मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हजुर कसरी भन्नु त्यो नेपाल नै हो भनेर ?

शनिबार, २६ चैत २०७८, १५ : १५
शनिबार, २६ चैत २०७८

मूल बाटामा टायर बालेको देखिए
सडकछापले सडक कब्जा गरेको भेटिए
ज्यानमाराहरूको पदोन्नति भएको पाइए
फोहोरको थुप्रोमाथि राजनीति भेटिए
हजुर कसरी भन्नु त्यो नेपाल नै हो भनेर ?

पैसामा सुरक्षा साट्ने जागिरे भेटिए
पैसामै राजनीति किन्ने र बेच्ने देखिए
मानसम्मानको साटासाट पैसामै गर्ने देखिए
हल्लैहल्लामा विश्वासगर्ने जमात भेटिए
हजुर कसरी भन्नु त्यो नेपाल नै हो भनेर ?

काम नगर्ने मानिसको जमात भेटिए
काम खोज्नेहरूको लाम एयरपोर्टमा देखिए
कुराले च्युरा भिजाउन खोज्ने ‘बुझक्कड’ भेटिए
डाँटेरै जीविका चलाउने ‘नेता’ देखिए
हजुर कसरी भन्नु त्यो नेपालै हो भनेर ?

देशको नुन खाएर विदेशको गुन गाउने भेटिए
राष्ट्रवादको नारा लाएर राष्ट्रघातको कर्म गर्ने देखिए
पैसाले पद किन्नेबेच्ने जताततै देखिए
राष्ट्रको सम्पत्तिमा ¥याल काढेर बसेको राष्ट्रवादी भेटिए
हजुर कसरी भन्नु त्यो नेपालै हो भनेर ?

मन्दिरहरूको देशमा मूर्तिबिनाका मन्दिर भेटिए
लोप हुनै लागेका जनावरको हाडछाला बेच्ने देखिए
थान्को लाउनुपर्ने फोहोर जताततै भेटिए
जलस्रोतको धनी देशमा काकाकुल जस्तै मानिस भेटिए
हजुर कसरी भन्नु त्यो नेपालै हो भनेर ?

कानुन बनाउनेले कानुन मिचेको देखिए
रक्षक नै भक्षक भएको समाचार लेखिए
बलत्कार गर्नेहरू खेलेआम देखिए
हत्याराहरूले अतिथिको आशन पाएको भेटिए
हजुर कसरी भन्नु त्यो नेपालै हो भनेर ? 

जताततै रक्सीको फालाफाल देखिए
रक्सीकै कुप्रभावले जीवन बेहाल पारेको लेखिए
पढाउनुपर्ने गुरुहरू चिट चोराउनमा व्यास्त भेटिए
विद्यार्थीले किताब कलम फालेर ढुङ्गा हान्नमा मस्त देखिए
हजुर कसरी भन्नु त्यो नेपालै हो भनेर ?

मन्त्रीले फर्जी बिल बनाएर भुक्तनी लिएको भेटिए
सांसदले महिनौँसम्म संसदै नगई भत्ता बुझेको देखिए
नेताले कमिसन नपाए फाएल रोकेको भेटिए
कर्मचारीले नजराना चढाएर बढुवा भएको देखिए
हजुर कसरी भन्नु त्यो नेपालै हो भनेर ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप