आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरैपिच्छे पेट्रोलका ट्यांकर पार्किङ ! दुर्घटनाको डर

शुक्रबार, २५ चैत २०७८, ०७ : ०३
शुक्रबार, २५ चैत २०७८

 अति प्रज्वलनशील पदार्थ बोकेका पेट्रोलियम ट्ंयाकरहरु आयल निगम अमलेखगञ्ज डिपो आसपासको बस्तीमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

निगमको अम्लेखगञ्ज डिपो छेउका सडकपेटी र बस्ती छेउका घर आँगनमा प्रतिघर ३ देखि ४ वटासम्म ट्यांकरहरु पार्किङ हुने गरेका छन् । पेट्रोलियम पदार्थ बोकेका वा खाली दुवैखाले ट्ंयाकर अति प्रज्वलनशील भएकाले सानो आगोले झिल्कोले पनि ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।

यसअघि सडक छेउमा पार्किङ गरिराखेको ट्यांकरलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा अम्लेखगञ्जमा आगलागीको घटनासमेत भएको थियो । निगमभित्रै पनि गत साता तार सर्ट भएर आगलागी हुँदा अमलेखगञ्जका एक स्थानीयको ज्यानसमेत गएको थियो ।

बिराटनगर, भैरहवा, जनकपुर र पोखराबाट पेट्रोलियम पदार्थ लिन आउने ट्यांकर र बरौनीबाट पेट्रोल बोकेर आएका साधनहरु अमलेखगञ्जको सडक छेउ र बस्तीमै पार्किङ हुने गरेका छन् ।

लोड÷अपलोड हुने ट्यांकरका चालकध्ये आधाजसो अमलेखगञ्जकै स्थानीय छन् । स्थानीय ट्यांकर चालकहरुले साधनलाई आफ्नै आँगनमा जथाभावी पार्किङ्ग गर्दा दुर्घटनाको जोखिम बढेको बताउँछन् स्थानीय जनप्रतिनिधि राजेन्द्र क्षेत्री । क्षेत्रीले रातोपाटीसँग भने, ‘यो  चालक, निगम र प्रहरी प्रशासनको कमजोरी हो, जथाभावी पार्किङ गर्ने चालकलाई १÷२ दिन लोड नदिइकन गेटपास रोक्यो भने समस्या तुरुन्त समाधान हुन्छ ।’

जितपुर सिमरा वडा नं २१ का वडा सदस्यसमेत रहेका क्षेत्रीले अगाडि भने ‘निगमलाई भन्यो भने १÷२ दिन कन्ट्रोल हुन्छ तर कारबाही गर्न सक्नुहुन्न । यहाँ चुरोट खाने र सलाई कोरेर जथाभावी फाल्ने मान्छेका कारण आगलागीको जोखिम हुन सक्छ भनेर मैले भनेको भन्यै छु ।’

अमलेखगञ्जका स्थानीयसमेत रहेका ट्यांकर चालक विजय लामाले निगमको पार्किङ साँघुरो र अव्यवस्थित भएकाले गाउँमा पार्किङ गर्नुपरेको बताए । उनले भने, ‘निगमको पार्किङ अत्यन्तै साँघुरो छ, जहाँ खाली ठाउँ देख्यो, त्यहीँ पार्किङ्ग गर्नुपर्ने बाध्यता छ ।’

चालक लामाले थपे, ‘गाडीको चाप बढेका हिसाबले पार्किङ छैन, पार्किङ व्यवस्थापन नभएपछि समस्या धेरै छ ।’  

आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवले भने ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण दुई दिन पेट्रोलियम पदार्थ लोड÷अपलोड बन्द हुदाँ ट्यांकरहरु सडक छेउ र गाउँमा अस्तव्यवस्त देखिएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप