सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देउवा–मोदीले उद्घाटन गरेको ‘रुपे’ के हो ? नेपालमा कसरी हुन्छ प्रयोग ?

आइतबार, २० चैत २०७८, १८ : ४१
आइतबार, २० चैत २०७८

भारत भ्रमण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा डिजिटल पेमेन्ट सिस्टम ‘रुपे’ उद्घाटन गरे । दिल्लीस्थित हैदरावाद हाउसमा पत्रकार सम्मेलनमार्फत औपचारिक उद्घाटन गरिएको सो डिजिटल पेमेन्ट सिस्टम नेपालमा समेत चल्ने बताइएको छ ।

डिजिटल युगमा आन्तरिकमात्र नभएर अन्तरदेशीय भुक्तानीलाई समेत सरल र सहज बनाउने उद्देश्यसहित दुई देशमा जहाँ पनि चल्ने गरी रुपे शुरुवात गरिएको दुवै देशका अधिकारीहरूले दाबी गरेका छन् । तर, भारतीय श्रम बजारमा समेत उल्लेख्य संख्यामा रहेका नेपालका आम नागरिकलाई भने ‘रुपे’बारे खासै जानकारी छैन । यो सामग्रीमा हामी ‘रुपे’ नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं ।

नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीआइसी) ले चल्तीमा ल्याएको ‘रुपे’ भिसा कार्ड तथा मास्टर्स कार्डजस्तै हो, जुन भारतीय रिजर्व बैंकको आफ्नै डिजिटल पेमेन्ट कार्ड हो । यो कार्ड अब भारतमा मात्र नभएर नेपालमा समेत चलाउन लागिएको हो । रुपे कार्ड बोक्ने जो–कोही भारतीयले नेपालको बैंकबाट र नेपालीले भारतको बैंकबाट सजिलै पैसा झिक्न सकिने बताइएको छ । तर, कसरी ?

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चाहिँ यस्तो अन्तरदेशीय भुक्तानी कार्ड ‘रुपे’ चलाउन त्यति सहज नभएको बताएको छ । दुई देशबीच सहज रूपमा चलाउने भनिए पनि त्यसका लागि नेटवर्किङ्ग र निश्चित सीमाका कारण समस्या रहेको यहाँको केन्द्रीय बैंकका अधिकारीहरूले बताएका हुन् । 

‘अन्य अन्तरराष्ट्रिय डिजिटल पेमेन्ट सिस्टम भिसा कार्ड, मास्टर्स कार्ड पोइन्ट अफ सेल (पीओएस कार्ड) जस्तै रुपे भएपनि पनि यसका निश्चित सीमा तथा दायराहरू छन् । रुपे बोक्नेले नेपालको जुनसुकै बैंकहरूबाट पैसा झिक्न पाउँछन् भन्ने छैन,’ नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका अधिकारी निश्चल अधिकारीले रातोपाटीसँग भने, ‘यसका लागि एनपीआइसीकै नेटवर्क भएका बैंकहरू चाहिन्छ । हाल नेपाल एनपीआइसीको नेटवर्क भएको बैंक भनेको एउटै मात्र एसबीआई बैंक हो । यो बाहेक अन्य बैंकहरूमा रुपे चल्दैन ।’

यस्तो भुक्तानी कार्डमा निश्चित सीमासम्म मात्र रकम झिक्न सकिने समेत अधिकारीले बताए । यो कार्ड भारतबाट लिन सकिने भएपनि नेपालबाट भने इस्यू नहुने उनले जानकारी दिए । ‘रुपेबाट एक दिनमा कति रकम झिक्न सकिन्छ–सो सीमासमेत निर्धारण गरिएको हुन्छ । व्यक्तिले चाहँदैमा बाहिरबाट जति पनि पैसा झिक्न सकिन्छ भन्ने छैन, त्यसको सीमा तोकिएको हुन्छ,’ अधिकारीले भने, ‘सुविधा चाहिँ पीओएस भुक्तानी प्रणालीमा आवद्ध सपिङ सेन्टर तथा होटलहरूमा पनि लागू हुन्छ ।’

फाइदा के ? 
खासगरी रुपेजस्ता डिजिटल पेमेन्ट सिस्टम अन्तदेशीय पर्यटन व्यवसायलाई सहजीकरण गर्नका लागि ल्याइएको हो । यस्तो सुविधाले नेपाल–भारत अन्तरदेशीय पर्यटन व्यवसायमा सहजीकरण गर्ने राष्ट्र बैंकका सहप्रवक्ता समेत रहेका भुक्तानी प्रणालीका जानकार नारायणप्रसाद पोखरेल बताउछन् ।
‘ठूला–ठूला रकम कारोबार गर्न वा व्यापार गर्न भनेर ‘रुपे’ शुरुवात गरिएको होइन । सीमित समयका लागि सीमित पैसा उपलब्ध देशमा झिक्न र खर्च गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो पेमेन्ट सिस्टम ल्याइएको हो । पछिल्लोपटक भारत सरकारले चलनचल्तीमा ल्याएको रुपेलाई नेपालमा समेत चलाउने भनिएको छ । यसको उद्धेश्य पर्यटन व्यवसाय सहजीकरण गर्नु नै हो । यसले भारतीय पर्यटक बढाउँछ भन्ने हो,’ पोखरेलले भने । 

हाल नेपालमा अन्य देशबाट भन्दा भारतबाट धेरै पर्यटक आइरहेका छन् । दक्षिणी छिमेकी मुलुकबाट वर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गर्छन् । ती पर्यटकलाई यहाँ पैसा झिक्न र खर्च गर्न सहज होस् भन्ने उद्देश्यले नै नेपालमा पनि रुपे चलाउन लागिएको पोखरेलको भनाइ छ । यसले नेपालमा भारतीय पर्यटन बढाउन थप सहज हुने उनको भनाइ छ । साथै, यस्तो भुक्तानीको सुविधाले भारती मुद्रा बढाउन समेत सहयोग पुग्ने उनले बताए । 

‘रुपे जस्तो रिले कार्ड नेपालमा प्रयोग हुँदा भारतीय मुद्रा भित्रिन्छ । यसले अन्तरराष्ट्रिय मुद्राका लागि अवश्य सहयोग पुग्छ । अहिले झैं हामीले अन्तरराष्ट्रिय व्यापारका लागि डलर साटेर भारु (भारतीय रुपियाँ) खरिद गर्नुपरिरहेको छ, रुपे बाट सीधै भारु नै प्राप्त गर्न सकियो थप सहज हुन्छ । यो फाइदाकै विषय हो,’ पोखरेलले रातोपाटीसँग भने ।

हाल नेपालमा अन्तरराष्ट्रिय भुक्तानीका अमेरिकी भिसा कार्ड, एसटीसी कार्ड र मास्टर्स कार्ड जस्ता डिजिटल कार्डहरू प्रयोगमा रहेपनि रुपे प्रयोगमा थिएन । भारतमा सन् २०१२ मा नै चलनचल्तीमा ल्याएको रुपेलाई पहिलोपटक नेपालमा पनि मान्यता दिइएको हो । भारतमा भने प्रायः सबै बैंकमा चल्ने रुपेमार्फत आर्थिक वर्ष २०१८÷१९ मा १७ बिलियन अमेरिकी डलर बराबरको भुक्तानी कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप