सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रो एक्स्पोमा जलविद्युत प्रवर्द्धनबारे बहुआयामिक छलफल हुने

शुक्रबार, १८ चैत २०७८, २० : ०८
शुक्रबार, १८ चैत २०७८

शनिबारदेखि काठमाडौंमा शुरू हुने ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ मा जलविद्युत प्रवर्द्धनबारे बहुआयामिक छलफल हुने भएको छ । ३ दिनसम्म चल्ने एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा शनिबार बिहान ११:३० बजे एक्स्पो उद्‍घाटन गर्नेछिन्‌ । 

एक्स्पोको उद्घाटन पूर्व वृहत विद्युतीय सवारी र्‍याली पनि आयोजना हुनेछ । भृकुटीमण्डपबाट शनिबार बिहान ७ बजे शुरू हुने र्‍याली फर्पिङ जलविद्युत् गृह पुगेर फर्कनेछ । देशकै सबैभन्दा ठूलो भनिएको हाइड्रो एक्स्पोमा विभिन्न विषयबस्तुबारे तीनै दिन विभिन्न सत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरूबीचमा छलफल  हुने आयोजकले जानकारी दिएको हो ।

आयोजकका अनुसार पहिलो दिन शनिबार जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत बजारीकरण तथा यसका समस्या र हरित हाइड्रोजनका विषयमा छलफल हुनेछ । प्रविधिसम्बन्धी सत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दीक्षितले हाइड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतमा प्रस्तुति दिनेछन्‌ ।

डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनबारे बोल्नेछन्‌ । सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युत राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उपलब्ध नविन प्रविधिबारे चर्चा गर्नेछन्‌ । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाइ कमिशन इण्डियाका वरिष्ठ ऊर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ । 

दोस्रो दिन चैत २० गते आईतबार जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुनेछ । सोही दिन नै दोस्रो सत्रमा विद्युतीय सवारीसाधन तथा विद्युतीय भान्साको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे विज्ञहरूले छलफल गर्नेछन् । सो सत्रमा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी र नेपाल विद्युत् प्राधिकरणका सागरमणि ज्ञवाली लगायत सहभागी हुने बताइएको छ ।  तेस्रो सत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरक्रिया गर्ने तय गरिएको आयोजकले जनाएको छ । उक्त सेसनमा नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायत उक्त सेसनमा सहभागी हुनेछन्‌ ।

तेस्रो दिन चैत २१ गते सोमबार दुईवटा सत्र तय गरिएको छ । पहिलो सत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् । सो सत्रमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाइड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी हुने तय भएको छ । अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलश्रोत सिँचाइमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो सत्रमा  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनेछन्‌ । 

‘नेपाली जलविद्युतको बजार प्रवर्द्धन’ नारासाथ आयोजना गर्न लागिएको हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजकको छ ।  एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरू लगायत १०० भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा विदेशी स्टलसमेत छन्‌।

​एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरूको सहभागिता रहने इप्पानले जानकारी दिएको छ । यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोपावरमा रोबोटर्सको भूमिका विशेष आकर्षणका रूपमा प्रस्तुत गरिँदैछ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकर्न २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप