मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार पन्थीको दोस्रो पुस्तक ‘जिरो माइल’

आइतबार, ०४ वैशाख २०७९, १६ : ३४
आइतबार, ०४ वैशाख २०७९

अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’को शनिवार लोकार्पण भएको छ । खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा लेखिएको पुस्तक ‘जिरो माइल’को लोकार्पण र आषिस फाउण्डेसन नेपालको शुभारम्भ उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले गरेकी हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री भुसाल​ले भनिन्, ‘देशको वास्तविकता नबुझ्न नसकेका कारण, कतै रुखमै डलर फल्छ कि ? भन्ने लाग्छ होला, खासमा अमेरिकामा भौतिक पूर्वाधारको विकास र विधिबाट चल्ने कुराको लागि हो, तर हाम्रो देश कम छैन र होइन, हामीले लामो समय राजनीतिक व्यवस्था परिवर्तनमै लागेका कारण भने जस्तो पूर्वाधरको विकास गर्न सकेका छैनौँ ।’

पुस्तक ‘जिरो माइल’मा अमेरिकामा आप्रवासी र गैर आप्रवासी भिसामा आउन चाहनेहरु र अमेरिका आइसकेकाहरुका लागिमात्र नभई अमेरिकाको अध्यागमन कानुनबारे उत्सुकहरुका लागि समेत जानकारीहरु समेटिएको छ । अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र कैयौँ व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने लेखक पन्थीले बताएका छन् ।  

पुस्तकमा अध्यागमनबारे मात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु रहेका छन् । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गरेको हुँदा पाठकलाई बुझ्न निकै सजिलो रहेकोे लेखक पन्थीले बताए ।

अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेकाले जिरो माइलका रुपमा रहेको र अमेरिकाबाट आप्रवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले पनि जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको उनले बताए । यसअघि पन्थीको  पहिलो पुस्तक कम्पन बजारमा आईसकेको छ ।

नेपालको गुल्मीमा जन्मनु भएका किशोर पन्थी १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप