सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘ओलीजी, इतिहासमा तपाईं–हामीलाई जनताले गद्दार नभनुन्’

आइतबार, १३ चैत २०७८, १७ : २८
आइतबार, १३ चैत २०७८

२०१७ सालदेखि नै मैले कम्युनिष्ट राजनीतिमा चासो राख्न सुरु गरे, त्यसबेला म जम्मा १७ वर्षको युवा थिएँ । पञ्चायत विरोधी कम्युनिष्ट राजनीतिमा लागेकै अभियोगमा ३५ पटक जेल तथा हिरासतमा बस्न बाध्य भएँ । पूर्वका कुना कन्दरामा बामपन्थी जनमत निर्माण गर्न मेरो भूमिका पनि कम महत्वपूर्ण छैन भन्ने मलाई लाग्छ । पूर्वमा कम्युनिष्टको बिउ नभएको स्थानमा ८० प्रतिशत भन्दा बढी जनमत निर्माणमा मेरो पनि देन छ ।  तर यो पार्टीले मूल्याङ्कन गर्ने कुरा हो । बिडम्बना पार्टीले मूल्याङ्कन गरेन । ०५४ सालमा तत्कालीन नेकपा एमालेले विराटनगरको मेयरमा मलाई टिकट नदिएर रमेशचन्द्र पौडेललाई उम्मेदवार बनायो । म असन्तुष्ट भएँ । त्यसपछि एमालेबाट फुटेको माले, माओवादी, वैद्य माओवादी, विप्लव माओवादी धेरै ठाउँमा आफ्नो अनुभव बाँडे । अहिले पुनः एमालेमा फर्किएको छु । 

संसदीय व्यवस्थामा कम्युनिष्टको सरकार बन्नु भनेको गोरु गाडामा हवाइजहाजको इन्जिन राख्नु जस्तै हो । संसदीय व्यवस्था निजी सम्पत्तिमा आधारित हुन्छ । जहाँ निजी सम्पत्तिको प्रसंग आउँछ, त्यहाँ टाठाबाटाहरु अगाडि बढ्छन् । अनि सोझासिधा र टाठाबाठामा समाज विभाजन हुन्छ । ३४ वर्ष लगातार सीपीआइएमले पश्चिम बंगालमा शासन गर्यो । २५ वर्ष त्रिपुरामा शासन गर्यो । पटक पटक केरलामा शासन गर्यो । तर उनीहरुको दर्दनाक पतन कसरी भयो ? म ०५४ सालमा मेयरको टिकट नपाएर मात्रै पार्टी छाडेको थिइन, कारण अरु पनि थिए । 

मलाई साह्रै चित्त दुःखेको कुरा के थियो भने मैले सुरुदेखि नै मदन भण्डारीलाई गोर्भाचोवको पछाडि नलाग्नुहोस् भनें । १० वर्ष जाँच गर्नुपर्छ भनें । तर, मदनजीले मलाई ए, संसार कहाँबाट कहाँ पुगिसक्यो, गोर्भाचोवले दग्ध गरिसक्यो भन्ने ? भनेर झाँको झार्नु भयो । तर मैले त्यसो भनेको ८ महिना नपुग्दै सोभियत संघ विघटन भयो । ०५४ मा २२ वटा वडामा ८६ प्रतिशत, जिल्ला समितिमा ७५ प्रतिशत मेरो समर्थन थियो । तर, पार्टीले रमेशचन्द्रजीलाई टिकट दियो । मैले पनि इमान्दारितामा पनि केही चिज होला भनेर संगठनमा बढी जोड दिएँ । पार्टीको निर्देशनअनुसार नै नगरपालिका चल्छ भन्ने मलाई लागेको थियो । तर, ८ जना लेक्चरर पठाएर मलाई रमेशचन्द्रको पक्षमा कन्भिन्स गर्ने र आशङ्काको घेरामा राख्ने कोसिस गरियो । मलाई किन शङ्का गर्नु ? म त बाङ्गो टिङ्गो बाटो हिँड्ने मान्छे होइन । 

पञ्चायत ढालुन्जेल र शून्य अवस्थामा रहेको पार्टीको बिउ रोपेर ठूलो बनाउन्जेल मलाई शंका गर्नुपरेन । तर, जब मेयर पदमा चुनाव हुने भयो अनि शंका गर्नुपर्ने अवस्था किन भयो ? नराम्रो व्यवहार मैले गर्ने भए पो शंका गर्नुपर्ने, जेलमा बस्दा, ३५ पटकसम्म हिरासतमा बस्नुपर्दा शंका गर्नु नपर्ने, तर चुनावको बेला अति प्रिय मान्छे मलाई अछुत जातिलाई पकाएर खाने बेलामा पर सारे जस्तो गरे । कमिटीमा बोलाएर लौ यसो गर्ने भइयो भन्दा म दुःख मनाउ नै गर्ने थिइनँ । 

मेरो मान्यता के हो भने आफ्नो सिद्धान्त जे छ, त्यसमा पुरा इमान्दारीताका साथ लाग्नुपर्छ । अनिकालको बेला कम्युनिष्टको बिउ जोगाउनु कति गाह्रो थियो ? ०२३/०२४ सालमा मोरङको जाँते, लेटाङ, केराबारीको अवस्था हेर्दा ढुंगालाई बनाउन सजिलो होला तर यी मान्छे कम्युनिष्ट बन्दैनन् जस्तो लाग्थ्यो । तर, लाग्दा लाग्दै गरेपछि बहादुर बहादुर मान्छे कम्युनिष्ट भएर निस्किए । अहिले पनि त्यो ठाउँमा ८० प्रतिशत मानिस वामपन्थी छन् ।

अनेक दुःख पीडा भोगियो । तर, लेक्चररहरु मलाई कन्भिन्स गर्न आए । बुर्जुवा डिग्री हासिल गर्ने वित्तिकै मलाई कन्भिन्स गर्न पठाउने हो त ? पार्टी कमिटीमै राखेर छलफल गरेको भए भइजान्थ्यो नि । वास्तवमा मेरो इमानदारी नै मेरो लागि दुर्दशा भयो । मैले जति दुःख, कष्ट भोगें । ०१७ सालमै जेल परे । ०२९ सालमा ज्यान मुद्दा लगाइयो । ०४०  अनि ०४२ सालमा पनि जेल परेँ ।

म झापा आन्दोलनको पक्षमा कसरी लागें भन्दा ३० सालतिर मनमोहन र भरतमोहन अधिकारीहरुले राजदरबारमा झापाली भनेका सिआइएका एजेन्ट हुन् भनेर विन्ति पत्र हाले । त्यसो गरेपछि म झापा आन्दोलनमा लागे । ‘घोडाबाट बादशाहलाई खसाल्नुछ भने मृत्युदेखि नडराउनु’ भनेर लेनिनले भनेजस्तै म झापालीको आन्दोलनमा लागेको हुँ । 

०५४ मा साथीहरुले त्यसरी निराश बनाए । ०५६ सालमा पार्टी फुट्दा हिजोको झापाली यिनै सीपीहरु हुन् भनेर बामदेव र सीपीको पक्षमा लागियो । तर, भलै सीपीले संगठनलाई हाँकेर लाने अवस्था देखिएन । बामदेवले त पार्टी नै फेरि एमालेमा बुझाइदिए । त्यसपछि अब गर्ने भनेको पार्टी माओवादी हो भन्ने लागेर प्रचण्डलाई आशाको नजरले हेरें । तर, त्यहाँ पनि मैले डरलाग्दो दृश्य देखें । एक पटक विराटनगरको तीनपैनीस्थित पार्टी कार्यालयमा गएको थिएँ । त्यहाँ वाइसिएलका साथीहरुको खान्की हेरें । त्यहाँ दाल ,भात मात्रै थियो । मैले पनि खाएँ तर मुखमा हालिसक्नु थिएन । बजारमा यति चन्दा उठ्यो, उति उठ्यो भन्छन् तर कार्यकर्ताको खान्की खाइ नसक्नु छ । त्यसै विषयमा मैले तत्कालीन माओवादी नेता गंगा श्रेष्ठलाई सोधें, ‘तपाईंहरुले उठाएको चन्दा कसले राख्नुहुन्छ, कसरी खर्च हुन्छ ?’, उनले मलाई जवाफ दिए, ‘हाम्रो आर्थिक समिति एक सदस्यीय हो, अध्यक्ष नै सर्वेसर्वा हो भने ।’ खानेहरु अरु होलान् तर त्यो जवाफले मलाई डरलाग्दो अवस्था लाग्यो । 

त्यसपछि फेरि वैद्यजीले पार्टी फुटाएपछि लौ न त हेरौं भनेर म त्यतातिर लागें । इमाडोलको केन्द्रीय समिति बैठकमा म पनि गएको थिएँ । त्यही क्रममा वैद्यजीलाई मैले सोधें, ‘क्रान्ति कसरी हुन्छ ?’ वैद्य बाले अहिले त नाकमात्रै बचाएर हिँड्ने हो भनेपछि म क्रान्ति खोज्दै हिँडेको मान्छे छाँगाबाट खसें । फेरि अर्को बैठकमा पनि उनले त्यस्तै कुरा गरे । त्यसपछि मैले उक्त पार्टी पनि छोडें र विप्लवजी तिर लागें । गर्नेलाई नै सहयोग गर्ने हो म आफू सक्दिन भन्ने लागेर उनीहरुलाई सहयोग गरेको हुँ । तर, विप्लवमा पनि बम पड्काउने, आगो सल्काउने लगायत विध्वंशको मात्रै काम भयो । यसको विरोध गर्दै मैले विप्लवका नेता असारे काकालाई राजीनामा पत्र पठाएँ । उनले मलाई उट्पट्याङ कुरा गरे । मैले उनीहरुलाई सुझाव दिँदा पनि पटक पटक भनेको थिएँ । पार्टी निर्माणको लागि संगठन निर्माण, संगठन निर्माण र फेरि संगठन निर्माण भनेको थिएँ । तर, सुनेनन् । विप्लवको लाइन ठिकै थियो तर उनका कार्यकर्ता उट्पट्याङ भए । 

मोरङको टाँढीमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या किन गरेको ? यसरी क्रान्ति हुँदैन । म आज पनि भन्छु, विचार र सिद्धान्तको हिसावले विप्लवको पार्टी नै सही हो । तर, कार्यनीति गलत भयो । घाँस काट्न बनाएको सिरुपाते खुकुरीले मान्छे काट्न थालेपछि त भएन नि ? सोझा, साझालाई बेकुफ बनाउने, चटके कुरा गर्ने, कार्यकर्ताले डाँकाजस्तो व्यवहार गर्ने खालको देखियो । त्यसपछि मैले स्वतन्त्र बस्ने भनेर राजीनामा दिएको थिएँ । फेरि एक्लै बसेर के काम, एक्लै ढेडु जस्तो हुने भइयो भन्ने लाग्यो । सकेको योगदान गर्ने विचार गरिरहेको थिएँ । त्यही बीचमा एमाले नेता विनोद ढकालसँग भेट भयो, उहाँले एमालेमा आउनु भनेपछि त्यहाँ केन्द्रीय सल्लाहकार छु । औपचारिक पत्र भने अहिलेसम्म पाएको छैन । 

मलाई चिन्ता के मा छ भने म अहिले एमालेमा छु । भोलि सिपिआइको जस्तो दुर्गति नहोस् । ज्योति बसुको जस्तो दुर्गति नहोस् भन्न चाहन्छु । आफूलाई सुधारेर लानुपर्छ । आम चुनावसम्म त यस्तै होला । तर, आम चुनावपछाडि धेरै खतरनाक अवस्था देख्छु । मैले ओलीलाई नै भन्नेवाला छु, भोलिको इतिहास लेख्दा तपाईं हामीलाई जनताले गद्दार नभनुन् । ख्रुस्चोभलाई के भने, गोर्भाचोवलाई के भने त्यस्तो अवस्था नहोस् । बुद्धिजीवीहरुको भेलामा जाँदा वा कुनै पनि बैठकमा जाँदा एउटा पनि किसान, मजदुर हुँदैनन् । कम्युनिष्ट पार्टी भनेको पैसावालको मात्रै हो ? किसान, मजदुरलाई समेट्नु पर्दैन ? 

बामपन्थी नेता लव प्रधानसँग रातोपाटीकर्मी अर्जुन आचार्यले गरेको कुराकानीमा आधारित 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लव प्रधान
लव प्रधान
लेखकबाट थप