सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुपारी आयात व्यवस्थित गर्न सरकारले नीति लिएको छ : मन्त्री बडू

शुक्रबार, ०२ वैशाख २०७९, १८ : ५०
शुक्रबार, ०२ वैशाख २०७९

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुपारी आयातलाई व्यवस्थित गर्नका लागि सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको दाबी गरेका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवालासँग गरिएको छलफलमा बोल्दै उद्योगमन्त्री बडुले केही व्यापारीहरूलाई सुपारी आयातमा अनुमति दिँदा समस्या आएकाले आयातलाई व्यवस्थित गर्नको लागि सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको बताएका हुन् ।

उनले अघिल्लो सरकारले परिणामलाई समेत खाल नगरी केही व्यापारीहरूलाई सुपारी आयात गर्न दिएकाले अहिले समस्या आएको आरोप समेत लगाए । मन्त्री बडूले विगतमा कही व्यापारीले सुपारी आयात गर्ने तर नेपालमा केही प्रतिशत देखाउने तर बाँकी परिणाम अन्य देशमा निर्यात गर्नाले सुपारी आयातमा समस्या रहेको बताए । सुपारी कच्चा पदार्थ चाहिने गुट्खा उद्योगहरुलाई चाहिने भएकाले त्यही उद्योगीहरुलाई आयात गर्न दिँदा समस्या समाधान हुने भएकाले सरकारले लिएको नीति सहि रहेको मन्त्री बडूको तर्क थियो ।

उनले सुपारी आयात गर्न नदिएर उद्योगहरुलाई बन्द गर्नु भन्दा पनि कच्चा पदार्थको आपूर्तिलाई सहज बनाएर आयातलाई व्यवस्थित गर्न उद्योगहरुको मागका आधारमा सरकार सुपारी आयात गर्न दिन तयार रहेको बताए । मन्त्री बडूले सुपारी आयात गर्दा व्यापारीहरूको मागको आधारमा साना देखि ठूला उद्योगले समेत सुपारी पाउनु पर्ने भएकाले सुपारी आयात रोक्ने उद्देश्य नभएको बताए ।

यस्तै बैठकमा नेपाली काँग्रेसका सांसद् प्रकाश स्नेहिले सरकारले उद्योगीहरु बाहेकलाई सुपारी आयात गर्न सरकारले अनुमति दिए स्विकार नहुने चेतावनी दिए । विगतका सरकारले कुनै एक व्यापारीलाई सुपारीको आयात अनुमति दिँदा उनीहरुले नेपालमा १० देखि १५ प्रतिशत मात्रै राख्ने र बाँकी अन्य देशमा सप्लाई गर्ने गरेको बताए । सांसद स्नेहीले सरकारले नेपालमा सुपारी कति खपत हुन्छ ? अध्ययन गरेर डाटा राख्नु पर्ने बताए ।  

बैठकमा देउती गुट्खा उद्योगका निर्देशक टपबहादुर शाहीले सरकारले उद्योगहरुको खपत क्षमताको आधारमा सुपारी आयात गर्न दिनु पर्ने माग राखे । उनले अहिले सरकारले २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिएकाले गुट्खा उद्योगमा २५ हजार मेट्रिकटन सुपारी खपत नहुने दाबी गरे । निर्देशक शाहीले नेपालमा सुपारी सहज रुपमा नपाउँदा चोर बाटोबाट भारतिय गुट्खा नेपालमा भित्रि रहेको बताए । उनले नेपालका गुट्खा उद्योगमा ८० प्रतिशत कच्चा पदार्थ सुपारी नै खपत हुने गरेको जानकारी दिए ।  

यस्तै, पान व्यवसायी संघका अध्यक्ष टेकबहादुर अधिकारीले सरकारले पान व्यवसायीलाई रोजगारी नभएर सुपारी दिए पुग्ने बताए । उनले मुलुकभर ६० हजार पान पसल रहेको दाबी गरे । पान व्यवसायीहरुले पनि सुपारी खरिद गर्ने अनुमति पाउनु पर्ने माग राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप