सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भगवानको कृपा रहोस्, सगरमाथा आरोहणमा सफल भएर फर्किनेछु

शुक्रबार, २५ चैत २०७८, १० : ४९
शुक्रबार, २५ चैत २०७८

मैले केही दिन अगाडि सामाजिक सञ्जाल र एक टेलिभिजन कार्यक्रममा सगरमाथा आरोहण गर्न लागेको विषय उल्लेख गरेका थिएँ । त्यतिबेला कसैले मेरो त्यो घोषणाको चर्चा गरेन । हालै जब मैले सगरमाथामा फहराउने झण्डा मन्त्रीबाट प्राप्त गरेँ, त्यसपछि चारैतिरबाट फोन आएर हैरान भएँ । यो देशमा चर्चाका लागि मन्त्री चाहिने रहेछ, त्यो मैले बुझेँ ।

सगरमाथा आरोहणको मेरो तयारी एक वर्ष अघिदेखि कै थियो । गत वर्ष ६११९ मिटर अग्लो लोगोचे आरोहण गरेको थिएँ । त्यसपछि पनि एभरेष्ट बेस क्याम्पमा गएर १०÷१२ दिन बसेँ, वरपर घुमेर फर्किएँ ।​ त्यस अगाडि पनि सानातिना ४ हजारमाथिका हिमाल आरोहण धेरै पटक गरेको छु । लाङटाङको लेरुङ भन्ने दुईवटै हिमाल चढेको छु । सोलुखुम्बुको दुधकुन्ड ४,६४७ मिटर, पिकेपिक भन्ने ४४ सय मिटर लगायत धेरै हिमाल चढेको अनुभव छ मसँग । हिमाल चढ्नका लागि आवश्यक १२÷१३ दिनको ‘बेसिक कोर्स’ भर्खर लिएँ । आफ्नो तरिकाले गर्नुपर्ने तयारी सबै गरिसकेको छु ।

पहिलेदेखिको इच्छा

कुनै न कुनै दिन सगरमाथा चढ्नुपर्छ भन्ने सोच ममा पहिलेदेखि नै थियो । गत वर्ष लोगोचे आरोहण गरेपछि हिमालप्रतिको मेरो माया झन् गाढा भएर आयो । अर्काे कुरा, माउन्टेन फिल्डका साथीहरुसँग मेरो संगत रहँदै आएको छ । उनीहरुले सगरमाथा चढ्नुपर्छ भनेर हौस्याए । त्यसले ममा पहिलेदेखिनै रहेको इच्छामा झन् ऊर्जा थपियो । त्यसैले यही चैत २७ गतेबाट आरोहण सुरुवात गर्दैछु ।

यस अगाडि सन् २००३ मा पनि सगरमाथा चढ्ने इच्छा गरेको थिएँ । त्यो समय विविध कारणले गर्न सकिएन । अब चढ्दैछु । भगवानको कृपा रहोस्, सफल भएर फर्किनेछु ।

सगरमाथा आरोहणको पछाडि एक पवित्र कारण छ । त्यो हो जलवायु परिवर्तन, मौसम परिवर्तनले पारिरहेको असरको विषयमा सन्देश दिने । विभिन्न कारणले अहिले मौसममा परिवर्तन भएको छ । त्यसको असर विश्वमा परेको छ । त्यसको असर हाम्रा धेरै हिमालहरूमा समेत परेको छ ।

मैले केही अगाडि समाचार हेरेको थिएँ । पग्लिन ३ हजार वर्ष लाग्ने हिउँका ढिक्का २५ वर्षमै पग्लियो रे ! त्यसले जलवायु कति परिवर्तन भएको रहेछ भनेर सजिलै अनुमान गर्न सकिन्छ । यस्तै गतिमा अगाडि बढ्ने हो भने अबको डेढ÷दुई सय वर्षमा हाम्रो हिमाल नरहने खतरा छ । हामीले हाम्रो भावी पुस्तालाई के दिने त ? विश्वमा चर्चित हाम्रो सगरमाथामा हिउँ नै भएन भने के राम्रो होला त ? हाम्रो पुस्ताले हिमाल देख्न पायौँ । अब आउने पुस्ताले पनि  हेर्न पाउनुपर्छ र हिमाल जोगाउनुपर्छ, प्रकृति जोगाउनुपर्छ, वन फडानी रोक्नुपर्छ, प्लास्टिक प्रयोग घटाउनुपर्छ भन्नेजस्ता विभिन्न सन्देश र उद्देश्य मेरो हिमाल यात्रामा जोडिएको छ ।

पछिल्लो समय मेलम्चीमा आएको बाढी पहिरो प्राकृतिक संरचनाको विनाशका कारण उब्जिएको समस्या हो । त्यसमा परेर धेरै मानिस विस्थापित भए । म आफै पनि विस्थापित भएको अवस्था हो । मेरो खेतबारी, घर सबै बगायो । त्यसमा कतिपयले ज्यान पनि गुमाएका छन् । धेरैको क्षति भयो ।

गत वर्ष अन्धाधुन्ध पानी परेर विराटनगर डुबानमा पर्‍यो । के यो सबै जलवायु परिवर्तनका असर होइनन् र ? ।

त्यसैले सगरमाथामा कन्सर्ट

सगरमाथाको क्याम्प २ मा म कन्सर्ट पनि गर्दैछु । म जलवायु परिवर्तनको विज्ञ नभए पनि र एउटा कलाकार अनि देशको जिम्मेवार नागरिक भएको हिसावले यो महत्त्वपूर्ण विषय उठाएर संसारको ध्यान खिच्दै सन्देश प्रवाह गर्न कन्सर्ट गरौँ भन्ने लागेको हो । ६५ सय मिटरभन्दा अग्लो स्थानमा कन्सर्ट गर्दैछु । त्यो कन्सर्टबाट विश्वको ध्यान खिच्दै मौसममा आएको परिवर्तन बुझाउने मेरो प्रयास हो ।

मैले त्यहाँ के कति गीत गाउन सक्छु भनेर अहिले नै भन्न सक्दिनँ । जे सक्छु, जति सक्छु, आफ्ना चर्चित गीत राख्छु । यस अगाडि मैले ६१ सय मिटर माथि उचाइमा कन्सर्ट गरेको थिएँ । भगवानको कृपा रह्यो र त्यो बेला गाउन सकेँ । यो पटक पनि गाउन सकौँ भन्ने छ ।

अहिलेसम्म ६५ सय मिटर माथि उचाइमा कसैले कन्सर्ट गरेको रहेनछ । त्यो हिसावले पनि मेलै एउटा इतिहास रच्न सक्नेछु । मैले उठाएको विषयका लागि सरकार र हरेक नेपाली ‘सिरियस्ली’ लाग्नुप¥यो । जलवायु परिवर्तनको विषयमा सरकार पनि गम्भीर भएन भने विश्वको सर्वाेच्च शिखर सगरमाथा भएको देश भनेर अहिले विश्वमा चिनिने हाम्रो पहिचान भोलिका दिनमा नरहन सक्छ । थोपाथोपा मिलेर समुन्द्र बने झैँ आजको मेरो पहलले भोलि सार्थकता पाउँछ ।

एउटा गिटार लिएर जान्छु 

सगरमाथाको कन्सर्टका लागि मेरो कुनै सांगीतिक टोली सहभागी हुँदैछैन । म एक्लै जाँदैछु । कन्सर्ट धेरै उचाइमा हुने भएकाले त्यहाँ म्युजिक ब्याण्ड लैजान सम्भव छैन । म केवल एउटा गिटार लिएर जान्छु । त्यो बजाएर गीत गाउँछु । अहिलेसम्म विश्वमा ६४ सय ७० मिटरको उचाइमा कन्सर्ट भएको रहेछ । मेरो कन्सर्टले कीर्तिमान राखे राम्रै कुरा हुन्छ, नभए पनि केही छैन । मेरो उद्देश्य जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिनु हो ।  त्यो हुनुप¥यो ।

सगरमाथा आरोहण गर्ने मेरो उद्देश्य कन्सर्टमात्र होइन, शिखर आरोहण पनि हो । सगरमाथाको शिखरमा पुगेर गीत गाउन त सम्भव नहोला । यो विषयमा अहिले केही भन्न सक्दिनँ । केही अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको झण्डा दिनु भएको छ । त्यो झण्डा सगरमाथाको शिखरमा अवश्य फराउनेछु । अर्काे मेरो स्लोगन छ ‘सेभ द हिमालय’ । आरोहण यात्राका लागि विमानस्थलबाट प्रस्थान गर्नासाथ त्यो प्रचार गर्छु ।

व्यक्तिगत खर्चमा आरोहण

मैले आफ्नै खर्च र साथीभाइको अलिअलि सहयोगको बलमा सगरमाथा आरोहण गर्न लागेको हो । आरोहणपछि म जलवायु परिवर्तनका विषयमा रुख रोप्ने लगायत विभिन्न चेतनामुलक कार्यक्रम गर्नेछु । त्यसका लागि हामी केही साथी मिलेर फन्ड पनि बनाएका छौं । अभियानमा जोडिन, सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।

मेरो यो अभियानलाई लिएर आफन्त, साथीभाइ धेरै खुसी छन्, सहयोग गरेका छन् । हिमालको बाटो राम्रोसँग आरोहण गरेर फर्किनु भन्दै सफलताको शुभकामना दिएका छन् । हिमाल आरोहण चानचुने कुरो होइन । धेरै विचार पु¥याउनुपर्छ । ज्यानको बाजी लगाउनुपर्छ । सफल आरोहण गरेर फर्किएपछि फेरि यसै गरेर कुराकानी गर्ने बाचा गर्दछु । म नेपाल आर्मीसँग पनि जोडिएर हिमाल सफाई अभियानमा पनि सामेल छु । त्यसका लागि नेपाली सेनाद्वारा तयार पारिएको ‘सफा हिमाल अभियान’ गीतसमेत भर्खर गाएँ ।

फर्किएपछि नचाउनेछु 

मेरा फ्यानहरुले अहिलेसम्मको मेरो सांगीतिक यात्रामा साथ दिनुभएको छ । यो मेरो हिमाल यात्रा अलि फरक भए पनि उद्देश्य राम्रो छ । यो उद्देश्यमा पनि साथ र सहयोगको अपेक्षा छ ।

हिमाल आरोहणबाट फर्किएपछि हाम्रो ‘मंगोलियन हर्ट’ ब्यान्डको ३० वर्षे यात्राको सिरिज कन्सर्टहरु आयोजना हुँदैछ । तपाईंहरुको आफ्नो ठाउँ, सहरमा आएर म तपाईले रुचाएका नयाँ तथा पुराना गीत गाउनेछु, सबैलाई भेट्नेछु र नचाउनेछु ।

( कुबेर गिरीसँगको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजु लामा
राजु लामा
लेखकबाट थप