आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा एमाले–राप्रपा नेपालबीच तालमेल हुँदा गठबन्धनलाई प्रेसर !

बिहीबार, ०१ वैशाख २०७९, १५ : २१
बिहीबार, ०१ वैशाख २०७९

 वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको तयारीमा दलहरु जोडतोडका साथ लागेका छन् । दलहरु आफ्ना उम्मेदवार छान्न केन्द्रित छन् भने पदका आकांक्षीहरु उम्मेदवारीका लागि टिकट ल्याउन दौडधुपमा छन् । एक महानगरपालिका, ५ नगरपालिका र एक गाउँपालिका रहेको चितवनमा आगामी निर्वाचनमा नेकपा एमाले नेतृत्वको गठबन्धन र सत्तारुढ गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । दलहरु आगामी निर्वाचनका लागि चुनावी तालमेलको खाका बनाउने, उम्मेदवार छान्ने प्रक्रियामा व्यस्त छन् । 

चितवनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ ५ दलीय गठबन्धनसँग नेकपा एमालेले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।  बिहीबार भएको सहमतिअनुसार नेकपा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने निश्चित भएको । स्थानीय तहको अघिल्लो निर्वाचनमा चितवनमा राप्रपा (प्रजातान्त्रिक)ले सबैजसो पालिकामा उम्मेदवारी दिएको थियो । तत्कालीन राप्रपा प्रजातान्त्रिकमा प्रभावशाली भूमिकामा रहेका नेता विक्रम पाण्डे हाल राप्रपामा छन् । पछिल्लो समय कमल थापाको नेतृत्वमा राप्रपाबाट एउटा समूह बाहिरिएर राप्रपा नेपाल गठन गरेको छ । थापा नेतृत्वकै राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्ने भएको हो । यद्यपि, चितवनमा राप्रपा नेपालको तुलनामा राप्रपाकै प्रभाव बढी देखिन्छ । 

निर्वाचन नजिकिँदै गर्दा एमाले आफ्ना उम्मेदवार छान्न सक्रिय देखिन्छ भने गठबन्धनका दलहरु भागबण्डामा अल्झिएका छन् । राप्रपा नेपालले एमालेसँग तालमेल गर्ने घोषणा गरिसक्दा राप्रपाले भने चितवनमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने प्रस्ट भइसकेको छैन । यद्यपि, अघिल्लो निर्वाचन परिणामलाई आधार मानेर तत्कालीन राप्रपा प्रजातान्त्रिकले हासिल गरेको मतलाई एमालेले पाएको मतमा मिसाउँदा सत्तारुढ गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा कस्तो देखिन सक्छ भनेर यहाँ आकलन गर्न खोजिएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनमा कुल ३ लाख ९७ हजार ६८५ जना मतदाताका लागि १६१ मतदान स्थल र ४ सय ५१ वटा मतदान केन्द्र कायम गरिएको छ । चितवनमा एक जना तेस्रो लिङ्गी, २ लाख ४ हजार ६६६ महिला र १ लाख ९३ हजार १८ जना पुरुष मतदाता छन् ।

२०७४ को निर्वाचनमा चितवनमा बलियो पकड बनाएको एमालेविरुद्ध प्रतिस्पर्धाका लागि गठबन्धनका दलहरुबीच कस्तो समझदारी बन्छ र कुन पालिकामा कसले उम्मेदवारी दिने प्रस्ट भइसकेको छैन ।

चितवनमा राप्रपा पनि महत्वपूर्ण राजनीतिक शक्तिको रुपमा देखिन्छ । चितवन राप्रपा उपाध्यक्ष विक्रम पाण्डेको गृह जिल्ला भएकाले पनि यहाँ राप्रपाको भूमिका महत्वपर्ण हुने देखिन्छ । चितवनमा गठबन्धनका दल विरुद्ध एमालेसँग राप्रपाले गठबन्धन गरेको खण्डमा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिका

२०७४ सालको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रले मेयर र काँग्रेसले उपमेयर लिएर भरतपुर महानगरपालिकामा दुवै पार्टी निर्वाचनमा होमिएका थिए ।

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । यता राप्रपाका बद्रीनाथ तिमल्सीनाले पनि भरतपुरको मेयर पदमा ६ हजार ८४२ मत ल्याएका थिए ।

उपमेयरमा काँग्रेसबाट पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिस्पर्धी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् । उपमेयरमा राप्रपाकी रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन् ।

भरतपुरको २७ वटा वडामध्ये माओवादी केन्द्रले तीन वटा वडामा मात्र जित हासिल गरेको छ । अन्य २४ वटा वडामध्ये काँग्रेसले १२ र एमालेले १२ वटा वडामा वडाध्यक्ष पदमा जितेको थिए ।

हाल एमाले विभाजित भइसकेको छ । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले सत्तारुढ गठबन्धनमा सामेल छ । सो पार्टीले भरतपुर महानगरपालिकामा एमालेको कति मत काट्छ भन्ने प्रस्ट छैन । यस अतिरिक्त जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि सत्तारुढ गठबन्धनमै भएकाले एमाले र राप्रपा छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएको अवस्थामा गठबन्धनलाई सहज हुने देखिन्छ । तर एमाले र राप्रपाबीच तालमेल भएको अवस्थामा भने प्रतिस्पर्धा रोचक बन्ने स्थानीय राजनीतिक अगुवा बताउँछन् ।

सो पालिकामा ८८ हजार ८८४ पुरुष, ९६ हजार ८६७ महिला र एक जना तेस्रो लिङ्गी गरी एक लाख ८५ हजार ७५२ जना मतदाता छन् भने ६५ वटा मतदान स्थल र २०२ वटा मतदान केन्द्र कायम गरिएको छ ।

इच्छाकामना गाउँपालिका

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा काँग्रेसकी गिता कुमारी गुरुङ र उपाध्यक्षमा कृतिकुमार श्रेष्ठ विजयी भएका थिए । अध्यक्षमा गुरुङले एमालेका नारायण प्रसाद अधिकारीलाई १९३ मतान्तरले पराजित गरेकी थिइन् । गुरुङले ३ हजार २५४ मत प्राप्त गर्दा अधिकारीले ३ हजार ६१ मत पाएका थिए । पालिका अध्यक्ष पदमा माओवादी केन्द्रका प्रताप गुरुङले २ हजार ३९९ मत ल्याएका थिए ।

यस्तै, उपाध्यक्ष पदमा काँग्रेसका श्रेष्ठले ३ हजार ३८९ मतसहित जित हात पारेका थिए भने एमालेकी जुनु राजभण्डारीले ३ हजार ९७ मत हासिल गरिन् । माओवादी केन्द्रकी सावित्रा सिलवाल २ हजार २२९ मतमा सीमित भइन् ।

कुल ७ वटा वडा रहेको सो गाउँपालिकाको एउटा वडा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार सफल भए । अन्य ६ वटा वडामध्ये एमाले र काँग्रेसले ३÷३ वटा वडामा जित हासिल गरे ।

यो पालिकामा अघिल्लो निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने सत्तारुढ गठबन्धन हावी हुने देखिन्छ । यो पालिकामा राप्रपाको प्रभाव खासै नरहेका कारण पनि एमाले र राप्रपाबीच तालमेल भएको अवस्थामा समेत एमालेलाई खासै राहत हुने देखिँदैन । अर्कोतिर एमाले विभाजन भएका कारण नेकपा एकीकृत समाजवादी पार्टीले एमालेको केही मत काट्ने निश्चित छ ।

इच्छाकामना गाउँपालिकामा पुरुष ८ हजार २४२ र महिला ७ हजार ३९२ गरी कुल १५ हजार ६३४ मतदाता छन् । सो पालिकामा १४ वटा मतदान स्थल कायम गरिएको छ भने २२ मतदान केन्द्र छन् ।

कालिका नगरपालिका

२०७४ को स्थानीय तहको निर्वाचनमा कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवारले जितेका थिए । एमालेका खुम नारायण श्रेष्ठले मेयर पदमा ७ हजार ४९२ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार कमल प्रसाद आचार्यले ७ हजार १६४ मत पाएका थिए । सोही पदमा माओवादी केन्द्रका रामध्वज डल्लाकोटीले २ हजार ३७८ मत पाएका थिए । सो पालिकामा राप्रपाका इन्द्रबहादुर स्याङ्तानले १७२ मत पाएका थिए ।

यता पालिका उपप्रमुखमा एमालेकी कमला भट्टराईले ७ हजार ५३५ मत सहित जित हासिल गर्दा काँग्रेसकी निरुजा श्रेष्ठले ६ हजार ७५० मत र माओवादी केन्द्रकी सविता लामाले २ हजार ५९३ मत पाएकी थिइन् । त्यहाँ राप्रपाकी वुद्धि लक्ष्मी स्याङ्तानले १९५ मत पाइन् ।

पालिकाको कुल ११ वटा वडामध्ये एमालेका उम्मेदवारले ६ र काँग्रेसका उम्मेदवारले ५ वडामा जितेका थिए । माओवादी केन्द्रले भने कुनै पनि वडामा जित हासिल गर्न सकेन ।

यो पालिकामा पनि राप्रपा र एमालेबीच गठबन्धन भएको अवस्थामा खासै ठुलो प्रभाव नपर्ने देखिन्छ । राप्रपाको जनमत कम रहेका कारण एमालेलाई यो पालिकामा राप्रपासँगको चुनावी तालमेलले खासै फरक पर्ने देखिँदैन । अर्कोतिर अघिल्लो निर्वाचन परिणामअनुसार काँग्रेस र माओवादी केन्द्रकै मत जोड्दा सत्तारुढ गठबन्धन एमालेमाथि हावी हुने देखिन्छ भने एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीले पनि एमालेकै मत काट्ने भएकाले यो पालिकामा सत्तारुढ गठबन्धन तुलनात्मक रुपमा बलियो देखिन्छ ।

कालिका नगरपालिकामा पुरुष १५ हजार ५६० र १५ हजार ५९७ गरी कुल ३१ हजार १५७ मतदाता छन् । यहाँ ११ मतदान स्थलमा ३७ मतदान केन्द्र कायम गरिएको छ ।

खैरहनी नगरपालिका

२०७४ को निर्वाचनमा खैरहनी नगरपालिकाको प्रमुख र उपप्रमुख दुुवै पदमा नेकपा एमालेले जितेको थियो । नगर प्रमुखमा एमालेका लालमणि चौधरीले १० हजार ७१७ मतका साथ जित हासिल गर्दा काँग्रेसका उम्मेदवार राजेन्द्र प्रसाद चौधरीले ९ हजार ७३३ र माओवादी केन्द्रका एकराज डल्लाकोटीले ३ हजार १४७ मत पाएका थिए । यस्तै, राप्रपाका चित्रबहादुर विसुरालीले ६४५ मत पाएका थिए ।

यता, पालिका उपप्रमुखमा एमालेकी सुनिता खरेलले १० हजार ४५१ मतका साथ जित हासिल गर्दा काँग्रेस उम्मेदवार सुशीलादेवी उप्रेतीले ९ हजार ८, माओवादी केन्द्रकी रेवती सेढाइँले २ हजार ९२० मत र राप्रपाकी मञ्जु बर्तौलाले ७३३ मत पाइन् ।

कुल १३ वटा वडा रहेको सो नगरपालिकाको ७ वडामा एमालेले र बाँकी ६ वटा वडामा काँग्रेसले जितेको थियो । माओवादी केन्द्र भने सो पालिकाको वडा तहमा निर्वाचित हुन सकेन ।

सत्तारुढ गठबन्धनबीच तालमेल भएमा यो पालिकामा पनि एमालेलाई चुनौती बढ्न सक्छ । अघिल्लो निर्वाचन परिणामअनुसार गठबन्धनका घटकहरुको मत एकातिर राखेर एमाले र राप्रपाको मतलाई अर्कोतिर जोड्दा पनि गठबन्धन नै भारी देखिन्छ ।

खैरहनी नगरपालिकामा पुरुष २० हजार ७२३ र महिला २२ हजार ७२९ गरी कुल ४३ हजार ५३१ मतदाताका लागि १७ वटा मतदान स्थल र ५१ केन्द्र कायम गरिएको छ ।

माडी नगरपालिका

२०७४ को स्थानीय निर्वाचनमा माडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल विजयी भए । उनले ३ हजार ८७३ मत हासिल गर्दा काँग्रेसका खेम प्रसाद महतोले ३ हजार ८२९ मत र एमालेका नारादमणी पौडेलले ३ हजार ८२६ मत पाए ।

सो नगरपालिकामा राप्रपाको उपस्थिति पनि बलियो छ । नगर प्रमुख पदमा राप्रपाका मदनप्रसाद पौडेलले ३ हजार ७३ मत पाएका थिए । यो पालिकामा एमाले र राप्रपाबीच तालमेल भएको अवस्थामा सत्तारुढ गठबन्धनलाई कडा टक्कर दिन सक्ने देखिन्छ ।

सो नगरपालिकाको उपप्रमुख पदमा एमालेले जितेको थियो । एमालेकी ताराकुमारी काजी महतोले ४ हजार ६९० मत हासिल गर्दा माओवादी केन्द्रकी उम्मेदवार सविता महतोले ३ हजार ८०४ मत, काँग्रेसकी शिवमाया भट्टराइले २ हजार ८४ र राप्रपाकी भीमकुमारी महत्तोले ३ हजार १८६ मत पाइन् ।

९ वटा वडा रहेको सो पालिकामा काँग्रेसले एउटा, माओवादी केन्द्रले ३ र एमालेले ५ वटा वडामा जितेको थियो ।

माडी नगरपालिकामा १३ हजार ७५८ पुरुष र १४ हजार ५६२ महिला गरी २८ हजार ३२० जना मतदाताका लागि १५ मतदान स्थलमा ३२ वटा केन्द्र तोकिएको छ ।

रत्ननगर नगरपालिका

२०७४ को निर्वाचनमा रत्ननगर नगरपालिकाको मेयर पदमा एमालेका नारायण वन १४ हजार ६७७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७, माओवादी केन्द्रका पूर्णबहादुर आमगाईँले ३ हजार ६७१ मत पाए भने राप्रपाका उम्मेदवार गोविन्द्रप्रसाद अधिकारीले ५२८ मत पाए ।

त्यस्तै सो नगरपालिकाको उपमेयर पदमा एमालेकी विमलादेवी दवाडी निर्वाचित भइन् । उनले १४ हजार ४८१ मत पाइन् । उनको प्रतिस्पर्धी काँग्रेसकी निता घलानले १२ हजार ७०३ मत पाइन् । सोही पदमा माओवादी केन्द्रकी उम्मेदवार संगीता भट्टराई रेग्मीले ४ हजार २४ मत पाइन् भने राप्रपाकी उर्मिला पासवानले ७०१ मत पाइन् ।

१६ वटा वडा रहेको सो नगरपालिकामा एमालेले १० वटा र काँग्रेसले ६ वटा वडाको नेतृत्व लियो ।

अघिल्लो निर्वाचनको परिणामका आधारमा आगामी निर्वाचनमा सो पालिकामा सत्तारुढ गठबन्धन नै बलियो हुने देखिएको छ । यो पालिकामा राप्रपाले एमालेलाई सघाएको अवस्थामा नेकपा एकीकृत समाजवादीले एमालेबाट खोस्ने मतको पूर्तिमात्र हुने देखिन्छ ।

रत्ननगर नगरपालिकामा २५ हजार ३४७ पुरुष र २७ हजार २९५ महिला गरी कुल ५२ हजार ६४२ जना मतदाताका लागि २१ मतदान स्थलमा ६० वटा केन्द्र निर्धारण गरिएको छ ।

राप्ती नगरपालिका

२०७४ को निर्वाचनमा सो नगरपालिकाको मेयर पदमा एमालेकी प्रभा बरालले ११ हजार ६१३ मतका साथ काँग्रेसका किरणभुषण ओलीलाई पराजित गरिन् । ओलीले ७ हजार २९२ मत पाएका थिए । माओवादी केन्द्रका रामचन्द्र पाठकले २ हजार ४९५ मत पाउँदा राप्रपाकी मिराकुमारी बर्तौलाले ३३५ मत पाइन् ।

त्यस्तै सो नगरपालिकाको उपमेयरमा एमालेका इमानसिंह मोक्तान विजयी भए । मोक्तानले ११ हजार ८८२ मत पाएका थिए । सोही पदमा काँग्रेसको तर्फबाट उम्मेदवार रहेकी अनिता मैनालीले ७ हजार ७४ मत पाइन् भने माओवादी केन्द्रकी कल्पना मोक्तानले २ हजार २२७ मत पाइन् । राप्रपाका शेषमणि बर्तौलाले ६२७ मत पाए ।

कुल १२ वटा वडा रहेको सो पालिकाको १० वटा वडामा एमाले र २ वटा वडामा काँग्रेसले जितेको थियो । माओवादी केन्द्र भने वडा तहसम्मै शून्य अवस्थामा रहेको छ ।

आगामी निर्वाचनमा एकीकृत समाजवादीले सो पालिकामा करिव ७०० मत काट्न सक्ने अनुमान गरिएको छ भने जसपा र जनमोर्चाको मत एक सयको हाराहारीमा रहेको छ । यसरी हेर्दा सो पालिकामा गठबन्धनको १० हजार ५ सय मत मात्र पुग्छ । यो पालिकामा एमालेको बलियो प्रभाव रहेका कारण आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा पनि एमाले नै हावी हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप