बाँकेमा ब्याज तथा अनुदान रकम वितरण
यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् ।
बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुपियाँ ब्याज अनुदान वितरण गरीएको हो ।
युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट सहकारी मार्फत युवाहरुलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिशत स्वरोजगार कोषले फिर्ता गर्ने नीति अनुरुप ब्याज रकम फिर्ता गरिएको हो । कोषको अध्यक्ष समेत रहेका मन्त्री अथकले गृहजिल्ला (बाँके) बाट ब्याज रकम फिर्ता अभियान सुरु गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अथकले युवा तथा महिलाहरुलाई स्वरोजगार बन्न आग्रह गरे । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषमार्फत देशभरीका करीव ८१ हजार युवाहरु स्वरोजगार भएको उल्लेख गर्दै मन्त्री अथकले रोजगारसँगसँगै स्वरोजगारको उपाय अवलम्वन गर्न आग्रह गरे ।