आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नर्सिङ तथा मिड्वाइफ्रीका लागि यस्तो छ दश वर्षे रणनीति

मङ्गलबार, १५ चैत २०७८, ०६ : १९
मङ्गलबार, १५ चैत २०७८

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दश वर्षीय रणनीति तयार पारेको छ । ०७७/७८ देखि ०८७/८८ सालसम्मका लागि सुरक्षा महाशाखाले रणनीतिहरू तयार पारेको हो । दश वर्षीय रणनीतिमा राष्ट्रिय नर्सिङ तथा मिड्वाइफ्रीको रणनीति महाशाखाले तयार पारेको छ । 

नेपाल नर्सिङ परिषद्का अनुसार करिब ९५ हजार भन्दा बढी नर्स अनमी दर्ता भएका छन् । यस्तै नेपालमा वार्षिक करिब ८ हजार नयाँ नर्स तथा मिड्वाइफ्री जनशक्ति थपिन्छन् । यद्यपि सरकारलाई निजी स्वास्थ्य क्षेत्रमा कति सङ्ख्यामा नर्स कार्यरत छन् भन्नेबारे आधिकारिक विवरण सरकारसँग छैन । यसैले अस्पतालहरूमा नर्सिङ जनशक्तिको परिचालन र व्यवस्थापनमा ठूलो विविधता देखिएको छ । त्यसैले दक्ष जनशक्तिको सदुपयोग हुन नसकेको रणनीतिमा उल्लेख छ ।  आ.व ०७८/७९ देखि ०७९/८० सम्ममा संघीय संरचनाअनुरुप नर्सिङ तथा मिड्वाइफ्री जनशक्तिको गणना र प्रक्षेपण गर्ने, त्यस्तै अनलाइन डाटा बैंकको स्थापना गरिने रणनीतिमा उल्लेख छ ।

यस्तै, रणनीतिमा आर्थिक वर्ष ०८१/८३ देखि सुरु गरी निरन्तर नर्सिङ तथा मिडवाइफ्रीसम्बन्धि विषयगत विशेषज्ञ  विधाहरूको सुरुवात गर्ने, पाठ्यक्रम समेत तयारी गरिने उल्लेख छ । आव ०८२/८३ बाट स्नातक तहसम्मको नर्सिङ शिक्षाको पाठ्यक्रममा विद्यालय नर्सिङ विषय समावेश गरिने समेत उल्लेख छ ।    

आर्थिक वर्ष ०७८/७९ देखि ०७८/८१ सम्म अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सोहीअनुसार सबै सरकारी तथा निजी शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन तथा कार्यान्वयन गराउने उल्लेख छ । यस्तै, विशिष्टीकृत नर्स तथा मिड्वाइफ्री जनशक्ति उत्पादन गर्ने अर्थात् प्रवीणता प्रमाणपत्र तह मिड्वाइफ्री शैक्षिक कार्यक्रम सञ्चालन दश वर्ष भित्रमा गर्ने उल्लेख छ । देशको आवश्यकता र प्रक्षेपणका आधारमा नर्सिङ तथा मिड्वाइफ्री जनशक्तिको व्यवस्थापन गर्ने भनिएको छ ।

विशेषज्ञ तथा विशिष्टीकृत नर्सिङ शिक्षा अध्ययनको लागि छात्रवृत्ति योजना तर्जुमा गरी कार्यान्वयनसमेत गरिने उल्लेख छ । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले २०७८/७९ देखि ०७९/८० सम्ममा सरकारी तथा निजी स्वास्थ्य क्षेत्रका लागि आवश्यक नर्सिङ एवम् मिड्वाइफ्री जनशक्तिको विस्तृत प्रक्षेपण गर्ने रणनीति बताएको छ । संगठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी नर्सिङ तथा मिड्वाइफ्री जनशक्तिको आपूर्ति र व्यवस्थापन गर्ने रणनीतिमा उल्लेख छ । अर्थात् संघीय संरचनाअनुसार नर्सिङ एव मिड्वाइफ्री जनशक्तिको आपूर्ति र परिचालन सम्बन्धि गुरुयोजना निर्माण गरिनेछ । 

दश वर्षीय रणनीतिमा नर्सिङ तथा मिड्वाइफ्री सेवामा सेवा प्रवेश स्टाफ नर्स मिडवाइफ/पदबाट कायम गरिने कुरा उल्लेख छ । यस्तै नर्स तथा मिड्वाइफ्री कार्यक्षेत्र अनुकूल वातावरण बनाउन आवश्यक व्यवस्था गर्ने, कार्यक्षेत्रमा उचित सुरक्षा व्यवस्था गर्ने, दुर्गम क्षेत्रमा कार्यरत न्यूनतम ७५ प्रतिशत जनशक्तिलाई आवासको व्यवस्था गर्ने कार्यलाई रणनीतिमा निरन्तरता दिने भनिएको छ । 

यस्तै, कार्यरत नर्स र मिड्वाइफ्रीहरुलाई रात्रिकालीन सेवा भत्ता, जोखिम भत्ता, सार्वजनिक बिदा भत्ता, दुर्गम भत्ता तथा बीमाको व्यवस्थालाई निरन्तरता दिने, नर्सिङ तथा मिड्वाइफ्री जनशक्तिको मनोबल उच्च बनाउन वृत्ति विकासको व्यवस्था  गर्ने कार्यलाई निरन्तरता दिने उल्लेख छ । साथै, कार्यसम्पादनका आधारमा उचित मूल्याङ्कन गरी सेवाकालीन तालिम अनुसन्धानको अवसर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी तथा पुरस्कार जस्ता प्रोत्साहनको व्यवस्था गर्ने समेत उल्लेख छ ।

०७७/७८ देखि ०८७/८८ साल सम्मका लागि सुरक्षा महाशाखाले रणनीतिमा  हाल अनमी  पदमा कार्यरत र न्यूनतम कार्य अनुभव भएका अनमीहरुलाई पूर्ण छात्रवृत्ति दिई प्रतिस्पर्धामा समावेश गराई एक तह माथिको उच्च शिक्षा अध्ययन नर्सिङ मिड्वाइफ्री  गराउने कार्यलाई निरन्तरता दिने भनिएको छ । र प्रवीणता प्रमाणपत्र तह र सो भन्दा माथि नर्सिङ शिक्षा हासिल गरेका अनमी पदमा कार्र्यरत जनशक्तिहरुलाई आन्तरिक प्रतिस्पर्धा गराई स्टाफ नर्समा पदस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ ।

०७८/७९ मा नर्सिङ तथा मिड्वाइफ्री सेवाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक मापदण्ड तर्जुमा गरी निरन्तरता दिने रणनीति छ । ०७९/८० देखि नर्सिङ तथा मिड्वाइफ्री सीप परीक्षणपश्चात प्राप्त परिणामको आधारमा कोचिङ र मेन्टरिङ कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने दश वर्षीय रणनीतिमा उल्लेख छ । 

आर्थिक वर्ष २०७८/७९ मातृ तथा नवशिशु स्वास्थ्य ज्येष्ठ नागरिक, वातावरणीय स्वास्थ्य आदिको व्यवस्थापन गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्थापन गर्ने,  स्थानीय तहको प्रत्येक वडामा मातृ तथा  शिशु स्वास्थ्य स्याहार, पोषण, मानसिक, स्वास्थ्य, ज्येष्ठ नागरिक, वातावरणीय स्वास्थ्य, सरसफाइ पूर्ण रूपमा प्रदान गर्न एक जना सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्थापन गरिने रणनीतिमा उल्लेख छ । यस्तै, विद्यालय नर्सको क्षमता अभिवृद्धिको लागि तालिम प्याकेज तयार पार्ने, ०८०/८३ सम्म विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमको मूल्याङ्कन गर्ने र प्रतिवेदन तयार गरिने उल्लेख छ ।  

०८०/८१ सालमा विशेषज्ञ तथा विशिष्टीकृत अभिवृद्धि  विशेषज्ञ तथा नर्सिङ सेवाको विकास र व्यवस्थापन गर्ने रणनीतिमा उल्लेख छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नर्सिङ तथा मिड्वाइफ्री शिक्षा प्रणालीको सुदृढीकरण गुणस्तर अभिवृद्धि अबको दुई वर्षभित्र सुरु गरी सम्पन्न गर्ने भनिएको छ । यस्तै, सबै शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार तोकिएको मापदण्डअनुसार भएको सुनिश्चित गर्ने रणनीति बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप