आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कलैया उपमहानगर : ठूला पार्टीका जिल्ला अध्यक्ष नै मेयरका आंकाक्षी

उपमहानगरमा तीन दलबीच कडा प्रतिस्पर्धा, टिकट र मतका लागि दौडधुप शुरु
शुक्रबार, १८ चैत २०७८, १२ : १०
शुक्रबार, १८ चैत २०७८

 
-पवन यादव/शारदा पोखरेल

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति निर्धारण गरेपछि बाराको कलैया उपमहानगरपालिकासहित जिल्लाका १६ वटै पालिकाका प्रमुख पदका आकांक्षीहरु टिकटका लागि दौडधुपमा छन् । उनीहरुले पार्टीमा गरेको योगदान र बितेको निर्वाचनमा आफूले प्राप्त गरेको मतलाई आधार मानेर टिकटका लागि कसरत गर्न थालेका हुन् ।

कलैया उपमहानगरपालिकाको मेयरमा अहिलेसम्म कुनै पनि दलले उम्मेदवारलाई अघि सारेको देखिँदैन । तर, बितेको निर्वाचनमा बलियो प्रतिस्पर्धीको रुपमा देखा परेका उम्मेदवारलाई नै एमाले, जनता समाजवादी पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टीले अघि सार्ने संकेत देखिएको सम्बन्धित दलका स्थानीय अगुवा कार्यकर्ता बताउँछन् ।

बारा निर्वाचन क्षेत्र नं. ३ मा पहिलादेखि नै नेपाली काँग्रेस बलियो देखिएको छ । मधेस आन्दोलनको बेला जनताले ठूलो भरोसा देखाएका मधेसवादी दलहरु टुक्राटुक्रा भएर कमजोर बनेको अवस्थामा कलैया उपमहानगरपालिकामा एमाले बलियो बन्दै गएको राजनीतिका जानकार एवं पूर्वपत्रकार उमेशलाल दासले रातोपाटीलाई बताए ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कठोर एवम् मधेस विरोधी भाषणबाट असन्तुष्ट बनेकाहरुले पनि अहिले पुरानो कुरा बिर्सेको अवस्था छ,’ उनले भने, ‘मधेसी दलहरुले आफ्नो पकडलाई कायम राख्न नसक्दा एमालेलाई आफ्नो फिल्ड बनाउन सहज बनेको छ ।’

गाउँगाउँमा पहिलादेखि नै एमालेको संगठन सक्रिय छ । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी कलैया उपमहानगरपालिकामा तुलनात्मक रुपमा कमजोर रहे पनि यो दलले नेकपा एमालेको भोट काट्ने निश्चित रहेकाले एमालेलाई ठूलो चुनौती पुग्ने दासको बुझाइ छ ।

उता नेपाली काँग्रेसका नेता एवं मेयर राजेश राय यादव भने एमाले बलियो भएको अस्वीकार गर्छन् । काँग्रेसले कलैयामा एक्लै चुनाव जित्ने यादवको दाबी छ ।  पहिलादेखि नै राम्रो पकड रहेको नेपाली काँग्रेस, एमाले र जनता समाजवादी पार्टीबीच नै कलैया उपमहानगरपालिकामा प्रतिस्पर्धा हुने देखिएको छ । यी तीन दलका उम्मेदवारमध्येबाटै मेयरमा निर्वाचित हुने अड्कलबाजी भइरहेको छ ।

कलैयामा कुन–कुन दलबीच चुनावी तालमेल हुने हो भन्ने विषयले पनि मत परिणाम निर्धारण गर्न सक्छ । स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी बीच गठबन्धन गर्ने मौखिक सहमति भइसकेको जसपाका नेता एवं मेयरका आकांक्षी प्रमोद गुप्ताले जानकारी दिए । उता माओवादी नेता मुकेश साह चाहिँ नेपाली काँग्रेस बाहेकको गठबन्धन बनाउन इच्छुक देखिएका छन् ।

नेपाली काँग्रेस र एमालेका जिल्ला सभापतिहरुले कलैयामा गठबन्धनबारे अहिलेसम्म कुनै तयारी नभएको जानकारी दिएका छन् । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै मेयरका आकांक्षीहरु घरदैलो तथा चुनावी गतिविधिमा केन्द्रित भएपछि चुनावी माहौल तात्न थालेको छ । 

ठूला पार्टीका जिल्ला अध्यक्ष नै मेयरका आंकाक्षी  
स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकामा जिल्लाका दुई ठूला पार्टीका अध्यक्षहरु नै प्रमुख पदका लागि आंकाक्षी देखिएका छन् । नगरप्रमुख तथा कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव र एमालेका जिल्ला अध्यक्ष बिनोद साह नगरप्रमुख पदका लागि पुनः आकांक्षी बनेका छन् । 

यसअघिको निर्वाचनमा कलैयामा तेस्रो शक्तिका रुपमा संघीय समाजवादी फोरम र चौथोमा माओवादी केन्द्र रहेको थियो । एमालेसँग १६३ मतमन्तरले बिजयी बनेका  यादव र एमालेका साह दुवैले पुनः उम्मेदवारीका लागि पार्टीभित्र लविङ गरिरहेका छन् ।  

आगामी चुनावमा उपमहानगरको प्रमुख पदमा कांग्रेस, एमाले, माओवादीबाट पुरानै उम्मेदरहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसबाट वर्तमान मेयर राजेश राय यादव, एमालेका पूर्व उम्मदेवार विनोद साह र माओवादी केन्द्रका तर्फबाट पुरानै उम्मदेवार एवं कलैया उपमहानगर कमिटीका अध्यक्ष मुकेश साहले नै पुनः उम्मेद्वारी दावी गरेका छन् ।

मेयर राजेश यादव भन्छन्– काँग्रेसले एक्लै जित्छ 
नेपाली काँग्रेसका बारा जिल्ला सभापति समेत रहेका कलैयाका मेयर राजेश राय यादवले अगामी निर्वाचनका लागि पार्टीले टिकट दिए आफूले पुनः उम्मेदवारी दिने रातोपाटीलाई बताए । ‘अहिलेको परिस्थितिमा नेपाली कांग्रेसले कलैया उपमहानगरमा गठबन्धन नै नगरे पनि दुई तिहाई भन्दा बढी मत ल्याउँछ’ मेयर साहले भने, ‘नगरप्रमुख कांग्रेसले नै जित्छ ।

नेपाली काँग्रेसका बारा जिल्ला सभापतिसमेत रहेका मेयर साहले रातोपाटीसँग भने, ‘पार्टीभित्र म लड्छु भनेर मैले भन्न मिल्दैन तर पार्टीले जिम्मेवारी दियो भने पुनः एकपटक उम्मेदरीका लागि आंकाक्षी छु ।’
कलैया उपमहानगरपालिकाको मेयरमा निर्वाचित नेपाली काँग्रेसका राजेश राय यादव यसपालि पार्टीको जिल्ला सभापतिमा समेत निर्वाचित भएका छन् । उनी मेयरमै अर्को कार्यकाल दोहो¥याउने योजनामा छन् । यद्यपि, उनी अहिलेसम्म खुलेर आउन सकेका छैनन् । मेयरमा लड्ने, नलड्नेबारे उनी मौन बसेका छन् ।

पार्टी र मतदाताले दिएको सल्लाह सुझाव अनुसार आफूले उम्मेदवारीबारे निर्णय लिने उनले बताए । यादवसहित नेपाली काँग्रेसको टिकटमा पुराना काँग्रेसी नेता रामानन्द यादव र पूर्वखेलाडीसमेत रहेका फुलमहम्मद मियाले पनि मेयरमा उम्मेदवारी दिने आकांक्षा राखेका छन् ।

एमाले अध्यक्ष विनोद साह भन्छन्– यसपालि सजिलै जितिन्छ 
अघिल्लो निर्वाचनमा मेयरमा १८३ मत अन्तरले पराजित भएका एमाले उम्मेदवार विनोद साह यस वर्ष पनि मेयरमै चुनाव लड्ने चाहना रहेको बताउँछन् । तर अहिलेसम्म पार्टीले मेयरको टुंगो लगाउन नसकेको उनले बताए ।
‘सांसदको टिकट छोडेर जनचाहना बमोजिम मेयरमा लडेको थिएँ,’ उनले भने, ‘यसपालि पार्टीले के गर्छ, टुंगो लागिसकेको छैन ।’ पार्टीले आफूलाई जे जिम्मेवारी दिन्छ, त्यसलाई स्वीकारेर अघि बढ्ने उनले रातोपाटीलाई बताए ।
एमाले बाराको अध्यक्षको जिम्मेवारी समेत पाएका साहले मेयरको टिकट आफ्नै पोल्टामा पर्ने संकेत गरेका छन् । आफूलाई मेयरका लागि बलियो उम्मेदवारका रुपमा दाबी गरिरहेका साहले यसपालि एमालेमा विभिन्न दल परित्याग गरेर प्रवेश गर्नेहरुको लहर चलेका कारण पनि एमालेकै जित सुनिश्चित रहेको बताए ।

पार्टीले उम्मेदवारको टुंगो नलगाए पनि उनी अहिलेदेखि नै गाउँगाउँमा पार्टी संगठनमा रहेका अगुवा नेता कार्यकर्तालाई सक्रिय बनाउन दौडधुप गरिरहेका छन् । आ–आफ्नो दलबाट मेयरको उम्मेदवारको टिकट नपाउँदै आकांक्षीहरु चुनावी प्रचारप्रसार र मतदाता रिझाउन सक्रिय देखिएका छन् । साहसहित एमालेबाट क्लामोदिन अन्सारी (मदनी) पनि यसपालि मेयरको टिकट आफूले पाउनु पर्ने दाबी गर्दै कसरत गरिरहेका छन् ।
एमाले जिल्ला अध्यक्ष साहले भने २०७४ को निर्वाचनमा १६३ मतले मात्रै हारेकाले यसपटक जिम्मेवारी पाए आफूले जित्ने दाबी गरे । ‘यसपटक एमालेभित्र लहरै लहर छ, कलैयामा पार्टी फुटेको कुनै असर छैन, कांग्रेस, माओवादी मिलेर आए पनि केही फरक पर्दैन, हामी चुनाव जित्छौँ’ एमाले अध्यक्ष साहले रातोपाटीसँग भने ‘कलैयामा कांग्रेसले विकास केही गरेको छैन, भ्रष्टाचारमा देशभरमा दोस्रो नम्बरमा परेको छ, लोकप्रिय तथा ऐतिहासिक विकास पनि केही छैन ।’
माओवादीका नेता मुकेश भन्छन्– यसपालि मैले जित्छु 
कलैया उपमहानगरमा ०७४ को चुनावमा चौथो शक्तिका रुपमा रहेको माओवादी केन्द्रका तर्फबाट पनि पुरानै उम्मेदवार मुकेश साह मेयरका आंकाक्षी देखिएका छन् । कलैया नगर कमिटी अध्यक्ष समेत रहेका साहले माओवादी विगतमा चौथो शक्तिका रुपमा भए पनि यसपालि आफ्नो पार्टीले जित्ने दाबी गरे ।

माओवादी नेता साहले कलैयामा नेपाली काँग्रेससँग गठबन्धन गर्न अरुची प्रकट गरे । ‘कलैयामा माओवादी चौथो शक्ति भए पनि जनतामा यो उम्मेदवार हो भनेपछि जित्नेगरी प्रभाव पारेको छु’ साहले भने ‘माथिबाट गठबन्धन भएर आयो भने पनि यहाँ कांग्रेससँग गठबन्धन हुन सक्छ तर तलबाट हामीले गठबन्धन गर्नुपर्यो भने कांग्रेस बाहेकको गठबन्धन हुन्छ, कांग्रेससँग गठबन्धन हुँदैन’ ।
अगामी निर्वाचनमा गठबन्धन गर्ने÷नगर्ने विषयमा केन्द्रमा निर्णय नभएकाले पनि कलैयामा गठबन्धनबारे अन्योल देखिएको साहको भनाइबाट स्पष्ट हुन्छ । ‘यहाँ जसपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन हुन सक्छ, तर यहाँ कांग्रेसको कार्यशैली खराब भएका कारणले गठबन्धन हुँदैन उपमहानगरपालिकामा भष्टाचार पनि  व्यापक  भएको छ,’ साहले रातोपाटीसँग भने । 

मधेसवादी दलको बेग्लै सक्रियता
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ९ हजार ४०४ मत प्राप्त गरी तेस्रो स्थानमा पुगेका जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता निकट नपाउँदै चुनावी प्रचार प्रसारमा जुटेका छन् । मेयरका लागि पार्टीले आफूलाई नै टिकट उपलब्ध गराउने विश्वासका साथ उनी चुनावी प्रचार प्रसारमा जुटेका हुन् ।

जयप्रकाश साह र प्रमोद गुप्ता

पहिलो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. ३ बाट तत्कालीन मधेसी जनअधिकार फोरमको टिकटमा गुप्ता सभासदमा निर्वाचित भएका थिए । गुप्तासहित जसपाबाट जिल्ला समन्वय समितिका उपसभापति समेत रहेका पवन ब्याहुत, धमेन्द्र यादव, शिवनाथ पटेलले मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।
विगतमा नगरमा कमजोर देखिएको लोकतान्त्रिक समाजवादी पार्टीबाट जयप्रकाश साहले मेयरमा टिकट पाउने पक्का भएसँगै उनी पनि चुनावी प्रचार प्रसारमा जुटेका छन् । २०७४ को निर्वाचनमा उम्मेदवारी दिएका साहले ३ हजार १२२ मत प्राप्त गरेका थिए ।

विगतको चुनावमा ४ हजार ३७१ मत प्राप्त गरेका माओवादी केन्द्रका नेता मुकेश साह यसपालि पनि पार्टीको एक्लो उम्मेदवारका रुपमा छन् । उनी पनि मतदातालाई रिझाउन पार्टीका नेता कार्यकर्तासहित टोलटोल पुग्न थालेका छन् ।

२०७४ को निर्वाचनमा कसको मत कति ?
२०७४ को कलैया उपमहानगरको निर्वाचनमा १६ राजनीतिक दल सहभागी  थिए । जसमध्ये नेपाली कांग्रेसले १० हजार ८७९ मत पाएको थियो भने नेकपा एमालेले १० हजार ७१६ मत पाएको थियो ।
त्यस्तै, कलैया उपमहानगरपालिकाको मेयर पदमा संघीय समाजवादी फोरम (उप्रेन्द्र यादव समूह) ले ९ हजार २७ मत पाएका थियो भने नेकपा माओवादी केन्द्रले ४ हजार १ सय  ७१ मत  पाएको थियो । पाँचौंमा स्थानमा रहेको राजपाले २ हजार ९३२ मत ल्याएको थियो । अन्य ५ वटा साना दलको मत छिटफुट मात्रै आएको थियो ।

 कलैया उपमहानगरपालिकाको धुलाम्य सडक

कुल २७ वडाहरु रहेको कलैया उपमहानगरमा एमाले ८ स्थानमा जितेको थियो भने कांग्रेस र संघीय समाजवादी फोरमले ६÷६ वटा वडाहरु जितेका थिए । माओवादीले ३, राजपाले २ र स्वतन्त्र उम्मेदवारले २ वटा वडाहरु जितेका थिए ।

विगतको निर्वाचनमा उपमहानगरको प्रमुख पदमा कांग्रेस अगाडि भए पनि वडागत संरचनामा संख्यात्मक रुपमा एमाले शीर्षस्थानमा देखिएको थियो । कलैया उपमहानगरपालिकामा मधेसवादी दल तेस्रो शक्तिका रुपमा रहेका थिए ।


(अपडेट गरिएको)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप