सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कृषक मान्छे पाल्ने भगवान् हो : अध्यक्ष पौडेल

बाख्रापालक महासंघको सरकारलाई यस्ता सुझाव
आइतबार, २७ चैत २०७८, १८ : ३६
आइतबार, २७ चैत २०७८

नेपाल व्यावसायिक बाख्रापालक महासंघले राव्यले किसानलाई बेवास्ता गरेको गुनासो पोखेको छ । महासंघले बाख्रापालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरूले अघि सारेका मागलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले आगामी वर्षको बजेटमा आफूहरूको माग सम्बोधन गर्न भन्दै विभिन्न सुझाव तथा माग अघि सारेको छ । महासंघले अघि सारेका मागमा किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने, कृषि तथा पशुपन्छी पालन उद्यमस्थलहरुमा आवश्यकता अनुसारको विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्राहरूलाई खोरेक र पिपिआर पूर्ण खोपको सुनिश्चितता् गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भत्ता, दुर्घटना बिमा र सञ्चय कोषको व्यवस्था गरिनुपर्नेलगायत छन् । 

महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुको कारण कृषिलाई बुझ्ने चिन्तनमा दरिद्रता भएको आरोप लगाए । उनले आम नेपालीले जीवनको चिन्तनलाई बदल्नु आवश्यक रहेको धारणा राखे । 

साथै, उनले कृषक बाख्रा पाल्ने मान्छे मात्र नभएर मान्छे पाल्ने भगवान् भएको पनि धारणा राखे । ‘जुनसुकै कर्ममा रहे पनि मान्छेको जीवन कृषि क्षेत्रमा आधारित छ । म एउटा बाख्रा पाल्ने मान्छे मात्र होइन, मान्छे पाल्ने जिउँदो भगवान् हो । यो कुरा बुझ्ने क्षमता सबैले बनाउनुपर्छ’–उनले भने ।   

त्यस्तै, महासंघका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सिंहदरबारमा मात्र गणतन्त्र आएको भन्दै अझैसम्म किसानको गोठमा गणतन्त्र नआएको गुनासो पोखे । ‘गणतन्त्र आयो त भनिन्छ, तर अहिलेसम्म किसानको खेतबारीमा गणतन्त्र आउन सकेन । गणतन्त्र सिंहदरबार र बालुवाटारमा मात्र आएको छ’–उनले भने । 

नार्कका पूर्व निर्देशक डा. टेकबहादुर गुरुङले दुःखको मूल्य नपाए पनि उत्साहित रूपमा अगाडी बढेका बाख्रापालक किसानहरूको ऊर्जाले आफूलाई निकै खुसी तुल्याएको बताए । साथै, कृषि क्षेत्रको भविष्य निर्माण गर्नको लागि अन्य क्षेत्रले समेत भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप