मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ वर्षका अवसरमा प्रज्ञा र साझाको दुईहप्ते पुस्तक प्रदर्शनी

बिहीबार, ०१ वैशाख २०७९, २१ : १२
बिहीबार, ०१ वैशाख २०७९

नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा दुईहप्ते पुस्तक प्रदर्शनी सुरु गरेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधबारदेखि सुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७८ सालसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ ।
 
प्रदर्शनीमा प्रज्ञाले प्रकाशन गरेको ‘तस्बिर र नेपाल’, ‘नेपालको धड्कन पञ्चेबाजा’, ‘सङ्ख्य दर्शन र मार्क्सवाद’, ‘द्वि–शैक्षणिक व्याकरण’, ‘नेपाल उपत्यकाका केही जात्रा’, ‘रामानुजाचार्यको विशिष्टाद्वैत दर्शन’, ‘मार्क्सवादी सौन्दर्य चिन्तन’, ‘सुमति’, ‘नेपालका जातीय सामाजिक संस्कार भाग–७’ लगायत विसं २०७८ मा प्रकाशन भएका पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्द्येलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग ७, काव्य विमर्श र नेपालका जातस्य संस्कार खण्ड १, २, ३, ४, ५ र ६ जस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन् ।

प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनसम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगनलगायतका धेरै विषयका पठनीय अति उपयोगी झण्डै ५०० थरीका पुस्तक, पत्रपत्रिका समावेश गरिएको छ । यसैगरी साझा प्रकाशनले प्रकाशन गरेका ३०० थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

लोकवार्ता विवेचना, तुफुका कविता, बोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास, विश्वप्रख्यात नारीका कथा र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथिली नेपाली शब्दकोष, चीनका प्राचीन कथा, अमरकोश,  प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, पाकिस्तानी महिला लेखन जस्ता ४० भन्दाबढी पुस्तक पनि प्रदर्शनीमा राखिएको छ ।
 
नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७८ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले दिए । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता तीनदेखि नेपाली बृहत् शब्दकोशको एक हजार ८९५ मूल्य सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उनले सुनाए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । यसैगरी यसअघिका प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ । दैनिक १०० भन्दाबढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । दैनिक १५ देखि २० हजार भन्दाबढी पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप