सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गरेर एमाले बैठक आजै सकिने

बिहीबार, १० चैत २०७८, ०८ : १५
बिहीबार, १० चैत २०७८

स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहीबार समापन हुँदैछ । बुधबार सुरु भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि निर्णय सुनाउँदै बैठक समापन गर्न लागेको एमालेले जनाएको छ । 

बुधबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले पार्टी संगठनको अवस्थाको विश्लेषणसहितको रिपोर्टिङ गरेका थिए । बुधबारको बैठकमा प्रदेश १ का अध्यक्ष प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद शाह र सुदुर पश्चिमका दामोदर भण्डारीले आफ्नो प्रदेशको पार्टी सांगठनिक अवस्था र सम्भावित चुनावी नतिजाबारे बैठकलाई जानकारी गराएका थिए ।
 
त्यसक्रममा प्रदेश १ का अध्यक्ष न्यौपानेले कम्तीमा ८५ स्थानीय तहमा एमालेले जित्ने दाबी गरेका थिए । उनले प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ८५ स्थानमा जित्ने दावी गरेका थिए । मधेस प्रदेशका रामअवतार साहले प्रदेशमा पार्टी पहिलो बन्नसक्ने आधार बन्दै गएको बताए पनि ठोस आँकडा पेश गरेनन् ।

वागमती प्रदेशका अध्यक्ष पाण्डेले ११९ स्थानीय तहमध्ये ८० स्थानमा एमालेले जित्ने रिपोर्ट पेश गरेका थिए । त्यस्तै गण्डकीका नवराज शर्माले ५ दलीय गठबन्धनले गठबन्धनका आधारमै चुनाव लडे ८५ मध्ये २७ मा एमालेले जित्ने तर एक्ला एक्लै लडे त्यो संख्या बढ्ने रिपोर्ट पेश गरेका थिए । 

लुम्बिनी प्रदेश अध्यक्ष कँडेलले १ सय ९ स्थानीय तह मध्ये ६२ स्थान जित्ने दाबी गरेका थिए । कर्णाली प्रदेश अध्यक्ष शाहले पनि २९ वटा स्थानीय तह जित्दै एमाले पहिलो दल बन्ने तथा सुर्खेत, दैलेख, जाजरकोट, डोल्पामा एमाले पहिलो पार्टी रहेको बताएका थिए । सुदूरपश्चिमका अध्यक्ष भण्डारीले पनि प्रदेशका ८८ मध्ये ३६ स्थान जित्न सकिने बताएका थिए । 

प्रदेश अध्यक्षहरूको रिपोर्टिङ पछि अध्यक्ष केपी शर्मा ओलीको १५ पेज लामो राजनीतिक प्रतिवेदन पेश भएको थियो । अध्यक्ष ओलीको प्रतिवेदनमाथि बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव राख्नेछन् । एमालेले प्रतिवेदनमाथि सकभर लिखित सुझाव राख्न भनेको छ । तर मौखिक धारणा राख्नलाई पनि फ्लोर ओपन हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

‘धेरैले बोल्दा समय अभाव हुने भएकाले लिखित सुझाव मागिएको हो । तर मौखिक धारणा राख्न पनि पाइन्छ’, रिजालको भनाइ छ । रिजालले बैठकका निर्धारित र छरिता एजेण्डा भएकाले के गर्ने, के नगर्ने भन्ने समेत प्रतिवेदनमा आइसकेकाले बैठक बिहीबार नै समापन हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप