सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खोटाङ : ६ पालिकामा गठबन्धन, ४ काँग्रेस एक्लै लड्ने

सोमबार, ०५ वैशाख २०७९, १९ : ५५
सोमबार, ०५ वैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा नेपाली काँग्रेससहितको र चार स्थानीय तहमा काँग्रेस बिनाको गठबन्धन गर्ने निर्णय भएको हो । 

गत १६ चैत यता निरन्तर बसेको सत्तारुढ दल काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको बैठकले आइतबार राती पालिका प्रमुख र उपप्रमुखको भागबण्डा टुंग्याएको हो । ४ स्थानीय तहमा भने काँग्रेस एकल चुनाव लड्ने सहमति भएको पूर्वसांसद एवं एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी, रावाबेँसी गाउँपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख काँग्रेस, खोटेहाङ गाउँपालिका प्रमुख माओवादी केन्द्र, उपप्रमुख काँग्रेस, जन्तेढुंगा गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख काँग्रेसको भागमा परेको छ । 

तर हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा भने काँग्रेसले एकल उम्मेदवारी दिने सहमति भएको छ । काँग्रेस सिंगल लड्ने भए पनि त्यी चार स्थानीय तहमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचमा चुनावी तालमेल हुने भएको छ । 

केपीलासगढी गाउँपालिकामा प्रमुख एकीकृत समाजवादी र उपप्रमुख जनता समाजवादीको भागमा तथा साकेला गाउँपालिकामा प्रमुख माओवादी केन्द्र र उपप्रमुख जनता समाजवादीको भागमा परेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको  माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री रामकुमार राई पासाङले बताए । यद्यपि यस बारेमा थप छलफल भइरहेको जनाइएको छ । 

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमति भएको छ । चार स्थानीय तहमा काँग्रेस सिंगल लड्ने भए पनि मित्रवत् र स्वस्थ प्रतिस्पर्धा हुने फुयाँलले बताए । 

जिल्ला समन्वय समिति प्रमुख जनता समाजवादीलाई दिने सहमति भएको छ । जिल्ला समन्वय समिति उपप्रमुखको भागबण्डा छलफलकै चरणमा छ । गठबन्धन दलले पालिका प्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुखको भागबण्डा टुंग्याए पनि ७९ वडाको भागबण्डा टुंग्याउन बाँकी छ । 

भागबण्डामा प्रमुख र उपप्रमुख परेका दलभित्र पुनः उम्मेदवारको छनौट सुरु भएको छ । आकांक्षी धेरै भएकाले उम्मेदवार चयन थप सकसपूर्ण देखिएको छ । जिल्लामा एमाले पनि उम्मेदवार चयनमा जुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप