सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बहिनी चालक, दिदी सहचालक

बिहीबार, १७ चैत २०७८, ०६ : २०
बिहीबार, १७ चैत २०७८

कपिलवस्तुको वाणगंगा नगरपालिका–८, वनगाई बस्ने ४१ वर्षकी निमा सारुले बुटवल–कपिलवस्तु रुटमा विङ्गर (माइक्रो बस) चलाउन थालेको ६ वर्ष भयो । दुई छोरी र एक छोराकी आमा निमाले सुरुमा गाडी चालक बन्ने सपना देखेकी थिइनन् । व्यावसायिक रूपमा चालक नबने पनि गाडीको लाइसेन्स लिएकी उनी पतिको हौसलाबाट व्यावसायिक चालक बन्न सफल भइन् ।

त्यतिमात्र होइन, उनलाई पतिले लगानी गरेर लु१ज २४१२ नम्बरको विङ्गर किनिदिए । उनका पति पेसाले इलेक्ट्रिसियन भएकाले गाडीको सबै जिम्मेवारी निमाले नै सम्हाल्नुपर्ने भयो । झन्डै २६ लाख रुपैयाँमा खरिद गरेको गाडीको आम्दानी हेर्ने र बैंकको किस्ता तिर्ने जिम्मा निमाले नै लिइन् ।

आम्दानीको अवस्था हेर्नका लागि सुरुमा उनी आफ्नै विङ्गरमा सहचालक अर्थात् खलासी काम गर्न थालिन् । तीन महिनापछि ड्राइभर भागेपछि उनलाई आपत प¥यो । ‘गाडी लाइनमा खासै मान्छे नचिनेकी अनि लाखौँ रुपैयाँ हालेर किनेको गाडी घरमा यत्तिकै राख्न पनि मिलेन,’ उनले भनिन्, ‘लाइसेन्स छँदै थियो, अनि आफैले गाडी चलाउन थालेँ ।’

तर समस्या यतिमै सीमित रहेन । उनलाई फेरि सहचालक चाहियो । अनि आफ्नै दिदी शान्ताले सहचालक बनेर उनलाई सहयोग गरिन् । बहिनी चालक र दिदी सहचालक बनेर उनीहरुले नयाँ यात्रा सुरु गरे । त्यो यात्रा अहिले पनि जारी छ ।

२०५३ सालमा अर्घाखाँचीको बलकोटमा दुवै दिदीबहिनीले सँगै एसएलसी दिएका थिए । बहिनी पास भइन् भने दिदी उत्तिर्ण हुन सकिनन् । संयोगले दुवै दिदीबहिनीको बिहे एउटै गाउँमा भएको हो ।

शान्ताका श्रीमान् भारतमा जागिर गर्दछन् । उताबाट राम्रो सहयोग पाएको उनी बताउँछिन् । उनले भनिन्, ‘घरमा त्यतिकै बस्नुभन्दा दिदीबहिनी मिलेर काम गर्न थाल्यौँ ।’ एकातिर घर खर्च चलाउन मद्दत पुग्ने र अर्कोतिर व्यस्त पनि भइने हुनाले सहचालकको काम गरेको उनको भनाइ छ ।

निमाका अनुसार सुरुमा महिलाले चलाएको गाडी भनेर यात्री चढ्न मान्दैनथे । ‘यतातिर महिलाले सार्वजनिक गाडी चलाएका छैनन्,’ उनले भनिन्, ‘महिलाले पनि राम्रोसँग गाडी चलाउन सक्दैनन् भन्ने पुरानो धारणा गाउँघरतिर कायम रहेकाले सुरुमा गाह्रो भयो ।’

पछि विस्तारै यात्रीहरुको पनि विश्वास जित्दै गएको उनले सुनाइन् । अहिले त तिनै यात्रीले महिला चालक भए पनि पुरुषभन्दा कम नरहेको बताउने गरेको उनको भनाइ छ ।

अहिले दुवै दिदीबहिनी बिहान ६ बजेतिर उठ्छन् । अनि गाडी निकालेर आफ्नै दैनिकी सुरु गर्दछन् । साँझ ८–९ बजेसम्म उनीहरू सडकमै हुन्छन् । दैनिक निश्चित रुटमा कम्तीमा ३ ट्रिप चलाउनुपर्छ । तर रुट कहिले कहाँ, कहिले कहाँ पर्छ ।

आफूले केही काम गरेपछि घर, परिवार र समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुने उनीहरूको अनुभव छ । ​निमालाई यो पेसाका कारणले विभिन्न संघ–संस्थाले सम्मान पनि गरेका छन् । त्यसबाट आफ्नो हौसला बढेको उनले बताइन् ।

बुटवल यातायात प्रालिमा आबद्ध उनको गाडीले कहिले चन्द्रौटा, कहिले आफ्नै गाउँ वनगाई, कहिले सुनौली, कहिले गोरुसिङ्गे जस्ता ठाउँमा दैनिक सेवा दिने गरेको छ । सहचालकका रूपमा वर्षौँदेखि बहिनीलाई साथ दिएकी शान्ताले यात्रुसँग पैसा उठाउने, यात्रुलाई बस्नका लागि सिट मिलाउने काम गर्दछिन् । शान्ता भन्छिन्, ‘काम गर्न कुनै अप्ठ्यारो छैन । आफ्नै बहिनीसँग काम गर्दा अनावश्यक दबाब पनि नहुने भएकाले गाडी लाइनतिर लागियो ।’

निमाले विङ्गर किन्न बैंकबाट लिएको ऋणसमेत तिरिसकेकी छन् । उनका अनुसार अहिले दैनिक ३ ट्रिपमा ७ हजार जति रकम जम्मा हुन्छ । त्यसमा खर्च कटाएर ३ हजार जति बच्ने उनले बताइन् ।

उनी सहचालकको काम गर्दै आएकी दिदी शान्तालाई दैनिक एक हजार रुपैयाँ भत्ता दिने गर्दछिन् । ‘आफ्नै दिदीलाई पनि भत्ता ?’ भन्ने रातोपाटीको प्रश्नमा उनले मुसुक्क हाँस्दै भनिन्, ‘दिनु परेन त ! दिदी छुट्टै बस्नुहुन्छ, उहाँका पनि बच्चाहरू छन् अनि दैनिक खर्च चलाउनु पर्छ, त्यसका लागि दैनिक एक हजार रुपैयाँ दिने गरेकी छु ।’

सम्मानित हुने दिन नै यात्रीसँग झगडा

सिद्धार्थ सृजनशील सामाजिक विकास केन्द्रले निमालाई गाउँमा सम्मान गर्ने कार्यक्रम राखेको थियो । दिउँसो १२ बजे राखिएको कार्यक्रममा आइपुग्न आयोजकबाट पटक पटक उनलाई फोन आयो, जतिबेला उनी बुटवलबाट यात्रु लगेर जाँदै थिइन् । समय नपुगेपछि यात्रुलाई अर्को गाडीमा राखेर आफू सम्मान   ग्रहण गर्न कपिलवस्तुको ४ नम्बर झर्न खोजिन् । तर यात्रुले मान्दै मानेनन् । त्यतिबेला कुरै नबुझेर यात्रुहरु झगडा गर्न आउँदा आफूलाई दुःख लागेको उनले सुनाइन् । त्यही ठाउँमा एउटा पुरुष चालक भएको भए सायद त्यसरी यात्रुले झगडा गर्दैनथे कि भन्ने उनको भनाइ छ ।

यद्यपि आफ्नो पेसाप्रति सन्तुष्टि नै रहेको उनले बताइन् । महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लागेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप