मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा : समयको खेल

शनिबार, १९ चैत २०७८, ०७ : १७
शनिबार, १९ चैत २०७८

शिक्षण पेशामा रहेका काका आफ्नी श्रीमतीलाई भन्छन्– “सुन्यो ! आज गाउँबाट आमा भेट गर्न आउँदैछु भन्ने खबर पठाउनु भएको छ । धेरै दिन भैसक्यो नातिलाई देख्न नपाएको, तिमीहरुसँग भेट नभएको पनि वर्ष दिन पुगिरा’छ भन्दै हुनुहुन्थ्यो ।”

“बिना कामको खै ! किन आउँदैछिन् यी बूढी माउ पनि यहाँ । म त खाना–साना केही पकाउनेवाला छैन है, भन्द्या छु । भरे बेलुका पनि साथीकहाँ पार्टीमा जानु छ । आएपछि यही उब्रेको खालिन् ।” उनकी श्रीमती ठुस्किन्छिन् ।

मास्टरकी आमै छोराको शहरको घर पुग्दासम्म उनकी बुहारी अफिस गइसकेकी हुन्छन् भने नाति शिशु स्याहार केन्द्र पढ्न गइसकेको हुन्छ । 

.......

आमा आइ पुगेपछि काका पनि आफ्नो अफिसतिर सोझिदैं भन्छन्– “आमा ! अलिकति उब्रेको भात छ, त्यै खानु होला । अनि टिभी अन गरिदिन्छु, दिनभरी टिभी हेरेर बस्नुहोला । भोक लागे भान्सामा केही पकाएर खानु होला । (घडी हेर्दै) हत्तेरिका, आज हजुरले गर्दा मेरो अफिस पनि ढिलो भो ल, म गएँ ।”

तीन दिन बितिसकेको हुन्छ, बज्यै दिनभरी घरमा एक्लै हुन्छिन् । दिउँसो आफ्नो लागि आफै खाजा पकाउँछिन् । छोरा बुहारीसँग एकछिन पनि बसेर राम्ररी कुरा गर्ने मेलोमेसो जुरेको हुँदैन । न त सँगै एक छाक खाना खान नै नसिब हुन्छ । कहिले छोरा, बुहारी बिहानै नाति लिएर अफिस गइ सक्छन्, कहिले बेलुका पार्टीबाट ज्यूनार गरेर आएको भन्छन् । लगभग ३ वर्षको नाति दिनभरी स्याहार केन्द्रमा बसेर घर आउँदा बज्यैसँग एकैछिन खेल्दाखेल्दै निदाउँछ । बिउँझिंदा टिभी हेर्न थाल्छ । त्यसकारण बज्यै आफ्नो नातिसँग पनि धित मरुञ्जेल खेल्न र कुरा गर्न पाउँदिनन् । 

गाउँबाट आएको तेस्रो रात बज्यैलाई पटक्कै निद्रा पर्दैन । यताउता सम्झेर उनको आँखा रसाई रहन्छ । त्यसैबेला भित्तामा टाँगेको ठूलो घडीले रातको ११ बजेको संकेत गर्छ । बज्यैले कति बज्यो भनी अनुमान गर्न नसके पनि घडीको घण्टी सुनेर मनमनै भन्छिन्– “यो घडीको जति ठूलो स्वर छ, त्यति नै धेरै समय दिए त हुन्थ्यो नि । कमसेकम मेरो छोरा बुहारीसँग अलि बढी समय त हुन्थ्यो । अनि त मसँग आफ्नो दुःख, सुखका कुरा गर्थे र एकै छाक भए पनि सँगै खाना त खान्थे ।”

 धनगढी, कैलाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप