सुर्खेत उद्योग वाणिज्य संघको चुनाव तत्काल नगर्न उच्च अदालतको आदेश
सदस्यता खारेजीको विषयलाई लिएर विवाद बनेको सुर्खेत उद्योग वाणिज्य संघको चुनाव तत्काल नगर्न उच्च अदालतले आदेश जारी गरेको छ । दुई पक्षबीच विवाद कायम रहेकाले दुबै पक्षलाई मिलाएर जाँदा उचित हुने भन्दै तत्काल चुनाव नगर्न अल्पकालिन आदेश दिएको हो ।
संघमा काँग्रेस दुईवटा समुहमा विभाजित भएको छ । जसमा संस्थापन इत्तर मानिएका वर्तमान अध्यक्ष धनबहादुर रावत समुहले यही चैत्र २६ गते चुनाव गर्ने तयारी गरेको थियो भने संस्थापन पक्षधर मानिएका हर्ष विक्रम खड्का पक्षले खारेजी भएका सदस्यता नवीकरण गरिनुपर्ने माग गर्दै आएको छ । विवादकै बीचमा एक पक्षले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै सुरेन्द्रकुमार मल्लले संघको निर्वाचन रोकी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा बिहीबार रिट दायर गरेका थिए ।
अदालतले मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म तत्कालका लागि निर्वाचन कार्यतालिका रोकेको हो । अदालतका कायममुकाय मुख्य न्यायाधीश शेषराज सिवाकोटीको एकल ईजलासले दुवै पक्षको भनाई सुनी निष्कर्षमा पुग्नु पर्ने बताएको छ ।