ब्याटल ग्राउन्ड झापा : जसलाई छैन चुनावको चासो !
नेत्र पन्थी र एसके यादव
झापा– झापाको दक्षिण भाग केचनाबाट ताप्लेजुङसम्म जोडिन्छ मेची राजमार्ग । यही राजमार्गमा पर्छ बर्ने चिया बगान । यो चिया बगानसँग जोडिएको राजमार्गमा चुनावी दौडमा गाडीहरू कुदेका कुदै गर्छन् । तर, बगानका मदजुरलाई चाहिँ चुनावले छोएको छैन ।
आइतबार दिउँसो जब रातोपाटीको टिम यो चिया बगानमा पुग्दा मजदुरहरू काममा व्यस्त थिए । चिया बगानमा विषादी छरिरहेका एक मजदुर भेटिए । उनी विषादीले पार्ने असरमाथि त्यति चिन्तित थिएनन् । न मुखमा माक्स थियो न त आँखामा चस्मा नै ।
ती मजदुर थिए, पुरुषोत्तम चापागाईं । उनको उमेर ५२ वर्ष भयो, जसले यहाँ काम गर्न थालेको २८ वर्ष भयो । दुखेसो सुनाए, ‘बिरामी भए आफै औषधी गर्नुपर्छ । कम्पनीले उपचार खर्च दिन्नँ ।’
झापामा दोस्रो चरणमा मङ्सिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । तर, पुरुषोत्तम चापागाईं भोट हाल्न जाने वा नजाने भन्ने द्विविधामा छन् । ‘कम्पनीले २१ गते बिदा दिए भोट हाल्न जान्छु, नदिए काममा आउँछु ।’ सरकारले चुनावका दिन भने सार्वजनिक बिदा दिने गरेको छ ।
उनी चिया बगान नजिकै सुकुम्बासी बस्तीमा बस्छन् । लालपुर्जा भएको जग्गा छैन । चुनावमा मजदुरका पक्षमा काम गर्ने, मजदुरलाई अधिकार दिने र जग्गाको लालपुर्जा बनाइदिने पार्टीलाई भोट हाल्ने उनको मन छ । तर, नेताप्रति विश्वास चाहिँ कम । ‘नेताको भाषण राम्रो, काम नराम्रो’ उनले यतिमै भने ।
उनले काम गर्ने चिया बगान पहिला सरकारी थियो । पछि निजीकरण गरियो । पुरुषोत्तम चापागाईंजस्ता मजदुरलाई यो मन परेको छैन । ‘सरकारी हुँदा राम्रो सेवा सुविधा हुन्थ्यो । निजी भएपछि त्यति राम्रो छैन ।’ उनले भने– ‘मजदुरको हित गर्ने नेता चाहिएको छ । गर्छु सबैले भन्छन् र कसैले गर्दैनन् ।’
यही चियाबगानमा काम गर्दै गरेका अर्का मजदुर पारसमणि प्याकुरेलका पनि दुःखकै कथा छन् । उनले यहाँ काम गर्न थालेको ३२ वर्ष भयो । सुविधाकै विषयमा उनको चिन्ता छ । तर, उनले चुनावसम्बन्धी कुनै पार्टीका घोषणा पत्र पढेका छैनन् ।
चुनावसित उनको ठूलो साइनो छैन् । ‘धेरैपटक भोट हालियो तर कसैले केही गर्दैनन्’– उनले भने, ‘जुन जोगी आए पनि कानै चिरेको ।’
उनी चुनावमा भोट हाल्न चाहिँ जाने तयारीमा छन्, किनभने यसलाई उनी आफ्नो अधिकार ठान्छन् । ‘ऐलानी जग्गाको लालपुर्जा बनाइदिने र चिया बगानमा मजदुरको सुविधा बढाइदिनेलाई भोट दिने हो ।’ उनले आफ्ना माग सुनाए– ‘श्रमिकले श्रमको मूल्य पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीबस्तीका लक्ष्मीप्रसाद दाहाल ऐलानीजग्गामा बस्छन् र उनी आफूलाई सुकुम्बासी ठान्छन् । उनले आफ्नो माग राखे– ‘यहाँबाट जित्ने प्रतिनिधिले सुकुम्बासीलाई न्याय दिऊन् । कुलो कुलेसो बनाइदिऊन् । विकासका माग गरिदिऊन् ।’
बुद्धशान्ति गाउँपालिका झापाको प्रतिनिधिसभा निर्वाचन १ मा पर्छ । यहाँ काङ्ग्रेसबाट विश्वप्रकाश शर्मा र बामगठबन्धनबाट राम कार्की चुनावी मैदानमा छन् ।
बुद्धशान्ति–४ मै भेटिइन्, ३२ वर्षकी पुष्पा सुवेदी । उनले आफ्ना बालबालिका विद्यालय जाँदा आउँदा धुलैधुलो हुने गरेको भन्दै सडक बनाउने नेतालाई भोट दिने बताइन् । उनले सुनाइन्– ‘धेरै नेताले भाषण गरे, विकास कसैले गरेनन् ।’
उनले आफ्नो परिवार ऐलानी जग्गामा बसेको भन्दै आफू जस्ता सुकुम्बासी परिवारका समस्या हल गर्न नेतालाई सुझाव दिइन् ।
बुद्धशान्ति पुगेका राम कार्की त्यहाँको चुनावी सभामा भन्दै थिए– ‘यो क्षेत्रका सुकुम्बासी समुदायले आफ्नो पार्टीलाई सरकार लैजाने कि नलैजाने भन्ने निर्णय गर्ने बेला आएको छ । सिंहदरबारमा कम्युनिस्टको बहुमतको सरकार बनेपछि सबै समस्या हल हुन्छन् । मजदुर किसानका समस्या हामीले हल गर्छौँ ।’
काङ्ग्रेस उम्मेदवारले पनि झापामा किसान, मजदुर र सुकुम्बासीका माग पूरा गर्ने बताएका छन् । झापा १ मा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरिरहेका काङ्ग्रेस उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले आफ्नो घोषणापत्रमा लेखेका छन्– ‘भूमिहीन जनतालाई पहिचान गरी सरकारी ऐलानी जग्गामा व्यवस्थित बसोबास गराउन र ऐलानी जग्गा भोगचलन गरिरहेका व्यक्तिहरूलाई उनीहरूकै नाममा जग्गाधनीपुर्जा वितरण गर्न पहल गरिनेछ ।’
तर, पनि चिया बगानकी महिला मजदुर रीता विश्वकर्मा भन्छिन्– ‘चुनाव आउँछ, जान्छ । बेल पाक्यो कागलाई हर्ष न विम्मात ।’