आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कमल थापाको गृहनगरमा राप्रपाको रणनीति : असफल नेतृत्वको भण्डाफोर

युवा जनशक्तिलाई आकर्षित गर्ने प्रयास
सोमबार, २८ चैत २०७८, १५ : १०
सोमबार, २८ चैत २०७८

राप्रपाले आइतबार हेटौंडामा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा कुनै पनि दलले यस्ता कार्यक्रम गर्नु सामान्य हो । तर राप्रपाले आफ्नै पूर्वअध्यक्ष (हाल राप्रपा नेपालका अध्यक्ष) कमल थापाको गृहनगरमा विशेष रणनीति अन्तर्गत कार्यक्रम आयोजना गरेको थियो ।

अध्यक्षमा पराजित भएर कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल व्युँताएसँगै उनकै गृहनगरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगेर शक्ति प्रदर्शन गरेका हुन् । कार्यक्रममा गाउँगाउँबाट राप्रपाका उल्लेख्य संख्यामा कार्यकर्ता सहभागी भएका थिए ।

कार्यक्रममा राप्रपाले तत्कालीन अध्यक्ष कमल थापाको कार्यकालमा भएका असफलतालाई भण्डाफोर गरेको छ । कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि विभिन्न आरोप लगाइरहेको अवस्थामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने इतिहासमा कयौं पटक यसरी राजपरिवारका सदस्यमाथि भ्रामक आरोप लगाइएको तर्क गरे । तर ती कुनै पनि आरोप प्रमाणित हुन नसकेको पनि उनले बताए ।

यस अतिरिक्त राप्रपाले युवा जनशक्तिलाई आकर्षित गर्नेगरी वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्ने, आफूले जितेका स्थानीय तहमा स्वास्थ्य तथा शिक्षा निःशुल्क गर्ने तथा रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले भ्रष्टाचार मुक्त नेपालको परिकल्पना गरेको बताए । उनले राप्रपाबाट चुनाव जितेर देश र जनताको करबाट आएको बजेट दुरुपयोग गर्छु भन्ने सोच भएका कार्यकर्तालाई पार्टी छोडेर जान पनि सुझाव दिए ।

उनले देशले वैकल्पिक बाटो खोजेको भन्दै त्यो वैकल्पिक बाटो राप्रपा बन्नेमा ढक्क हुन आग्रह गरे । देशको अवस्था सुधार्न आगामी निर्वाचनमा राप्रपाका उम्मेदवारहरूलाई जिताउनुपर्ने उनको भनाइ थियो ।

उनले आगामी निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह नमुना हुने दाबीसमेत गरे । राप्रपाले जितेका स्थानीय तहमा शिक्षा, स्वास्थ्य निःशुल्क गरिने दाबी गर्दै उनले नेतृत्व बदलिँदा जनताको नियति बदलिने प्रस्ट पारे ।

अध्यक्ष लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताए । उनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई त्यस्तो छुट नभएको बताएका हुन् ।

‘पटक पटकको आन्दोलन तथा झुटा भाषणबाट व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन भएन,’ उनले भने, ‘सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेका छन् ।’

सीमित नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको उनको भनाइ थियो । अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै उनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दुःखदायी भएको बताए ।

‘वैदेशिक ऋण अनुत्पादक क्षेत्रमा खर्च भयो’

राप्रपा अध्यक्ष लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको दाबी गरे । अहिलेका ठूला भनिएका दलका लुट्न नसकेका कार्यकर्ता पनि खुशी छैनन्,’ उनले भने, ‘भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ ।’ विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च गरिएको उनको आरोप छ ।

मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले कम्युनिस्टहरूले राजपरिवारबारे गलत प्रचार गरेको आरोपसमेत लगाए । राजपरिवारबारे दुष्प्रचार गरेर आफू महान देखाउन खोजेको उनको दाबी थियो ।

‘कम्युनिस्ट नेताहरुले राजा, राजपरिवारबारे दुष्प्रचार गरेका थिए, राजाले स्वीजरल्याण्डको बैंकमा अर्बौं रकम र सुन लगेर राखेका छन् । त्यो नेपाल ल्याउन सकियो भने प्रत्येक नेपालीको चार बिगाहा जग्गा र सुन किन्न सक्छन्,’ उनले भने, ‘आज राजाको शासन समाप्त भएको १५ वर्ष बितिसकेको छ, स्वीजरल्याण्डको बैंकमा कति रकम रहेछ राजाको ? खुलासा हुन सकेको छ ?’

कमल थापालाई प्रश्न : १५ वर्षसम्म नबनाएको देश अब ५ वर्षमा कसरी बन्छ ?

उनले राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाबाट कुनै पनि परिवर्तन हुने अवस्था नदेखेपछि पार्टीभित्र आफूहरुले नेतृत्व परिवर्तनको एजेण्डा अघि बढाएको बताए ।

उनले कमल थापा कै नेतृत्वमा रहँदा पार्टीले एक सीटमात्र जित्दा पनि अझै देश परिवर्तन गर्छु भनेर अध्यक्षमा बस्नु लज्जास्पद कुरा भएको बताए । ‘१५ वर्षसम्म पार्टी र सरकारको महत्वपूर्ण स्थानमा बसेर देश बनाउन नसकेकाहरुले अहिले एक कार्यकालमै देश कसरी बनाउने हो ?’ उनले प्रश्न गरे ।

ठिक पार्टी र ठिक नेता चिन्न नसकेकाले जनताले दुःख पाएको उनको भनाइ थियो । १५ वर्ष पार्टी चलाउँदा केही गर्न नसक्नेले फेरि केही गर्लान् भन्ने आश अब नगरौं’, उनले भने ।

उनले यस्ता नेतृत्वबाट देश परिवर्तनको कल्पना गर्न नसकिने भएकाले पार्टीको नेतृत्व आफूले लिएको बताए । उनले देशको अवस्था फेर्न राजनीतिले नै सम्भव रहेकाले पनि पुराना दलहरूलाई निर्वाचनबाट परिवर्तन गर्न जनतासँग आग्रह गरेका छन् ।

ठुला दलहरुको गैरजिम्मेवारीपनले देश टाट पल्टियो

अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दलहरुबाट देशको हित नहुने बताए । उनीहरुको गैरजिम्मेवारीपनले देश टाट पल्टिने अवस्थामा पुगेको उनको भनाइ थियो ।

पछिल्लो समय देशको अर्थतन्त्र धरासायी बन्नुमा देशको नेतृत्व गरिरहेका ठुला दलहरु नै दोषी रहेको उनले बताए । देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको दाबी गर्दै उनले नेतृत्वकर्ताहरु भ्रष्टाचार गर्नमा व्यस्त हुँदा देशको अवस्था यस्तो भएको बताए ।

काँग्रेस, एमाले, माओवादीले वैदेशिक ऋणलाई अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई टाट पल्टाएको उनको आरोप छ । २०४६ सालपछि शासन सत्तामा रहेका दलहरु देशलाई असफल राष्ट्र बनाउन उद्यत भएको भन्दै उनले ३ दशकमा १ हजार जनालाई रोजगारी दिन सक्ने उद्योग समेत खोल्न नसक्ने वर्तमान राजनीतिक दल पूर्णरुपमा असफल भएको दाबी गरे ।

अध्यक्ष लिङदेनले ३ करोड जनसंख्या नपुगेको देशका ५० लाखभन्दा बढी युवा परिवार पाल्न खाडी मुलुक जान बाध्य भएको बताए ।

राष्ट्रियता बचाउन राप्रपामा आएँ : रेखा थापा

राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले देश बचाउन आफू राप्रपामा आएको बताइन् । उनले अन्य पार्टीको तुलनामा राप्रपाको नीति, सिद्धान्त सही भएकाले आफू राप्रपामा आवद्ध भएको बताइन् ।

उनले विगतमा आफू माओवादी केन्द्रमा रहे पनि सो पार्टी आफन्तवादको जालोले गाजिएकाले आफू राप्रपामा आवद्ध भएको प्रस्ट पारिन् । उनले भनिन्, ‘म नेता बन्न आएको हैन, देश बनाउने क्रममा राष्ट्रियता बचाउन आएँ । देश नै नरहे म कहाँको कलाकार रहन्छु ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप