सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याईंन्छ : खानेपानी मन्त्री

शनिबार, १९ चैत २०७८, १५ : ४०
शनिबार, १९ चैत २०७८

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका छन् । बिहीवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने दाबी गरे ।

उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाए ।

अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख गरे ।  अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको भनाइ छ ।

उनले भने, ‘मेलम्ची खानेपानीको एक नम्बर गेटबाट पानी पठाउने काम भएको छ । १७ नम्बर गेट खुलेको छ । २१ नम्बर ९ नम्बर र ३८ नम्बर गेट पनि तयारी भएको छ । अहिले ९ नम्बर बन्ने तयारीमा छ । ९ नम्बर गेट बन्द हुने वित्तिकै सबै पानी छाड्छौं । १७ नम्बर गेट भित्र भएको लेदोहरु सफा हुन्छ । गेटहरु बन्द हुन्छ । पानीलाई पथान्तर गरेर काठमाडौंको सुन्दरीजलको १७ करोड ट्रिटमेन्ट पलान्टमा पठाउँछौं । १० दिनमा त्यो काम सकिन्छ । हाम्रा केही प्राविधिक कठिनाईहरु छन् । घोषणा गरेको समय अवधिभित्र नै हामी काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउछौं ।’ 

त्यस्तै, हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेल्मबु गाउँपालिकाको पनि दायित्व रहेको बताए । हेलम्बु गाउँपालिकाले काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने दायित्व पूरा गर्ने तर काठमाडौंवासीले शुल्क तिरेर पानी खाँदा हेलम्बुका जनतालाई २५ प्रतिशत हिस्सा पाउनुपर्ने माग समेत उनले राखे  । 

उनले भने, ‘अहिलेको सरकारले पानी पथान्तर गर्दा स्थानीय सरकार छ भन्ने कुरा सम्झेको छ । अघिल्लो सरकारले पानी काठमाडौं पुर्याउँदा समेत थाहा दिने गरेको थिएन । कम्तिमा पनि यस क्षेत्रको ठूलो विपत हुँदा वा पानी लग्दा जानकारी दिँदा राम्रो हुन्छ । स्थानीय सरकारको पनि दायित्व हो काठमाडौका जनतालाई पानी छिटोभन्दा छिटो खुवाउने । त्यसमा पनि हाम्रो केही स्वार्थ छ । बारम्बार सरकारलाई हामीले भनिरहेका छौं । मेलम्चीको पानी काठमाडौंका जनतालाई निशुल्क खुवाउने हो भने हामीलाई एक रुपैयाँ पनि चाँहिदैन । यदि काठमाडौंमा मेलम्चीको पानी लगेर बेच्ने हो भने बेचेको २५ प्रतिशत मेलम्चीका स्थानीय जनतालाई रोयल्टी चाहिन्छ ।’

त्यस्तै मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताए । उनले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको बताए । टर्नेल भित्रको लेदो माटो सफा गर्नका लागि सबै गेट खोल्ने तयारीमा रहेको कुँवरले जानकारी दिए । गेट खोलेर टर्नेल सफा गर्दै ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पुर्याउने योजनाअनुसार काम भइरहेको समेत उनले बताए ।

मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण सुरुङभित्र लेदो पसेको थिया ।  सुरुङमा पसेको लेदो हटाउन अझै दुई–तीन दिन लाग्ने भएको छ । १७ नम्बरको ढोका खोलिसकेकाले  सुरुङ्मार्ग सफाइको काम अगाडि बढाएको छ । मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँचवटा मुख्य गेट छन् । मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, ३८ १७ र २१ नम्बरका हुन् । यीमध्ये ३८ नम्बर गेट खुलिसकेको छ । बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप