आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम फरक आउँछ : राजेश्वर खनाल

शुक्रबार, २५ चैत २०७८, १३ : ०२
शुक्रबार, २५ चैत २०७८

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने बताएका छन् । उनले गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेकोले यसपटक काँग्रेसलाई नेतृत्वपमा सहयोग गर्नुपर्ने बताएका हुन् । 

सभापति खनालले समूहभित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेताहरुलाई आग्रह गरे । उनले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताए । उनले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली काँग्रेस पार्टी नै धराशायी बन्ने बताए ।

सभापति खनालले भने, ‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिन । टिकट लिने र समूह भित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि, कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने कुरा ? कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रिय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ । तर मतदाताको हात समाएर मत हाल्न सकिँदैन । तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण हाम्रो गठबन्धन कहाँ पुग्ने हो ? त्यसबारेमा नेताहरुले पुनः विचार गर्नुपर्छ ।’

उनले नेपाली काँग्रेस पार्टीले भरतपुर महानगरपालिकाको प्रमुख नछोड्ने पनि बताए । २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली काँग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर गरे । उनले महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताए । सभापति खनालले यस बारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि बताए । 

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद भएको र उनी चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक काँग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्न आग्रह गरे । सभापति खनालले अध्यक्ष दाहालले गत निर्वाचनमा काँग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको र यस पटक काँग्रेसलाई सहयोग गरे गठबन्धन पनि बच्ने र संविधानको रक्षा पनि हुने बताए । उनले नेकपा माओवादी केन्द्रलाई गत निर्वाचनमा काँग्रेसले सहयोग गरे पनि त्यसपछिका दिनहरुबाट काँग्रेस कार्यकर्ताहरु माअ‍ोवादीको गतिविधिका कारण दुःखी रहेको भन्दै यसपटक काँग्रेसलाई सहयोग गरेर नेपाली काँग्रेसका चिन्तित कार्यकर्ताहरुलाई खुशी बनाउने काम माओवादीले गर्नुपर्ने बताए ।

सभापति खनालले भने, ‘चितवनसँग र नेपाली काँग्रेससँग अहिले दुई वटा सम्बन्ध जोडिएको छ । एउटा हामी नेपाली काँग्रेसमा आवद्ध छौँ । हाम्रो केन्द्रिय सभापति शेरबहादुर देउवा हुनुहुन्छ, जो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ । साथै गठबन्धनको अर्को बलियो पार्टनरको रुपमा माओवादी केन्द्रका आदरणीय पुष्पकमल दाहाल आउनुभएको छ । उहाँ चितवन जिल्लाकै मान्य सांसद हुनुहुन्छ । त्यसैले उहाँले यो गठबन्धनलाई जीवित राख्नका लागि सँगै उहाँको कार्यक्षेत्र पनि चितवन भएको कारणले चितवनभित्र रहेका राजनीतिक पार्टीहरुका बीचमा उहाँ माआवादी केन्द्रको नेता भएपनि उहाँले नेपाली काँग्रेसलाई पनि बराबर माया ममता गर्नुपर्दछ । गठबन्धनको सैद्धान्तिक र व्यवहारिक पक्ष भनेको आलोपालो हो । २०७४ मा हामीले सहयोग ग¥यौं । २०७९ मा तपाईले सहयोग गर्नुहोस् । २०७४ मा सहयोग गरिसकेपछिको परिस्थिति नेपाली काँग्रेसका कार्यकर्ताहरुको बीचमा विशेष गरी माओवादी केन्द्रको फरक ढंगबाट कार्यकर्ताको बीचमा धमिलो मन भएको छ । धमिलो मनलाई संग्ल्याउनका निमित्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फराकिलो छाती गरेर, परिवारभन्दा बाहिर आएर संविधान र गठबन्धनको रक्षा गर्न फराकिलो छाती बनाएर यस पटकको स्थानीय निर्वाचनमा प्रमुख पदमा काँग्रेसलाई सहयोग गरी अन्य पदमा आवश्यक तालमेल गरेर सामुहिक रुपमा निर्वाचनमा जाने वातावरण बनाउन आवश्यक छ ।’

सभापति खनालले नेपाली काँग्रेस चितवनले आफ्ना कार्यकर्ताहरुको भविष्य सुरक्षित गर्न र नेपाली काँग्रेसलाई जीवन्त दिनको लागि तथा यस पटक महानगरको नेतृत्व लिन चाहेको पनि बताए । उनले नेपाली काँग्रेसको केन्द्रिय समितिबाट गरिएको परिपत्रअनुसार नै आफू अगाडि बढ्ने तर पार्टीले यस पटक भरतपुर महानगरपालिकाको मेयरमा दाबी नछोड्ने बताए । सभापति खनालले यस क्रममा चितवन नेपाली काँग्रेसका पदाधिकारीहरु पार्टी सभापति, वरिष्ठ नेता, पदाधिकारीहरुलाई भेट्न काठमाडौं आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप