आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढीमा रातोपाटीको प्रदेश कार्यालय उद्घाटन

शुक्रबार, २५ चैत २०७८, २० : ५१
शुक्रबार, २५ चैत २०७८

डिस्कवरी न्यूज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकमको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित लक्ष्मीनारायण चौकमा कार्यालयको स्थापना गरिएको हो ।

कार्यालयको शुक्रबार एक समारोहका बीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रिवन काटेर र कम्प्युटरमा अनलाइनको लिंक खोलेर समुद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले राष्ट्रिय मिडियाहरुको कार्यालय प्रदेश तहमा स्थापना हुनुले संघीयता कार्यान्वयनमा थप बल पुग्ने बताए । ‘देश संघीयतामा गएसँगै स्वभाविक रुपमा सबै क्षेत्रका संरचनाहरु त्यहाँ स्थापना हुनुपर्छ,’ उनले भने, ‘संरचनाहरूले सोही आधारमा काम कारबाही अघि बढाउनुपर्ने हुन्छ । संघीयताको विषयमा, हालको व्यवस्था सँगसँगै अन्य विषयमा पनि हामीले बढी कलम चलाउनुपर्ने हुन्छ ।’ उनले व्यवस्थाको संस्थागत विकास गर्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधीहरु सकारात्मक हुन जरुरी रहेको बताए । 

उनले सरकारको नजर पुग्न नसकेको ठाउँमा सञ्चारमाध्यमले कलममार्फत उजागर गर्न आवश्यक रहेको बताए । ‘दुरदराजको ठाउँका समाचारहरु विकास, प्रशासन, समाज रुपान्तरण, वेथिती र भ्रष्टाचार लगायतका कुरालाई उजागर गर्दा रुपान्तरण गर्न सकिन्छ,’ उनले भने ।

उनले निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन पनि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार केन्द्रको गठबन्धन अनुरुप नै चलिरहेको पनि बताए । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सदस्य खगराज भट्टले रातोपाटीले प्रदेशका समाचारहरूलाई उचित स्थान दिनुपर्नेमा जोड दिए । यसेगरी  नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापाले सञ्चार क्षेत्रले परिवर्तन ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताए । 

रातोपाटीका संस्थापक प्रधानसम्पादक ओम शर्माले लुकेका र लुकाइएका समाचारमाथि रातोपाटीले सँधै नजर राख्ने बताउँदै पत्रकारले पनि जनता र परिवर्तनको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए । उनले संघीयताको मर्मअनुरुप प्रदेश सरकारले जनताको पक्षमा काम गर्नुपर्ने धारणा पनि राखे । 

कार्यक्रममा व्यवसायी गोपाल हमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, प्रदेश अध्यक्ष योगेश रावल, कैलाली अध्यक्ष हिमाल जोशी लगायतले प्रदेश कार्यालय दिगो रुपमा सञ्चालन हुने गरि काम गर्नुपर्ने सुझाव दिएका थिए ।

रातोपाटीले यसअघि प्रदेश नम्बर १ को विराटनगर, मधेस प्रदेशको जनकपुरधाम, लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो प्रदेश कार्यालय सञ्चालनमा ल्याइसकेको छ भने निकट भविष्यमै बाँकी प्रदेशमा पनि कार्यालय खोल्ने लक्ष्य लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप