सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘गठबन्धनबाट काँग्रेस देशकै पहिलो र माओवादी केन्द्र दोस्रो प्रमुख पार्टी बन्छ’

अहिले देशमा लागू भएको संविधानको हरेक शब्दमा माओवादी केन्द्रको योगदान छ : ठाकुरप्रसाद ढकाल
आइतबार, २७ चैत २०७८, ११ : १२
आइतबार, २७ चैत २०७८

चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाको नेतृत्व गरेको माओवादी केन्द्र पछिल्लो समय जिल्लामा पार्टी संगठन बलियो बनाउने अभियानमा छ । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले पछिल्लो समय पार्टी संगठनको अवस्थामा उल्लेख्य सुधार आएको बताए ।

२०६४ सालको निर्वाचनमा पाएको सफलतालाई पार्टीले जोगाउन नसक्दा २०७० र २०७४ को निर्वाचनमा माओवादी केन्द्रले नमिठो हार व्यहोर्नु परेको उनको भनाइ छ । विगतको पराजयले आफ्ना कमी कमजोरीलाई सुधार्ने अवसर पनि दिएको उनी बताउँछन् ।

यतिबेला माओवादी केन्द्रले स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिलाई अघि बढाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रले चुनावी तालमेलका लागि सहयात्री घटकसँग हुने गरेको छलफलमा चितवन जिल्लामा आफ्नो पकड रहेको दाबी गर्दै आएको छ ।

स्थानीय तहको निर्वाचन र सत्तारुढ गठबन्धनसँग तालमेलका विषयमा केन्द्रित रहेर रातोपाटीले माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

चितवनमा अहिले नेकपा माओवादी केन्द्रको जनाधार कस्तो छ ?

२०६४ बाट हामी संसदीय राजनीतिमा प्रवेश गरेका हौं । त्यतिखेर २०६२÷६३ को जनआन्दोलनको उभार र माओवादीले १० वर्षसम्म गरेको जनयुद्धको जगबाट हामी निर्वाचनमा सहभागी भएका थियौं । त्यतिबेला जनताको भरोसाको केन्द्रका रुपमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र स्थापित थियो । जब २०६४ को निर्वाचन पश्चात् हामी देशकै ठुलो पार्टी बन्यौँ र सरकारको नेतृत्व गर्ने अवसर पाएका थियौं । त्यतिबेला हाम्रो  केही कमजोरी भए । त्यो हामीले स्वीकार गर्नुपर्छ ।

त्यतिखेर चितवनको ५ वटा निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्रका उम्मेदवारले ४ वटा क्षेत्र जितेका थिए । चितवनको क्षेत्र नम्बर १ बाहेक सबैमा माओवादी केन्द्रले जितेको अवस्था थियो । क्षेत्र नम्बर १ मा भने माओवादी केन्द्र दोस्रो भयो भने एमालेका उम्मेदवार पहिलो भए । हामीले चितवनको ५ क्षेत्रमध्ये क्षेत्र नम्बर २, ३, ४ र  ५ मा जितेका थियौं ।

२०६४ साल पश्चात् सरकारमा आइसकेको स्थितिमा जनआन्दोलन र जनताले हामीप्रति गरेको विश्वासमा टेकेर जनताको आधारभूत समस्या हल गर्ने र जनतामा आधारित पार्टी निर्माण गर्ने क्रममा त्यो कडी टुट्यो । त्यसकारण २०७० सालमा माओवादी पार्टी कमजोर अवस्थामा पुग्यो । २०७० मा चितवनको ५ वटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार पराजित भए । हामीले कुनै पनि क्षेत्रमा जित्न सकेनौँ ।

२०७४ सालमा भएको निर्वाचनमा पनि हामीले उल्लेख्य सफलता पाएनौं । यद्यपि, हाम्रो अवस्थामा भने सुधार आयो । हामीले चितवनको ३ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा जित्यौं । उक्त निर्वाचनमा नेकपा एमालेसँग हाम्रो गठबन्धन थियो । हामीले चितवनको क्षेत्र नम्बर १ र २ एमालेलाई जिताएका थियौं । चितवनको क्षेत्र नम्बर ३ बाट हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभयो ।

प्रदेशसभातर्फ एमालेसँगको गठबन्धनबाट हामीले ६ वटामध्ये २ वटा क्षेत्रमा अवसर पाएका थियौं र दुवैमा हामीले जित निकाल्यौँ । अन्यमा एमालेका साथी उम्मेदवार हुनुहुन्थ्यो, हामीले उहाँहरुलाई पनि जितायौँ ।

यता, स्थानीय तहमा पनि २ वटा पालिकामा हाम्रो पार्टीका उम्मेदवारले नेतृत्व गरेको अवस्था छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा हाम्रो नेतृत्व छ । भरतपुरमा काँग्रेससँगको गठबन्धनमा निर्वाचन जितेका थियौं भने माडीमा एकल रुपमा लडेर हामीले जितेका हौं ।

इच्छाकामना गाउँपालिकामा भने हामी थोरै मतले मात्रै काँग्रेससँग हारेका थियौं । त्यहाँ अहिले हाम्रो संगठन विस्तार भइरहेको छ । अघिल्लो निर्वाचनमा अन्य पार्टी र माओवादी पार्टीले जितेका स्थानहरुको विकास निर्माणको काम फरक देखिएपछि त्यहाँका जनताको माओवादीप्रतिको आकर्षण बढेको छ । त्यस गाउँपालिकाको ७ वटा वडामध्ये ५ वडामा हामीले जित्ने सम्भावना छ । अन्य ४ वटा नगरपालिकामा पनि हामीले हाम्रो अवस्था सुधार गरेका छौं । समग्रमा भन्नु पर्दा हामीले विगतमा भएका कमजोरीलाई सुधार गर्दै पार्टीलाई बलियो बनाउनेतर्फ अग्रसर भएका छौं ।

२०६४ देखि २०७४ को बीचमा भएका निर्वाचनमा माओवादी केन्द्र के कारणले पराजित भयो भन्ने लाग्छ ?

माओवादी केन्द्रले १० वर्षसम्म महान् जनयुद्ध लड्यो । जनताको साथले गर्दा ऐतिहासिक जनआन्दोलन सफल भयो । त्यस लगत्तै निर्वाचन भयो । माओवादी केन्द्र देशकै ठुलो पार्टी बन्यो र हाम्रा नेताहरु सत्तामा पुग्नुभयो । जनताको अपेक्षा माओवादी केन्द्रको नेतृत्वमा आर्थिक जीवनस्तर वृद्धि र विकासमा देशले फड्को मार्छ भन्ने थियो । माओवादी केन्द्रको ध्यान विकास निर्माण र समृद्धिमा केन्द्रित हुन्छ भने जनताको अपेक्षा थियो तर, त्यतिखेर हामी संविधान निर्माणको क्रममा थियौं । हाम्रो सबै ध्यान त्यसैमा केन्द्रित भयो । त्यतिखेर हामीले आर्थिक जीवनस्तर र विकासको कामलाई ध्यान दिन सकेनौँ । जसले गर्दा जनताको विश्वास टुट्यो । जनताका अपेक्षा पूरा हुन सकेनन् । हामीले पाएको म्याण्डेट नै संविधान निर्माणको थियो । हामीले अन्यत्र सोचेनौँ । जसले गर्दा माओवादी केन्द्रले केही गर्ला भन्ने जनताको आशा निराशामा बदलियो । जनतामा एक प्रकारको वितृष्णा पैदा भयो । त्यसैले २०६४ पछिको निर्वाचनमा हामीले सफलता पाउन सकेनौँ ।

त्यसो भए, संसदीय राजनीतिमा माओवादी केन्द्र कमजोर सावित भएको हो ?

त्यसो होइन । हामीसँग पर्याप्त अनुभव नहुँदा पनि हामीले सरकार चलाएकै थियौं । त्यतिखेर हामीसँग संसदीय अभ्यास नभएका कारणले गर्दा केही समस्या देखिएको थियो । त्यसकारण अन्य दलले फाइदा उठाउन सफल भएका हुन् । हामी जनताले जे भनेर पठाए, सोही काममा व्यस्त भयौं । हामीलाई संविधान बनाउने जिम्मेवारी दिइएको थियो । हामी त्यसैमा व्यस्त भयौं । संसदीय राजनीतिमा कमजोर हुँदा सत्तामा पनि हामीलाई विभिन्न समस्यामा पारियो । हामीले त्यस समयमा के बुझेका थियौं भने जनताको हक अधिकारका विषय अक्षरसः संविधानमा लेखिनुपर्छ । हामी त्यसैमा लाग्यौं । अहिले देशमा लागू भएको संविधानको हरेक शब्दमा माओवादी केन्द्रको योगदान छ । संघीयता, सामावेशिता, धर्म निरपेक्षता माओवादी केन्द्रले उठाएका मुद्दाहरु हुन् । अहिलेको संविधानमा त्यो व्यवस्था कायम छ । हामी कमजोर भएको भए त जनताका अधिकार कहाँ संविधानमा समावेश हुनसक्थ्यो र ?

स्थानीय तहको निर्वाचन नजिकिएको छ । माओवादी केन्द्रको अवस्था कस्तो छ ?

विगतको तुलनमा अहिले हामी बलियो भएका छौं । संगठनहरु सुध्रिएका छन् । जनताको आकर्षण बढ्दो छ । विगतको निर्वाचनमा हामीले जितेका पालिकाको काम देखेर जनताहरु माओवादी केन्द्रप्रति आशावादी भएका छन् । जनताहरु माओवादी केन्द्रको विभिन्न संगठनमा आवद्ध हुने क्रम बढेको छ । हामी विगतको कमजोरीलाई सुधार गर्दै पार्टी संगठनलाई मजबुत बनाउन केन्द्रित छौं ।

आगामी निर्वाचनमा माओवादी केन्द्र एकल रुपमा अगाडि गयो भने चितवनका ७ वटा पालिकामध्ये कति पालिकामा नेतृत्व लिन सक्छ ?

आगामी निर्वाचनमा हामी एकल रुपमा निर्वाचनमा जाँदा ३ वटा पालिकामा जित्न सक्छौं । हामी चितवनको एउटा गाउँपालिका, एउटा नगरपालिका र भरतपुर महानगरपालिकामा पहिलो स्थानमा हुन्छौं । २ वटा नगरपालिकामा तेस्रो, २ वटा नगरपालिका दोस्रो स्थानमा हुन्छौं भन्ने हाम्रो पार्टीको विश्लेषण हो ।

हामीले अहिले एकल रुपमा जाँदा भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिकामा जित्न सक्ने अवस्था छ । कालिका नगरपालिकामा विगतको निर्वाचनको तुलनामा एमालेसँग बलियो प्रतिस्पर्धामा छौं । त्यहाँ काँग्रेस हामीभन्दा पछि हुन्छ । रत्ननगर र खैरहनीमा हामी दोस्रो स्थानमा आइपुग्ने सम्भावना छ ।

चितवनका ९७ वडामध्ये कति वटा वडामा माओवादी केन्द्रले जित्ने सम्भावना छ त ?

विगतको तुलनामा अहिले २० देखि ३० प्रतिशत बढी वडामा माओवादीले जित्ने सम्भावना छ । हामी विगतमा जितेका वडाहरुलाई यो पटक पनि कायम राख्छौं । अन्य वडामा हाम्रा उम्मेदवार सफल बनाउन विभिन्न रणनीतिक योजनामा हामी काम गर्छौं । संगठनहरु परिचालन गरी हामी वडा तहको निर्वाचनमा पनि राम्रो पोजिशन बनाउँछौं ।

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन एक भएर लड्ने भनिएको छ । चितवनको हकमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा कस्तो तालमेल चाहेको छ ?

केन्द्रीय समितिको बैठकबाट भएका निर्णय अनुसार नै हामी गठबन्धनका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन्छौं । हामीलाई गठबन्धन गरेर जान कुनै समस्या छैन । केही दलका साथीले अलि फरक मत राख्नु भएको छ । गठबन्धनकै अन्य दलका नेताहरुबाट सुनिएका कुराहरु गैरराजनीतिक विश्लेषण र टिप्पणी हुन् भन्ने मेरो धारणा हो । किनकि नेपाली काँग्रेस, माओवादी केन्द्रसहित देशलाई पनि गठबन्धनको फाइदा छ । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसँग समन्वय गरेमा हाल देशको दोस्रो पार्टीको रुपमा रहेको काँग्रेस आगामी निर्वाचनबाट देशकै पहिलो पार्टी बन्छ भने माओवादी केन्द्र दोस्रो स्थानमा रहन्छ । एमाले तेस्रो स्थानमा हुन्छ । त्यस तरिकाले हामीले काम गर्न सक्यौं भने राजनीतिक फाइदा हुन्छ । अहिले पनि देशमा एकल सरकार बन्ने सम्भावना छैन । भोलिका दिनमा पनि गठबन्धनकै सरकार बन्ने हुनाले अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर अगाडि बढ्न सक्नुपर्छ । जसले गर्दा पूर्ण प्रतिगामी शक्तिहरुले टाउको उठाउन सक्ने स्थिति हुँदैन । त्यसकारण गठबन्धन आवश्यक छ ।

काँग्रेसको चितवन जिल्ला कार्यसमितिले गरेको निर्णय उनीहरुको अधिकार क्षेत्रभित्र पर्छ । काँग्रेसले पनि केन्द्रीय निर्देशन नै पालन गर्नुपर्छ । पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादीसँग छलफल गरेर देशभरि नै भागबण्डा गरी अघि बढ्न दिएको निर्देशन मान्दिनँ भन्नु अराजकता हो । त्यस्तालाई पार्टीले नै कारबाही गर्नेछ भन्ने हाम्रो बुझाइ हो ।

सत्तारुढ गठबन्धनबीच नै स्थानीय तहको निर्वाचनमा तालमेल भयो भने माओवादी केन्द्रले कुन कुन पालिकामा कति प्रतिशत भागवण्डा लिन्छ ?

गठबन्धन हुँदा चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले गर्नेछ । बाँकीमध्ये एउटा जसपालाई र अन्य ३ पालिकामा काँग्रेसलाई मुख्य नेतृत्वमा दिएर गठबन्धन गर्ने स्थिति बन्न सक्छ ।

तपाईको भनाइ अनुसार, जिल्लामा गठबन्धन हुँदा काँग्रेस र माओवादी केन्द्रले सम्मान भागबण्डा पाउनुपर्छ भन्ने हो ?

काँग्रेस हामीभन्दा ठूलो पार्टी हो । हामीलाई भन्दा बढी भाग काँग्रेसले नै पाउनुपर्छ । चितवनमा पनि सोही अनुसार हुन्छ ।

यसअघि भएको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो । अब आगामी निर्वाचनमा तपाई पुनः दोहोरिने सम्भावना कति छ ?

मैले पार्टीको निर्णयभन्दा बाहिर गएर बोल्न मिल्दैन । अहिलेसम्म मैले पार्टीमा मलाई त्यो चाहिन्छ भनेर मागेको अवस्था छैन । पार्टीले गरेको निर्णयलाई नाई नभन्ने मान्छेभित्र पर्छु म । म पार्टीको निर्णयविरुद्ध जान्न । मैले अहिलेसम्म व्यक्तिगत इच्छा, चाहनाले केही मागेको पनि छैन । माग्नेवाला पनि छैन ।

आगामी निर्वाचनमा माओवादी केन्द्रको भागमै माडी नगरपालिका परेको अवस्थामा पनि टिकट अन्य व्यक्तिलाई दिँदा जित्न नसकिएला नि त ?

माओवादी केन्द्र पार्टी विज्ञान, वस्तुगत धरातलको बारेमा सोच्ने पार्टी हो । त्यो खालको दृष्टिकोणसहितको पार्टी भएको कारण माडीका जनताको इच्छा, आकांक्षा र मनोभावना के छ भन्ने बुझ्दछ । पार्टीले त्यही अनुसारको निर्णय गर्दछ । माडीमा हामीले गरेको काम जनताले देखेका छन् । संगठनको अवस्था राम्रो छ । हामीले जित्ने अवस्था बलियो छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप