आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आचारसंहिता कार्यान्वयनमा आयोगको कडाई, धमाधम पत्र काट्न थाल्यो

४५ लाख २२ हजार मतपत्र छपाइ सकियो
सोमबार, २८ चैत २०७८, १८ : ०७
सोमबार, २८ चैत २०७८

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न थालेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गत शुक्रबारदेखि आचारसंहिता लागू गरेको थियो ।  सो आचारसंहिता पालना नगर्ने नेकपा एकीकृत समाजवादी पार्टीलाई आयोगले ३ दिने स्पष्टीकरण सोधेको छ ।

 ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मिति २०७८/१२/२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकोले सो सम्बन्धमा के कसो भएको हो ? ३ (तीन) दिनभित्र आधार प्रमाणसहित आयोगले चित्तबुझ्दो जवाफ माग गरेको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । 

यस्तै आयोगले तोकेको सीमा भन्दा बढी खर्च चुनावमा भएको भनेर अभिव्यक्ति दिने काँग्रेस नेता शशांक कोइरालालाई पनि आयोगले ७ दिने स्पष्टीकरण सोधेको छ ।  उनले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड खर्च गरेको अभिव्यक्ति सञ्चारमाध्यममा दिएपछि आयोगले यसबारे ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।

कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा भने २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । 

‘२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान निर्वाचन आयोगबाट तोकिएकोमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित उम्मेदवार माननीय डा.शशांक कोइरालाले आफ्नो निर्वाचन खर्चको विवरणमा आयोगसमक्ष २१ लाख ७५ हजार रुपैयाँ पेस गर्नुभएको अभिलेखबाट देखिन्छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘तर विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनु भएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने  आएकाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो ? ७ (सात) दिन भित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ ।’

यस्तै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन विभिन्न संघ संस्थासँग प्रतिबद्धता लिइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितामा भएका  व्यवस्थालाई पालना गर्न १३ वटा संघ संस्थाहरूले प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने संघ संस्थाहरूमा नेपाल नगरपालिका संघ, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल प्राध्यापक संघ, नेपाल यातायात राष्ट्रिय महासंघ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, नेपाल निर्माण व्यावसायी महासंघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, नेपाल विज्ञापन संघ र नेपाल बार एशोसिएसन रहेको प्रवक्ता शर्माले बताए । 

निर्वाचनलाई भव्य रुपमा सम्पन्न गर्न सञ्चार माध्यम एवं सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै आयोगले  सञ्चार जगत र निर्वाचन आयोगबीच समन्वय तथा अन्तरसम्बन्ध स्थापित गर्ने उद्देश्यले ७ वटै प्रदेशमा मिडिया अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने पनि शर्माले बताए । 

 जसअनुसार मंगलबार प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम गर्ने तय भएको उनको भनाइ छ ।  यस्तै सञ्चारमाध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल नेपालसँग सम्झौता गरिएको पनि आयोगले जनाएको छ । काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने बताइएको छ । 

वैशाख ३ मा अधिकृतलाई नियुक्तिपत्र

आयोगले चैत २९ गतेदेखि  वैशाख ३ गतेसम्म देशका ७ प्रदेशका ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यलयका प्रमुखका लागि अभिमुखीकरण तालिम÷प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ ।  सो तालिम पश्चात सोही स्थानबाट निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराइने आयोगको भनाइ छ । आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको  सहज रूपमा जानकारी दिन वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने पनि जनाएको छ । उक्त बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ ।  

कति छापियो मतपत्र ?

आयोगले हालसम्म स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य भइसकेको जनाएको छ । बाँकी छपाई कार्य जारी रहेको शर्माले बताए । सबै निर्वाचन अधिकृतले पाउने गरी एक–एक प्रति मतदाता नामावली पठाउने कार्य भइसकेको पनि आयोगको भनाइ छ । 

यसैगरी आयोगले केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ प्रकारका सामग्री प्राप्त भई भण्डारण भइसकेको जनाएको छ । बाँकी सामग्री आउने क्रममा रहेको आयोगको भनाइ छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप