सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘हत्याको भूत’ दिउँसैदेखि सल्बलाएको थियो...

व्यक्ति हत्या हो कि झडप ?
बिहीबार, १० चैत २०७८, ०६ : ५३
बिहीबार, १० चैत २०७८

‘आज कि त शिक्षक मारिन्छ, कि त प्रहरी मारिन्छ ! कोही न कोही नमारी हुँदैन’, मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माविको प्राङ्गणमा गत आइतबार दिउँसैदेखि केही व्यक्तिले भनिरहेका थिए । अर्थात् केही युवामा मान्छे मार्ने ‘भूत’ सवार थियो । घटनास्थल शिक्षा विकास मावि आसपासका बासिन्दा भन्छन्, ‘मार्नुपर्छ/मार्छु भन्नेहरुले गराएको यो योजनाबद्ध घटना हो ।’

शिक्षक मनोजप्रसाद पौडेलले गरेको यौन दुर्व्यवहारका विरुद्ध विद्यार्थीले १० बजे आसपासमा विद्यालयमा उजुरी गरे । उक्त उजुरीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष भुम सूर्य मगरलाई प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले फोन गरेर छलफलका लागि बोलाए । वडाध्यक्ष मगरले लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलालाई लिएर गए । छलफल भइरहेको कुरा बाहिर गयो । त्यसपछि स्थानीय अगुवा महिलाहरुले शिक्षकलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ भन्दै आवाज चर्को बनाए ।

त्यही बीचमा केही दिन अगाडि लेटाङको ज्यामिरेकी बालिकाको बलात्कारपछि हत्या भएको कुरा पनि केहीले निकाले । ‘यसखालको घटनामा संलग्नलाई मार्नुपर्छ भन्ने विषयमा युवाको समूहमा कुराकानी हुन थाल्यो, अराजकता झनै बढ्यो,’ प्रअ मिश्रले भने ।

लगत्तै प्रहरीलाई खबर भयो । तर, प्रहरी दुई जना, चार जना गर्दै थप भए । त्यसले पार नलाग्ने भएपछि २ बजेतिर प्रहरीले पथरी र उर्लाबारीबाट थप फोर्स मगायो । लेटाङ प्रहरीले त्यही दिन ज्यामिरेको बालिका बलात्कारसम्बन्धी मुद्दामा पक्राउ परेकालाई अदालतमा उपस्थित गराउनु पर्ने थियो । इलाका प्रहरी कार्यालय लेटाङमा भएको एउटामात्र गाडी र केही जवान विराटनगर जिल्ला अदालत पठाइयो । त्यसकारण सवारी साधनबिहीन बनेको लेटाङ प्रहरीले आरोपित शिक्षकलाई लिन एम्बुलेन्स पठायो ।

‘विद्यार्थीलाई केही सेल अश्रुग्याँस हानेर तितरबितर पारियो र शिक्षक पौडेललाई एम्बुलेन्ससम्म ल्याइयो, तर सर्वसाधरणले एक्कासी ढुङ्गामुढा गरे र एम्बुलेन्सको अगाडिको सिसा फुटाएपछि पुनः शिक्षक पौडेललाई फर्काइयो,’ सोही विद्यालयको शिक्षिका लक्ष्मी खतिवडाले भनिन्, ‘प्रहरीसँग ढुङ्गामुढा छल्ने रक्षा कवचका कुनै सामग्री थिएनन्, त्यसकारण पनि उहाँहरुले लैजान सक्नुभएन ।’

शिक्षिका खतिवडा पनि शिक्षक वा प्रहरी मार्नुपर्छ भनेको आवाज आफूले पनि सुनेको बताउँछिन् ।

स्थानीय कृष्ण लम्सालका अनुसार प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या हुनु अघिसम्म शिक्षकको विरुद्धमा भन्दा विस्तारै प्रहरी विरुद्धमा भिड जम्मा हुन थालेको थियो ।

‘जब शिक्षक पौडेललाई एम्बुलेन्समा हालेर लान खोजियो, यो बचाउन लान खोजेको हो भन्ने भान सबैमा भयो,’ लम्सालले भने, ‘यसअघि अश्रुग्याँस हानेर घाइते भएका विद्यार्थीलाई चाहिँ टेम्पोमा लाने, दोषी शिक्षकलाई चाहिँ एम्बुलेन्समा लाने ? प्रहरी पनि मिलेको हुनुपर्छ भन्ने आवाज झनै ठूलो हुँदै गयो, त्यहाँबाट प्रहरीविरुद्धमा भिड जाइलाग्न थालेको थियो ।’

प्रहरी जवान उर्मिलाको हत्या ‘व्यक्ति हत्या’ हो कि झडप ?

अराजक समूहले मोरङको लेटाङमा गत आइतबार गराएको घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या झडपमा भएको हो कि ‘व्यक्ति हत्या’ हो भन्ने विषयको निर्क्यौल हुन बाँकी छ ।

अधिवक्ता डिल्लीप्रसाद दाहालले प्रहरीलाई समातेर मारिएका कारण यो ‘व्यक्ति हत्या’ नै भएको दाबी गरे । ‘यो नियोजित भयो । हत्याको प्रकृतिलाई हेर्दा व्यक्ति हत्या नै भएको देखिन्छ । अर्को व्यक्तिलाई हान्छु भनेर अर्कोलाई लागेको पनि होइन । त्यसकारण यो व्यक्ति हत्या नै हो । यसलाई झुक्किएर भएको पनि मानिँदैन’, दाहालले भने ।

उनका अनुसार झडप भनेको चाहिँ विभिन्न जुलुस तथा भिडभाडमा प्रहरीले भिड तितरबितर बनाउन हवाइ फायर गर्ने, घुँडामुनि गोली हान्ने वा भवितव्यमा पर्ने हुनसक्छ । मान्छे मार्ने नै भन्ने हुँदैन तर झुक्किएर मानिसको मृत्यु हुनसक्छ । होइन भने प्रहरीलाई समातेर ल्याएको छ, रेटेको छ । त्यसकारण यो व्यक्ति हत्या नै हो ।’

मोरङ क्षेत्र नम्बर १ बाट संघीय संसदमा निर्वाचित सांसद घनश्याम खतिवडाले पनि यो व्यक्ति हत्या नै भएको दाबी गरे । ‘यो सिधा व्यक्ति हत्या हो, प्रहरी बहिनीलाई पक्राउ गरेर धारिलो हतियारले घाँटी रेटिएको छ, त्यसकारण यो व्यक्ति हत्या हो,’ खतिवडाले भने, ‘झडप हुने हो भने त परबाट ढुङ्गा वा गोली लागेको हुनुपर्ने हो तर, त्यहाँ त्यस्तो देखिँदैन । त्यहाँ त प्रहरीलाई खेदीखेदी पक्रेर घाँटी रेटिएको छ ।’

सोही क्षेत्रका प्रदेश सांसद तथा प्रदेश १ सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले पनि यो घटनामा झडप वा व्यक्ति हत्याभन्दा पनि अराजकता भएको बताए । ‘यसलाई झडप पनि भन्न सक्ने अवस्था रहेन, यसलाई व्यक्ति हत्या पनि कसरी भन्ने ! प्रहरीसँग त्यहाँ रिसिइबी त थिएन नि,’ घिमिरेले भने ।

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले घटनामा प्रहरी जवानको हत्या भएको विषय झडप हो वा व्यक्ति हत्या हो भन्ने विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताए । ‘हामीले छानबिन समिति बनाएका छौं, त्यसको रिपोर्ट हेरेर हामी निष्कर्ष निकाल्ने छौं,’ उनले भने ।

शिक्षक, सुरक्षाकर्मीदेखि सर्वसाधारण त्रासै त्रासमा, विद्यार्थीको पठन पाठनमा समस्या

आफ्नै घर आँगनमा अकल्पनीय घटना भएपछि त्यहाँका सर्वसाधारण मात्रै नभएर सुरक्षाकर्मीमा पनि त्रासको वातावरण सिर्जना भएको छ । शिक्षकहरुले त पढाउन सक्ने वातावरण नभएको भन्दै विज्ञप्ति नै प्रकाशित गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुम सूर्य मगर र प्रधानाध्यापक लक्ष्मी प्रसाद मिश्रले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै विभिन्न ७ वटा माग सार्वजनिक गरेका छन् । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने, विद्यालय परिसरमा शिक्षक तथा विद्यार्थीहरुमाथिको निर्मम दमन अन्त्य गरिनुपर्ने, नष्ट भएका भौतिक संरचनाको तुरुन्त निर्माण गरिनुपर्ने, दोषीलाई कारबाही, निरपराध व्यक्तिहरुलाई तुरुन्त रिहा गर्नुपर्ने, घाइतेको उपचारको बन्दोबस्त गरिनुपर्ने र नष्ट भएका सामाग्रीहरुको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

विज्ञप्तिमा भयरहित वातावरणमा शान्तिपूर्ण तवरले विद्यालय जाने आउने अवस्था सिर्जना नभएसम्म विद्यालयको पठनपाठन बन्द गर्ने उल्लेख छ । ‘हामीलाई टार्गेट गरिएको छ, यो अवस्थामा कसरी पठन पाठन हुनसक्छ ?’ प्रअ मिश्रले भने ।

शिक्षकहरू मात्रै होइन, यसखालका घटनाले आफूहरु पनि त्रासमा रहेको स्थानीय रुजिना सुवेदी बताउँछिन् । सोही विद्यालयको कक्षा १० मा अध्ययनरत उनी परीक्षा प्रभावित भएकोमा चिन्ता पनि व्यक्त गर्छिन् । आइतबार सेन्टअप टेस्ट सुरु भएको थियो । सोही दिन बिहान अंग्रेजी विषयको परीक्षा दिए पनि अब अरू विषयको परीक्षा कहिले दिने भन्ने चिन्ता विद्यार्थीलाई छ ।

लेटाङका सुरक्षाकर्मीमा पनि त्रासको मनोविज्ञान देखिन्छ । सञ्चारमाध्यममा औपचारिक रूपमा भन्न नसके पनि साधन, स्रोतको अभावले प्रहरीको मनोबल पनि खस्किएको देखिन्थ्यो । अपराधीलाई पक्राउ गरेर ल्याउनका लागि पनि एम्बुलेन्स प्रयोग गर्नुपर्ने बिडम्बना लेटाङ प्रहरीमा छ । त्यसमाथि जनशक्तिको अभाव, दङ्गा नियन्त्रणको टोली ढिलो आउनु र अत्यधिक लागू औषध प्रयोगकर्ताको संख्याका कारण त्यसखालका अराजक गतिविधि र आपराधिक गतिविधि फेरि हुन सक्नेमा प्रहरी आफै सशङ्कित देखिन्छ ।

त्यतिमात्रै होइन, जनप्रतिनिधिहरु पनि पार्टीगत पक्ष विपक्षमा हुँदा त्यसखालका घटनामा एकले अर्कोलाई प्रयोग गर्ने हो कि भन्ने शंका उपशंका देखिन्छ । ‘यो घटनाले काँग्रेस र एमालेबीच मनोवैज्ञानिक त्रास पनि सिर्जना भएको छ,’ एक स्थानीयले भने, ‘घटनापछि कसको टाउकोमा दोष थोपर्ने भन्ने विषयमा पनि चलखेल भइरहेको छ, घटनाको विषयमा सोही ढङ्गले अनेक आँकलन गरिएको छ ।’

एमाले निकटकै शिक्षक, एमाले निकटकै कर्मचारी, छात्रामाथि दुर्व्यवहार गर्ने पनि एमाले निकटकै शिक्षक, वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि एमाले कै कार्यकर्ता, नगरपालिकाको उपप्रमुख पनि एमालेकै भएको कारण अनेक शंका भएको कुरा स्वयं प्रधानाध्यापक मिश्र स्वीकार गर्छन् । ‘यी जति पनि शंका उपशंका छन्, यसमा राजनीतिक रङ मिसाउनु हुँदैन, यो सरासर गलत हो,’ मिश्र भन्छन् ।

नमूना बन्ने तयारीमा रहेको विद्यालयलाई धक्का

यो घटनासँगै नमूना बन्ने तयारीमा रहेको शिक्षा विकास माविलाई धक्का लागेको छ । डिजिटल पढाइको सुरुवात, १० कक्षासम्म नै अंग्रेजी माध्यमको पढाई हुँदै आएको उक्त विद्यालयमा ४ वर्ष यतामात्रै ३ सयभन्दा बढी विद्यार्थी थप भएका थिए ।

भौतिक संरचना निर्माणमा पनि उल्लेख्य प्रगति गरिरहेको विद्यालयलाई आगामी दिनमा निकै राम्रो र नमूना बनाउने प्रयासमा आफूहरु लागेको प्रधानाध्यापक मिश्रले सुनाए । पछिल्लो घटनाले उक्त लक्ष्यमा ठेस लागेको शिक्षक तथा स्थानीयवासी पनि बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्ष भुम सूर्य मगरले पनि आफूहरुको योजनामा धक्का लागेको बताए । ‘निक्कै प्रगति गरिरहेको थियो, रिजल्टमा पनि राम्रो हुँदै आएको थियो,’ उनले भने, ‘यो घटनाले हामीलाई धक्का लागेको छ ।’

बाहिरबाट अध्यापनका लागि आएका शिक्षकहरुले छोड्ने मनसाय राखेका छन् । विद्यालयमा भएको झडपका क्रममा कतिपय अभिभावकले ‘शुल्क लिने स्कुलका प्रधानाध्यापक पनि यही होइन ?’ भन्दै मिश्रमाथि आक्रमण गरेका थिए ।

‘मलाई आक्रमण गर्ने क्रममा विद्यालयको शुल्कदेखि सानातिना विषय पनि इगोको रुपमा पालेको पाइयो,’ मिश्रले भने, ‘म आफै पनि विद्यालयमा अब नेपाली माध्यममा पढाउने र धेरै मेहनत गरेर नहुने रहेछ भन्ने निष्कर्षमा पुग्न लागेँ ।’

पूर्वी मोरङमा दङ्गा नियन्त्रण गण चाहिन्छ

यसअघि सांसद तथा जनप्रतिनिधिहरुले सो क्षेत्रलाई लक्षित गरी सुरक्षाकर्मीको संख्या तथा प्रहरीको दरबन्दी थप गर्न माग गरेका थिए । ‘एक वर्ष अगाडि विप्लव समूहबाट शिक्षक राजेन्द्र श्रेष्ठ मारिएपछि हामीले त्यस क्षेत्रमा सुरक्षाकर्मीको कार्यालय थप गर्न माग गरेका थियौं,’ खतिवडाले भने, ‘तर, त्यसबेलाको सरकारले पनि हाम्रो कुरा सुनेन, अहिले पनि सुनेका छैनन्, लेटाङमा आइतबार भएको घटनामा नजिकै दंगा नियन्त्रणको टोली भएको भए त्यसखालको क्षति हुने थिएन ।’

आइतबार लेटाङमा परिस्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीको थप टोली माग भयो तर विराटनगरबाट प्रहरीको टोली पुग्नकै लागि दुई घण्टा भन्दा बढी समय लागेको थियो । नजिकै प्रहरी भइदिएको भए बेलैमा प्रहरी, शिक्षक तथा थुनिएका अन्य सरोकारवालाको उद्धार हुने थियो ।

उत्तर तथा पूर्वी मोरङका जनप्रतिनिधिहरुले पनि सुरक्षा युनिट बढाउने कुरालाई चर्को रुपमा उठाउँदै आएका छन् । सोही क्षेत्रका सांसद तथा प्रदेश मन्त्री घिमिरेले पनि आफूहरुले उठाउँदै आएको मागको सुनुवाइ नभएको बताए । उत्तरी मोरङका अर्का सांसद कुलप्रसाद साम्बा कुशलले पनि आफूहरुले निक्कै जोड बल गरेर सुरक्षाकर्मी थप गर्न पहल गरेको तर सार्थक हुन नसकेको बताए ।

जनसंख्याको चाप बढ्दै गएको र अपराधको अवस्था पनि बढ्दै गएका कारण त्यस क्षेत्रमा जनशक्ति थप गर्नुपर्ने विषयमा प्रहरी प्रशासन पनि सहमत छ । तर, त्यसका लागि राजनीतिक निर्णय आवश्यक पर्ने भएकोले ढिलाइ भएको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीसँगको टसल कसरी बढ्यो ?

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख जनार्दन जिसीले त्यहाँ प्रहरी टार्गेट हुनुको कारण विभिन्न ढंगले व्याख्या गरेका छन् । सांसद खतिवडा पनि त्यो घटनामा अतिरिक्त बडप्पन देखाउनका लागि आपराधिक मानिसले गरेको हर्कत भएको बताउँछन् ।

‘गैरकानूनी काम गर्दा पक्राउ परेका मानिसहरुले पनि पूर्वाग्रह राखेर प्रहरीमाथि आक्रमण गरिएको छ, कतिपय तस्करीका सवारी साधन पक्राउ परेपछि रिस फेर्ने पनि छन्, इगो साँधेको पाइयो,’ सांसद खतिवडाको भनाइ छ ।

प्रहरी प्रमुख एसपी जिसी ग्रामीण भूभाग भएकाले प्रहरीको उपस्थिति सधैँ हुन नसकेको र उक्त क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको संख्या धेरै रहेको तथा प्रहरीले बेलाबेलामा उनीहरुमाथि एक्सन लिएको बताउँछन् । ‘त्यही कारणले पनि प्रहरीप्रति त्यसक्षेत्रका युवा आक्रोशित भएको हुनसक्ने सम्भावना छ । लागूऔषध नियन्त्रण र कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ र कारवाहीको कारण पनि प्रहरीप्रति त्यस्ता युवाको धारणा नकारात्मक भएको पाएका छौँ,’ उनले भने, ‘प्रहरीमाथि नै आक्रमण गर्नुको कारण त्यो पनि हुन सक्छ ।’

एसपी जिसीले सुकुमबासी बस्तीका युवाहरू पनि प्रहरी विरुद्ध लागेको हो कि भन्ने शंका गरे । ‘सुकुमबासी बस्तीका कतिपय कुलतमा फसेका युवालाई प्रहरीले पक्राउ र धरपकड गरेको कारण त्यस्ता युवा पनि प्रहरीप्रति नकारात्मक भएको हुनसक्ने हामीले अनुमान गरेका छौं,’ उनले भने ।

प्रहरीविरुद्ध टसल बढ्नुको कारण प्रहरीले अपराधीलाई छुट दिन विभिन्न बहाना गर्दैछन् जस्तो देखिनु पनि हो । अधिवक्ता डिल्ली दाहालका अनुसार त्यहाँ पक्राउ गर्नुपर्ने मानिसलाई धेरैबेर रोकेर किन राखेको, प्रहरीले छिटो पक्राउ गर्नुप¥यो भन्ने चाहनाले पनि नकारात्मक अवस्था सिर्जना गरेको हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप