वाचन लडेका थिए ।

बागमती गाउँपालिका

२०७४ मा बागमती गाउँपालिकामा माओवादी केन्द्रका सर्केश घलानले ३ हजार २२१ मतका सात जित हात पारेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका राजकुमार तिमल्सिनाले ३ हजार ८६ मत प्राप्त गरी दोस्रो स्थानमा रहे । काँग्रेसका चोकवहादुर ठाडा मगरले ३ हजार ३७ मत प्राप्त गरेर तेस्रो भए ।

बागमतीको उपप्रमुखमा भने एमालेकी धनमाया स्याङ्तानले ३ हजार १४४ मतका साथ जित हत पारिन् । उनले पालिका उपप्रमुख पदमा ४ मत अन्तरले जितेकी थिइन् । पालिका उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार बच्चु गोले (खड्का)ले ३ हजार ४० मत प्राप्त गरेर दोस्रो स्थानमा सीमित हुन पुगिन् । काँग्रेसकी सुमित्रा राई ३ हजार २० मतका साथ तेस्रो भइन् भने राप्रपाकी उमा कुमारी मोक्तान १ हजार ३५१ मतका साथ चौथो भइन् । त्यसो त सो क्षेत्र राप्रपाका नेता कमल थापाको निर्वाचन क्षेत्रमा पर्दछ ।

बकैया गाउँपालिका

बकैया गाउँपालिकामा भने एमालेको दबदबा चिर्दै काँग्रेसका दामोदार खनालले जित हात पारेका थिए । उनले ४ हजार ५४४ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा एमालेका दलबहादुर वाइवा ४ हजार ४७२ मत सहित दोस्रो स्थानमा सीमित भए । माओवादी केन्द्रका भक्तबहादुर खत्री ३ हजार १९९ मतकाख साथ तेस्रो र राप्रपाकी लक्ष्मी जिम्बा १ हजार ६६३ मतका साथ चौथो स्थानमा रहिन् । बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति नेपाल पार्टीका नवराज चौलागाईले ११ मत प्राप्त गर्दै अन्तिम स्थानमा सीमित रहे ।

पालिका उपप्रमुखमा भने बकैयामा एमालेकी सरला बोलखेले बाजी मारिन् । उनले ४ हजार ६६३ मत प्राप्त गर्दै काँग्रेसकी कमला कुमारी वाइवालाई दोस्रो स्थानमा राख्न सफल भएकी थिइन् । वाइवाले ४ हजार ४७२ मत प्राप्त गरेकी थिइन् । माओवादी केन्द्रकी लक्ष्मी गोले ३ हजार ६१ मतका साथ तेस्रो र राप्रपाका धुव्रनारायण घिमिरे १ हजार ६५७ मतका साथ चौथो स्थानमा रहे ।

मकवानपुरगढी गाउँपालिका

२०७४ सालको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेको वर्चश्व कायम रह्यो । दुवै पदमा एमालेका उम्मेदवारले काँग्रेसका उम्मेदवारलाई पछि पारेका थिए । पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले ३ हजार ८१४ मतका साथ काँग्रेसका दोर्जे लामा स्या्तानलाई हराएका थिए । स्याङ्तानले ३ हजार ६५३ मत प्राप्त गरेका थिए ।

पालिका उपाध्यक्षमा पनि एमालेकी हर्कमाया रुम्बाले जित हात पारिन् । उनले ३ हजार ७१७ मत पाएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी मन्दिरा केसी ३ हजार ७०७ मत पाउँदै दोस्रो, माओवादी केन्द्रकी राधिका तिमल्सिना १ हजार ५९९ मतसहित तेस्रो र राप्रपाकी हिरादेवी हुमागाई ८९८ मतसहित चौथो भइन् ।

भीमफेदी गाउँपालिका

२०७४ मा भीमफेदी गाउँपालिकामा पनि एमालेकै बर्चश्व रह्यो । सो गाउँपालिकामा एमालेविरुद्ध काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदासमेत पालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवारले बाजी मार्न सफल भएका थिए । अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती राना विजयी भए । लामा ३ हजार ८४२ मतका साथ पालिका अध्यक्ष पदमा निर्वाचित भए । माओवादी केन्द्रका रञ्जित कुमार रानाले ३ हजार ६९८ मत प्राप्त गरेका थिए । पालिका अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवारी दिएका शिवराम थापाले ९१७ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरे भने नयाँ शक्ति नेपाल पार्टीका अमृत बर्तौलाले ४८ मत पाएर चौथो भए ।

पालिका उपाध्यक्षमा एमालेकी रानाले ३ हजार ८०२ मत प्राप्त गरेर निर्वाचित हुँदा नेपाली काँग्रेसकी मोम लामा दोङ ३ हजार ४३५ मत पाएर दोस्रो भइन् भने राप्रपाकी सानुमाया भुलुन ८४३ मतका साथ तेस्रो भइन् ।

इन्द्रसरोबर गाउँपालिका

इन्द्रसरोबर गाउँपालिकामा २०७४ को निर्वाचनमा एमाले कै दबदवा रह्यो । पालिका अध्यक्ष उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको थियो । पालिका अध्यक्षमा जीवन लामा ३ हजार २०४ मतका साथ विजयी हुँदा काँग्रेसका विश्वलाल लामा २ हजार ७७३ मत पाएर दोस्रो भए भने राप्रपाका देव कुमार लामा ९४६ मतका साथ तेस्रो र माओवादी केन्द्रका विक्रम सिं मोक्तान ४९२ मतका साथ चौथो भए ।

पालिका उपाध्यक्षमा एमालेकी उमा कुमारी लामा ३ हजार १ मत पाएर निर्वाचित हुँदा काँग्रेसकी लक्ष्मी डंगोल २ हजार ८१ मतका साथ दोस्रो भइन् भने राप्रपाकी निर्मला रुम्बा १ हजार ८० मतका साथ तेस्रो र माओवादी केन्द्रकी चुन माया भ्लोन ५३२ मतका साथ चौथो स्थानमा रहिन् ।

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकामा पनि २०७४ को निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए । पालिका अध्यक्षमा काँग्रेसका लोकबहादुर मोक्तान, माओवादी केन्द्रका नरेन्द्र लाल रिजाल, राप्रपाका भिम लामा, राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर गोले र राष्ट्रिय जनमुक्ति पार्टीका वियोग लामालाई क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं स्थानमा सीमित पार्दै एमालेका टंकबहादुर मोक्तानले जित हात पारे । मोक्तानले २ हजार ८०२ मत पाएर निर्वाचित हुँदा काँग्रेसका लोकबहादुरले २ हजार ३५९ मत, माओवादी केन्द्रका रिजालले २ हजार ३३५ मत, राप्रपाका लामाले ४३५ मत, जनमोर्चाका गोलेले १५९ मत र जनमुक्तिका वियोले ३२ मत पाएका थिए ।

अध्यक्ष मोक्तान अहिले नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् । उनी भ्रष्टाचारको आरोपमा निलम्बनमा पनि परेका छन् । यद्यपि उनीमाथिको मुद्दाको किनारा भने लागिसकेको छैन ।

पालिका उपाध्यक्षमा पनि २ हजार ८०० मतका साथ एमालेकी सुकुमाया थिङ विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी मिरा स्याङ्तानले २ हजार ४२५ मत पाएकी थिइन् । माओवादी केन्द्रकी विन्दु तितुङले २ हजार २९५ मतका साथ तेस्रो स्थान पाएकी थिइन् भने राप्रपाकी शान्ति थिङले ४१९ मत पाएर चौथो र जनमुक्तिकी फुलमाया मोक्तानले ४ मत पाएर पाँचौं स्थान पाएकी थिइन् ।

राक्सिराङ गाउँपालिका

मकवानपुरको विकट गाउँपालिका राक्सिराङमा भने पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा काँग्रेसका उम्मेदवारले जित हात पारेका थिए । पालिका अध्यक्षमा काँग्रेसकी निर्मला हिम्डुङले ३ हजार ५३५ मतसहित जित हात पार्दा एमालेकी सुन्तलीमाया प्रजाले २ हजार ९५० मत पाएर दोस्रो स्थानमा सीमित भइन् । माओवादी केन्द्रकी पूर्णिमा दोङले १ हजार ९३० मत पाएर तोस्रो, जनजागरण पार्टी नेपालकी निशा मोक्तानले १०१ मत पाएर चौथो र राप्रपाकी देवीमाया लामा ९६ मत ल्याएर पाँचौं स्थानमा रहिन् । 

मनहरी गाउँपालिका

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको वर्चश्व रहेको पालिकामध्ये मनहरी गाउँपालिकामा पनि एक हो । मनहरीमा पनि एमालेका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवारले जित हात पारेका थिए । पालिका अध्यक्षमा एमालेका एकराज उप्रेतीले ४ हजार ६४९ मतका साथ जित हात पारेका थिए भने काँग्रेसका शंकर न्यौपाने ४ हजार ३४० मतका साथ दोस्रो, माओवादी केन्द्रका रामहरी सुवेदी २ हजार ८४८ मतका साथ तेस्रो, राप्रपाका गोविन्द प्रसाद रिजाल ८१५ मतका साथ चौथो र नयाँ शक्तिका निखिल पौडेल १७१ मतका साथ पाँचौं स्थानमा रहे ।

पालिका उपाध्यक्षमा एमालेकी मनिला विष्टले ४ हजार ६३१ मतका साथ जित हात पारिन । पालिका उपाध्यक्षमा काँग्रेसकी कमला कार्कीले ४ हजार १६७ मत सहित दोस्रो स्थान हात पारिन् भने माओवादी केन्द्रकी चन्द्रकला खनाल लामाले २ हजार ९७६ मत, राप्रपाकी रामकुमारी न्यौपानेले ७४९ मत, नयाँ शक्ति पार्टीकी सानुमाया चेपाङले १४८ मत र जनजागरण पार्टीकी श्याबहादुर प्रजाले ३५ मत पाए ।

थाहा नगरपालिका

मकवानपुरको थाहा नगरपालिकामा २०७४ को निर्वाचनमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तलमेल भएको थियो । सो पालिकाको प्रमुखमा माओवादी केन्द्रका लवशेर विष्टले ९ हजार ९१ मतसहित जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले ६ हजार ५४९ मत पाए भने राप्रपाका हरेराम कार्कीले ९५२ मत, नयाँ शक्तिकी निरु लामाले १३९ मत र स्वतन्त्र उम्मेदवार सशदेव तामाङले १ मत प्राप्त गरेका थिए ।

पालिका उपप्रमुखमा भने काँग्रेसका खड्ग गोपालीले ७ हजार ३०७ मतसहित जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ६ हजार ७४५ मत पाइन् भने राप्रपाकी राममाया लामा (छुमी)ले ८९७ मत, जनमोर्चाकी शोभा गोपालीले २३९ मत र संघीय समाजवादी फोरमका तारालाल श्रेष्ठले १३७ मत पाएका थिए ।

हेटौंडा उपमहानगरपालिका

बागमती प्रदेशको राजधानी एवं प्रदेशकै एकमात्र उपमहानगरपालिका हेटौंडामा पनि माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तालमेल भएको थियो । २०७४ मा चुनावी तालमेल गरेका काँग्रेस र माओवादी केन्द्रविरुद्ध एमाले बलियो साबित भयो । एमालेले हेटौंडा उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको थियो । उपमहानगरपालिका प्रमुखमा एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारे भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याए । राप्रपाका मधुकर प्रसाद अधिकारीले ६ हजार ८५७ मत, संघीय समाजवादी फोरमका शुभरत्न गोलेले १ हजार १०६ मत, राष्ट्रिय जनमुक्ति पार्टीका सोमबहादुर थिङ, मालेका भिमसेन महत लगायतले ५ सय मत कटाउन सकेनन् ।

हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा एमालेकी मीनाकुमारी लामाले माओवादी केन्द्रका बलराम बललाई हराइन् । लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत ल्याए । हाल लामा नेकपा एकीकृत समाजवादीमा आवद्ध छिन् भने बल नेकपा एमाले प्रवेश गरेका छन् । त्यस्तै उपप्रमुख पदमा राप्रपाकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत, नयाँ शक्तिकी खतिवडा भट्टराईले १ हजार १५३ मत ल्याइन् भने अन्य उम्मेदवारले ५ सय मत कटाउनसमेत सकेनन् ।

एमालेलाई जोखिम

गत २०७८ भदौ २ मा एमाले विभाजन भयो । एमाले विभाजनको असर मकवानपुरमा पनि राम्रै देखियो । एमाले विभाजनको असर मकवानपुरको स्थानीय तहमा पनि परेको छ । मकवानपुरका दुई पालिका अध्यक्ष र २ उपाध्यक्षसहित केही वडा अध्यक्ष र सदस्यहरु नेकपा एकीकृत समाजवादीमा आवद्ध भए ।

एमाले विभाजनपछि मकवानपुरका १० वटा स्थानीय तहमध्ये ४ वटा पालिकाको नेतृत्वमा एमाले छ भने २ वटामा एकीकृत समाजवादी, २ मा काँग्रेस र २ मा माओवादी केन्द्र छ ।

त्यस्तै फुट्नु अघि ८ जना उपाध्यक्ष÷उपप्रमुख रहेको एमाले हाल ६ पालिकामा उपाध्यक्ष÷उपप्रमुखमा सीमित भएको छ । २ वटा पालिकाका उपाध्यक्ष÷उपप्रमुख एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीमा गएका छन् । हाल मकवानपुुरको १० वटामध्ये ६ वटामा एमाले, २ वटामा काँग्रेस र २ वटामा एकीकृत समाजवादीका उपाध्यक्ष छन् ।

विभाजनपछि पनि संख्यात्मक रुपमा जिल्लाका स्थानीय तहमा बहुमत जनप्रतिनिधि रहेको एमालेभित्र पार्टी विभाजनको असर भने निकै पर्ने देखिएको छ ।

एमालेभित्रको विवाद पनि पछिल्लो समय छताछुल्ल भएको छ । एमाले मकवानपुरमा २ वटा टिम प्रस्ट देखिएको छ । केन्द्रीय नेतृत्वबाटै एक टिमलाई काखी च्याप्दा अर्को टिम भने रुष्ट भएका छन् । जसका कारण एमालेभित्रको आन्तरिक विवाद बाहिरिएको छ । यसैको असरका कारण केही जिल्लास्तरका नेताले आफ्नो सक्रियता घटाएका छन् भने केहीले पार्टी संगठनबाट बाहिरिएको घोषणासमेत गरेका छन् । आगामी निर्वाचनमा एकालेलाई यसले घाटा हुने देखिएको छ ।

आगामी निर्वाचन मकवानपुरमा एमालेका लागि निकै जोखिमपूर्ण हुने देखिन्छ । हाल एमाले मकवानपुर निर्वाचन लक्षित ‘घरघरमा एमाले, मनमनमा एमाले’ अभियान लिएर गाउँ प्रवेश गरेको छ । एमाले अहिले मकवानपुरमा आफ्ना भ्रातृ संगठनहरु निर्माणमा सक्रिय देखिएको छ ।

एमाले फुट्दा काँग्रेसको प्रभाव बढ्दै

एमालेको गढ मानिएको मकवानपुरमा फुटपछि भने काँग्रेसले गतिलै प्रभाव जमाउन सफल भएको समीक्षकहरुको भनाइ छ । विभाजनपछि एमालेको शक्ति केही कमजोर भएको देखिए पनि संगठित कार्यकर्ताको बलमा उसलाई अगाडि बढ्नबाट रोक्न अन्य दलहरुलाई हम्मेहम्मे पर्ने उनीहरुको आँकलन छ ।

एमाले विभाजनको प्रत्यक्ष फाइदा काँग्रेसलाई पुग्ने देखिएको छ । २०७४ को निर्वाचनमा जिल्लामा दोस्रो स्थानमा रहेको काँग्रेसको प्रभाव एमालेको फुटपछि बढ्दै गएको छ । फुटपछि एमालेकै जिल्लास्तरका प्रभावशाली नेता तथा कार्यकर्ता काँग्रेसको समर्थनमा जुटेका छन् । काँग्रेसका जनप्रतिनिधिको काम र लगावको प्रभावले पनि त्यसलाई थप सहयोग गरेको देखिन्छ । काँग्रेसका उम्मेदवारले जितेका स्थानीय तहलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै एमालेका क्षेत्रको मूल्याङ्कन हुन थालेको छ ।

अहिले काँग्रेस स्थानीय तह लक्षित चुनावी अभियानमा होमिएको छ । काँग्रेस केन्द्रीय र प्रदेश प्रतिनिधिसहित ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान लिएर मकवानपुरको गाउँगाउँमा प्रवेश गरिरहेको छ । सो अभियानका लागि काँग्रेस मकवानपुरले वडा–वडामा प्रतिनिधिहरु खटाएको छ ।

एकीकृत समाजवादीको अग्निपरीक्षा

माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने निश्चित छ । एमालेबाटै गएका एकीकृत समाजवादीका उम्मेदवारहरुले एमालेको गढ तोड्न कति सफल हुने हुन् भन्ने कुरा निर्वाचनपछि मात्र देखिन्छ ।

एमाले फुटेपछि मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा एकीकृत समाजवादीमा आवद्ध भएका छन् भने हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट पनि एकीकृत समाजवादीमा सामेल भएका छन् ।

तत्कालीन समयमा एमालेबाट उम्मेदवार बनेर विजयी भएका गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएका उनीहरुको दल परिवर्तनपछिको शक्ति परीक्षण आगामी निर्वाचनबाटै हुनेछ ।

आगामी निर्वाचनलाई लक्षित गरेर एकीकृत समाजवादी पार्टीले मकवानपुरका १ हजार १ सदस्यीय निर्वाचन कमिटी तयार पारेको छ । आफ्नो पक्षमा जनमत बढाउने उद्देश्य अनुसार वडावडामा संगठन विस्तारको काममा एकीकृत समाजवादीको सक्रियता बढेको छ ।

सुध्रिएन माओवादी केन्द्रको अवस्था

यता २०७४ को निर्वाचनमा मकवानपुरमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको अवस्थामा भने खासै सुधार आएको देखिँदैन । संगठन विस्तार तथा सुधारमा केही पहल भए पनि खासै प्रगति देखिएको छैन । त्यसो त अन्य दलका कार्यकर्ताहरु माओवादी केन्द्रमा समेट्ने काम पनि भइरहेको छ तर आफ्नै पार्टीभित्रकालाई मिलाउन नसक्दा माओवादी केन्द्र छाड्नेहरु पनि उत्तिकै छन् ।

त्यसो त केन्द्रमा केही नेता एमालेमा आवद्ध भएको असर पनि माओवादी केन्द्रले व्यहोरिरहेको छ । मकवानपुरमा पनि केही नेताहरु एमाले प्रवेश गरिसकेका छन् । यसले पनि आगामी निर्वाचनमा माओवादी केन्द्रलाई घाटा हुने देखिन्छ ।

आन्तरिक विवादका कारण पनि माओवादी केन्द्रभित्र तल्लो तहसम्म समस्या देखिएको छ । निर्वाचनमा सफल हुनका लागि माओवादी केन्द्रले पार्टीको आन्तरिक विवाद समाधानमा लाग्नुपर्ने देखिन्छ ।

अहिले माओवादी केन्द्र निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत संगठन निर्माण र विस्तार कार्यक्रममा सक्रिय छ भने विगतमा माओवादीमा आवद्ध रहेका तर अहिले निष्क्रिय तथा अन्य पार्टीमा गएकाहरुलाई पार्टीमा फर्काउने अभियान पनि चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप