सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा डलर देखाएर ठगी गर्नेको कुटेर हत्या, डलरमा आँखा लगाउँदा असई पनि पक्राउ

हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ
आइतबार, १३ चैत २०७८, १० : ४१
आइतबार, १३ चैत २०७८

होलीको अघिल्लो दिन भक्तपुरको चाँगुनारायणमा ‘सस्तो मूल्यमा डलर साटिदिन्छौँ’ भनेर एकजना युवाले दुई जनालाई बोलाए । मकवानपुरका सुरेश न्यौपाने र कैलालीको गोदावरी नगरपालिका–२ घर भएका वीरेन्द्र बहादुर खड्का चाँगुनाराणस्थित हलखोरियामा गए ।

थोरै मूल्यमा धेरै डलर लिने भनेर उनीहरु ८ लाख रुपैयाँ बोकेर गएका थिए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भएका रेशम बुढाथोकीले रुमालमा पोको बनाएको डलर उनीहरुलाई दिए । अनि, ८ लाख लिएर फटाफट हिँडिहाले । रेशमले दिएको पोको फुकाएर हेर्दा त्यहाँ डलर थिएन, डलर आकारमा काटेर बाँधेको कागज रहेछ ।

चोर–चोर भन्दै उनीहरुले रेशमलाई लखेट्न थाले । गाँउलेहरुले ‘चोर’ आएको भन्ने ठाने । त्यसपछि सुरेश र वीरेन्द्र मिलेर उनलाई कुटे । निर्घात कुटेपछि गाउँलेले प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले कुटेर गम्भीर घाइते भएका रेशमलाई अस्पताल पठाए । कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

कुटपिटबाट गम्भीर घाइते भएका रेमश बुढाथोकीको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।  सुरेश न्यौपाने र विरेन्द्र बहादुर खड्कालाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

डलरमा आँखा लगाउँदा असई पक्राउ

चैत २ मा चाँगुनारायणमा  झगडा भएको सुराक पाएपछि मान्छे पक्राउ गर्न गएका थिए महानगरीय प्रहरी प्रभाग साँखुका असई दिलिप खड्का टोली लिएर गएका थिए ।

मृतक रेशम बुढाथोकी र हत्या आरोपीको साथबाट उनले नगद ८ लाख सहित केही डलर बरामद गरेका थिए । मृतकले कागजको बाहिर राखेको १ रुपैयाँ दरका केही डलर असई खड्काले बरामदी मुचुल्कामा देखाएनन् । उनले ‘डलरको कुरा नगर्नु’ भनेर आफ्नै गोजीमा राखेर हिँडे । सो कुरा लिक भएपछि उनलाई पनि पक्राउ गरिएको छ ।

साँखुमा कार्यरत असई खड्कालाई ठगी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको भक्तपुर परिसरका डिएसपी पाण्डेले जानकारी दिए । उनले भने, ‘सो घटनामा ज्यान सम्बन्धी कसुर र ठगी सम्बन्धी मुद्दा दर्ता गरेका छौं ।’

साँखु प्रहरीले असईको घरबाट डलर बरामद गरेर भक्तपुर परिसरलाई जिम्मा लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप