बानेश्वरमा युवकलाई खुकुरी प्रहार गरेका आरोपी एक महिनासम्म समातिएनन्
काठमाडौंको बानेश्वरमा युवकमाथि खुकुरी प्रहार भएको करिब एक महिना भएको छ । फागुन २६ मा अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए ।
तर, सो घटनामा संलग्न आरोपीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बोगटीको शरिरमा ४४ वटा टाँका लगाइएको थियो ।
बोगटी नेकपा एमाले निकट युवासंघमा आवद्ध छन् । पीडित परिवारले युवासंघमा नै आवद्ध अर्का युवाले खुकुरी हानेको दाबी गरेका छन् । युवकमाथि खुकुरी प्रहार गर्ने अरोपीको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
घटनास्थल महानगरीय प्रहरी वृत बानेश्वरको क्षेत्राधिकारमा पर्छ । तर, बानेश्वर वृत्तका डिएसपी मिमबहादुर लामाले सो घटनामा संलग्न आरोपी पक्राउ गर्न आनाकानी गरेको आरोप छ ।