मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : छोराछोरी र बा–आमा

आइतबार, २० चैत २०७८, ०९ : १२
आइतबार, २० चैत २०७८

एउटै बाटोमा 
छोरो कुकुर डोर्याउँदै हिँड्छ 
हामी लट्ठी समाउँदै हिँड्छौँ 
कहिलेकाहीँ त छोराले हात समाएर 
हिँडाइदियोस् अलिक परसम्म जस्तो लाग्छ
हामी बूढाबूढी भइसकेको बा आमाको हात 
समाउन कहाँ फुर्सद छ र उसलाई 
तर त्यही छोरो हो 
कुनै समय उसलाई हामीले 
यही बाटोमा हिँड्न सिकाएका थियौँ ।
समयसँगै उसले नाप्यो 
अलिकति शिक्षा,
अलिकति व्यापार 
तर उसको मस्तिष्कले कहिल्यै बुझेन 
माटो मर्दैन, 
मर्ने त बिरुवा हो । 
के पढेर आयो खै उसले विद्यालयमा ? 
मैले त उसलाई 
जमिन नपढ्नू,
जमिनको सुगन्ध पढ्नू भनेको थिएँ ।
उसले बुझेको दुनियाँलाई
हाम्रो बूढो मस्तिष्कले
फेरो समाउन सकेको छैन
हामी बूढाबूढीलाई आधुनिकता बुझ्ने 
मस्तिष्कमा सानो झ्याल चाहिएको छ । 
कवाडीमा नै फाले पनि 
सुनको महत्व र अस्तित्व 
कहिले पनि मेटिँदैन 
बैकुण्ठ नै गए पनि 
बा आमाको मन 
छोराछोरीको लागि फेरिदैन
हेर, 
आगोले खाए पनि 
श्रीखण्डको बास्ना धुवाँमा पनि उड्छ । 
हामी त बा आमा हौँ
मन्दिर पुरानो हुन सक्छ
तर भगवान् कहिल्यै पुरानो हुँदैनन् 
बाबू, आऊ हाम्रो हृदयमा 
तिम्रो आधुनिकताको चप्पल खोलेर । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप