सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘विश्व महाशक्ति’ को पतनस्थल बन्दै युक्रेन ?

सोमबार, १४ चैत २०७८, १४ : ५७
सोमबार, १४ चैत २०७८

विश्वले युक्रेनका युवा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आत्मबल, साहस र  देशभक्तिको प्रशंसा गरिरहेको छ । तर, यथार्थमा उनी सैन्य द्वन्द्व सुरु हुनुअघि अमेरिका र पश्चिमी राष्ट्रको प्रोत्साहन र झूटा प्रतिज्ञाहरूका शिकार भएका हुन् । युक्रेनी नेतृत्वले रुससँगको सम्बन्धमा केही महत्त्वपूर्ण तथ्यलाई बेवास्ता गर्‍यो । पूर्वी भागमा बस्ने युक्रेनी जनसङ्ख्याको राय सुझाव लिइएन । जबकि यस क्षेत्रमा रुसी भाषाभाषीको जनसङ्ख्या १७ प्रतिशत छ । 

इतिहास पल्टाउने हो भने युक्रेन कुनै बेला सोभियत संघको एउटा हिस्सा थियो । रुसलाई महाशक्ति राष्ट्र बनाउने अठोट, सुरक्षाको प्रत्याभूतिका साथै सोभियत संघ युगको पुनरुत्थान गर्ने साम्राज्यवादी महत्वाकांक्षाहरू रुसी राष्ट्रपति भ्यादिमिर पुटिनमा जागेका कारण युद्ध लम्बिरहेको छ । लम्बिँदो युद्धका कारण विश्वभरका देश ध्रुवीकृत भइरहेका छन् । युद्ध लम्बिएसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विभाजन पनि बढ्दै गएको छ । जुन एउटा डरलाग्दो पक्ष हो । 

यसरी युद्ध अगाडि बढिसकेको अवस्थामा दुवै राष्ट्रलाई पछाडि जान निकै कठिन भइरहेको छ । हुन त युक्रेनी राष्ट्रपति जेलेन्स्की लचिलो भएर पुटिनसँग वार्ता गर्न एकदमै जरुरी छ भन्दै आएका छन् । तर, पुटिन भने वार्ता गर्ने ‘मुड’ मा छैनन् । युद्धलाई विराम गर्नु भनेको एक किसिमको ‘हार’ हो भन्ने मानसिकता पुटिनमा हाबी भएको विश्लेषण पनि गर्न थालिएको छ । यो मनोदशाका कारण पनि पुटिन ‘ब्याक’ हुन नचाहेको हुन सक्ने आँकलन भइरहेको छ । युद्धले गर्दा दुई ध्रुवीय विश्व व्यवस्थाको स्थापनालाई सहज बनाउने कारकहरू र वातावरणहरू बनिरहेको पनि देखिएको छ । जसमा सबैभन्दा महत्त्वपूर्ण भनेको अधिनायकवादी प्रवृत्ति राष्ट्रपति पुटिनको उपस्थिति, उनका साम्राज्यवादी सपना र सुरक्षा तथा खुफिया विभागको पृष्ठभूमि हो ।

के नयाँ र फरक विश्व व्यवस्था सिर्जना हुँदैछ ?

युरोपले दुई विश्व युद्धको भयावहको सम्झना गराउने अर्को संकटको सामना गरिरहेको छ । युरोपेली महाद्वीपको पूर्वी भागलाई तहसनहस पार्ने युद्धको नतिजा यस क्षेत्रमा मात्र सीमित नभई बाँकी विश्वमा पनि पर्नेछ । सन् १९९० मा सोभियत संघ (यूएसएसआर) को पतन भएदेखि नै रुस र युक्रेनबीच मतभेद रहँदै आएको थियो । उनीहरूको सम्बन्धमा विभिन्न चरणमा द्वन्द्व बढेपछि अहिले आएर युद्ध नै सुरु भयो । दुई देश बीचको सम्बन्ध विभिन्न तहमा बिग्रिँदै गयो र रुसी सैन्य हस्तक्षेपले युक्रेनलाई सङ्कटग्रस्त क्षेत्र बनायो । 

रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किभको उपनगरमा तैनाथ छन् । दृश्यहरूले बीसौँँ शताब्दीको साठीको दशकमा भएका घटनाक्रमको सम्झना गराउँछ । सोभियत ट्याङ्कहरू पाराग्वेमा प्रवेश गरे र ‘पाराग्वे वसन्त’ लाई कुल्चिएको थियो । यो कुनै परम्परागत युद्ध होइन, न त विवादित क्षेत्रलाई लिएर मात्र भएको द्वन्द्व हो, न त चुनावपूर्व प्रचारप्रसार हो । रुसको रणनीतिक सुरक्षाको चिन्तनको परिणाम यो युद्ध हो भनेर बुझ्न सकिन्छ । यो युद्ध अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ व्यवस्था स्थापना गर्ने बाटोमा पहिलो पाइला पनि हो । 

रुस–युक्रेन युद्ध विश्वव्यापी स्तरमा प्रभावको क्षेत्रको नयाँ विभाजन हो । वास्तवमा, यो युद्ध त्यो बाटोमा पहिलो एपिसोड होइन । पहिले जर्जिया (२००८), अब्खाजिया (२०१४), क्राइमिया (२०१५), सिरिया (२०१९)  लिबिया (२०२०), बेलारुस (२०२०) लगायत देशमा यस्तै घटनाहरू भएका थिए । संसारलाई विश्व महाशक्ति हुँ भन्ने दम्भ देखाउने अमेरिका युक्रेनमा पूर्णतः असफल भएको छ । अमेरिकाको अफ्गानिस्तान र युक्रेनमा खेलेको भूमिकाले अमेरिकी विदेश नीति, सहयोगीहरूप्रतिको उसको इमानदारी र युद्ध लड्ने क्षमतामाथि गम्भीर प्रश्न खडा गर्छ । अमेरिकी नीतिको अविश्वसनीयता र राष्ट्रपति जो बाइडेनको अस्थिर विदेश नीतिकै कारण अमेरिका विश्वभरि आफ्नो सहयोगी र मित्रहरू गुमाउँदैछ । यसले चीन र रुसका लागि अमेरिकी वर्चस्व तोड्ने मौकासमेत सिर्जना गरेको छ । 

अहिले रुस प्रत्यक्ष रूपमा अमेरिका र नेटोविरुद्ध उभिएको छ । रुससँग पुराना सहयोगीहरू चीन, भारत, उत्तर कोरियालगायत टर्की, इरान र इजराइयल जस्ता नयाँ मित्रहरू छन् । यी मुलुकहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुससँगको व्यापारिक र कूटनीतिक सम्बन्ध भंग गर्ने पक्षमा छैनन् । यसले विश्वलाई दुई कित्तामा विभाजित गरेको छ । एक खेमामा अमेरिका युरोपियन संघ र उसका सहयोगीहरू छन् भने अर्को खेमामा रुस, चीन र उसका सहयोगीहरू छन् । यसले संकेत गर्छ ,अब अमेरिका एक्लै विश्व मानचित्रको निर्णायक शक्ति रहेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नविन साह
नविन साह
लेखकबाट थप