मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हराएँ इन्द्रेणी रङहरूमा

मङ्गलबार, ०६ वैशाख २०७९, ११ : ०४
मङ्गलबार, ०६ वैशाख २०७९

बिहानैदेखि मौसम एकदम सफा थियो । हड्सन नदी किनारको ३१ रिभरकोर्ट अपार्टमेन्ट १००४ नजिकैको लिफ्टबाट आ–आफ्ना साना सुटकेस गुडाउँदै रेखा र म तल झर्यौँ । हाम्रो छोरा सुनिल केही वर्षदेखि अमेरिकाको न्यूजर्सी स्टेटको यही अपार्टमेन्टमा बस्थ्यो । हामी बाबुआमा उसलाई भेट्न जुनको अन्तिमतिर बेलायतबाट यहाँ आएका थियौँ । नेपालबाट सन् २०१५ को जुन १ मा कान्छी छोरी अनिता र ज्वाइँ रोशनलाई भेट्न बेलायत पुगेर करिब एक महिना बेलायत घुम्यौं । त्यस्तै केही युरोपेली देशहरू घुम्दै अमेरिका आएको यो मौकामा पहिलेदेखि नै सुन्दै आएको विश्वप्रसिद्ध नायग्रा फल्स घुम्ने हाम्रो योजना बन्यो । सोहीअनुसार सुनिलले नायग्रा फल्स घुम्न दुई दिने प्याकेज यात्राको व्यवस्था गरिदिएको थियो ।

रिभरकोर्टबाट बाहिर निस्केर हेरेँ । न्यूयोर्कको सुरक्षार्थ आकाशमा हेलिकोप्टरहरू उडिरहेछन् । ट्विन टावर ध्वस्त पारिएको घटनापछि हेलिकप्टरहरूबाट न्यूयोर्कको सुरक्षाको निगरानी बढाइएको कुरा सुनेको थिएँ । खर्च गर्न सक्नेले हेलिकप्टरबाट दृश्यावलोकन पनि गर्न सकिनेरहेछ । हड्सन नदीमा सानाठूला पानीजहाजहरू आआफ्ना गन्तव्यतिर जाँदै थिए । ठीक पारिपट्टि न्यूयोर्कको मुटु मानिने म्यानहाटनका आकाशै छेड्लाझैँ गर्ने टावरहरू लस्करै देखिन्थे । त्यसो त हामी बस्ने अपार्टमेन्टकै झ्यालबाट पनि यी दृश्यहरू राम्ररी देखिन्थे । 

मेरी धर्मपत्नी रेखालाई समुद्र र अग्ला घरहरू मनपर्छ । सायद हाम्रो देशमा नभएर पनि हो कि ! अपार्टमेन्टको झ्यालबाट समय समयमा हेरिरहन्छिन् । ठ्याक्कै त्यही हड्सन नदीपारि त हो नि । कति नजिकै छ, अलग–अलग स्टेट भए पनि स्पष्ट देखिन्छ ट्विन टावर भएको क्षेत्र पनि । त्यही ट्विन टावरलाई लक्ष्य गरेर सन् २००१ को ११ सेप्टेम्बरमा आतङ्ककारी हमला भएको र दुवै टावरहरू ध्वस्त पारिएको मात्र होइन, त्यो घटनामा हजारौँ मान्छेहरूको मृत्यु पनि भएको थियो । त्यो त्रासदीपूर्ण दिनलाई सम्झेर म अझै पनि दुखित हुने गर्छु ।

रेखा र म सरासर नजिकैको पाथ ट्रेनको न्यूपोर्ट स्टेसनमा गएर टिकट लिएपछि सिँढी झर्दै रेल कुरेर बस्यौँ । धेरै यात्रुहरू हामीजस्तै प्लेट्फर्ममा रेल कुरिरहेका थिए, कोही फोनमा व्यस्त देखिन्थे, केही युवायुवतीहरू माया साटासाट गर्दै थिए । केही बेन्चमा बसेर गफ गर्दै थिए ।

यो भूमिगत रेल हड्सन नदीमुनिबाट विभिन्न गन्तव्यहरूमा चल्ने गर्छ । यहीँबाट म धेरै पटक वल्र्ड ट्रेड सेन्टर तथा नवौँ, चौधौँ, तेइसौँ स्ट्रिट हुँदै तेत्तिसौँ स्ट्रिटमा पर्ने एम्पाएर स्टेट बिल्डिङ पुगेको छु । स्टेट फरक भए पनि न्यूजर्सीबाट न्यूयोर्र्क जान त्यसरी नै भूमिगत रेलबाट केही मिनेटमै पुग्न सकिन्थ्यो । त्यसो त फेरी र मोटरबाट पनि जान नसकिने होइन । तर म भने भूमिगत रेलबाटै टाइम्स स्क्वायर, ज्याक्सन हाइट, ग्राउन्ड जिरो, वाल स्ट्रिट, ब्याट्री पार्क आदि ठाउँहरू धेरै पटक घुमिसकेको हुँदा यो भूमिगत रेलको यात्रामा अभ्यस्त भइसकेको थिएँ । तर न्यूयोर्र्कका यी भूमिगत रेलका प्लेटफर्महरू मलाई त्यति सफा सुग्घर लागेनन् । यात्रुहरूलाई पर्याप्त जानकारी  दिने व्यवस्था भएको महसुस भएन । मैले लन्डनको भूमिगत रेल्वे (ट्युब) सेवासँग तुलना गरेँ । लन्डनमा यात्रुहरूलाई पर्याप्त सूचना दिने व्यवस्था छ, सफा सुग्घर पनि छ । 

सन् १९८५ मा मेरो पहिलो पटकको विदेश यात्रामा लन्डन पुगेकै दिन मैले भूमिगत रेलबाट यात्रा गरेको छु, कुनै अलमल भएन । म कतै विदेश नघुमेको बबुरोले पहिलो पटक त्यो पनि जमिनमुनि चल्ने रेलको यात्रा गर्ने रहरले यात्रा गर्दा पनि उनीहरूका सूचनाहरूलाई पछ्याउँदै जाँदा कुनै समस्या परेन । तर यहाँ त त्यस्तो लागेन । कतिपटक यात्रा गर्दाको अनुभव भए पनि एकपटक ज्याक्सन हाइटबाट न्यूपोर्ट फर्कने क्रममा झन्डै उल्टो दिशातिर चल्ने रेल चढिसकेको रहेछु । शङ्का लागेर एउटी गोरी युवतीलाई सोधेपछि उसले सही सूचना दिई र म सजिलै न्यूपोर्ट पुग्न सकेको सम्झना छ । 

अरू नै कुरामा अल्मलिएछु म । हामीलाई चाइना टाउन पुग्नु थियो । त्यहीँबाट नायग्रा फल्सको हाम्रो यात्रा प्रारम्भ हुने थियो । हामी पन्ध्र मिनेट पहिले नै पुग्यौँ । चिनियाँहरूको एउटा विशेषता के रहेछ भने जुनसुकै देशमा, जुनसुकै ठूलो सहरमा एउटा चाइना टाउन बनाइहाल्ने । धेरै देशहरूमा मैले त्यस्तो देखेको छु, हेरेको छु । चाइना टाउनमा सबै कुरा चीनजस्तै लाग्ने । व्यापार, व्यवसाय, घर निर्माण शैली, होटल, रेस्टुरेन्ट सबै सबै चीनजस्तै– भनौँ मिनी चाइना । एउटा चिनियाँ यात्रा अपरेटरको प्याकेज यात्रामा हामीलाई व्यवस्था गरेको रहेछ छोराले । यात्रा प्याकेजको फाइदा के भने पैसा केही बढी परे पनि सबै व्यवस्था यात्रा कम्पनीले गरिदिने । यात्रुहरूले ढुक्क भएर यात्रा गर्न पाउने । होटल बुकिङ, साइटसिइङ आदिका टिकट समेत उनीहरूले नै गरिदिन्छन् । एउटै कुरा के भने तपाईं आफ्नो हिसाबले हिँड्न डुल्न भने पाउनुहुन्न । उनीहरूको प्रोग्राम र समयअनुसार हिँडिदिनु पर्दछ । उनीहरूको उर्दीलाई मान्नु पर्दछ ।

सामानहरू डिकीमा राखिसकेपछि निर्धारित समयमा हाम्रो बस चाइना टाउनबाट नायग्रा फल्सतर्फ प्रस्थानको लागि तयार थियो । त्यो आरामदायी बसमा सबै सिटहरू भरिएका थिए । मलाई लाग्यो त्यहाँ सबै महादेशका मान्छे पो छन् कि ? थरिथरिका मान्छेहरू थिए । धेरैचाहिँ खैरेहरू । हाम्रो  गाइड एकजना चिनियाँ नै रहेछ । चिनियाँ पाराको अङ्ग्र्रेजीमा उसले हामी सबैलाई स्वागत गर्यो । 

वेलकम लेडिज एन्ड जेन्टलम्यान ! नाव स्टार्ट आवर जर्नी । वी स्याल रिच नायग्रा फल्स इन अवाउट सेभेन आवर्स एन्ड वी विल फलो द सेड्युल एज मेन्सन्ड इन योर प्याकेज । प्लिज लेट मी नो इफ यु निड एनी सपोर्ट । (महिला तथा सज्जनवृन्दलाई स्वागत छ । अब हाम्रो यात्रा सुरु हुन्छ । हामी करिब सात घन्टा जतिमा नायग्रा फल्स पुग्नेछौँ । तपाईंलाई दिइएको प्याकेजमा उल्लेख भएको प्रोग्रामलाई हामी फलो गर्नेछौँ । केही सहयोग चाहिएमा कृपया मलाई भन्नुहोला । धन्यवाद !) 

बस चालकले टिकट जाँचे, यात्रुको गन्ती गरे अनि ढोकाहरू बन्द गरेर एयरकन्डिसन चालु गर्दै बस हुइँक्याए गन्तव्यतिर । न्यूयोर्र्क महानगरका विभिन्न भागहरू छिचोल्दै हामी अगाडि बढ्यौँ । बाटोमा देखिने एकनासका जङ्गलहरू बीच–बीचमा देखिने एकनासे घरहरू, चौडा सडकहरूमा असी माइल प्रतिघन्टामा कुदाइरहेका सवारी चालक पनि चिनियाँ मूलकै थिए । चिनियाँहरूले अमेरिकामा ठूलाठूला कम्पनीहरू निर्माण गरेका रहेछन् । अमेरिकामा धेरैजसो सबवेहरू चाइनिज कम्पनीले बनाएको भन्ने पनि सुनेको छु । 

रेखा झ्यालहरूबाट बाहिरका दृश्यहरू हेर्न तल्लीन थिइन् । म भने सोच्दै थिएँ– मान्छेको जीवन पनि कस्तो पहेली जस्तो, जटिल । बुझ्नै नसकिने । कहाँ कसलाई भेटिन्छ, कहाँ कहाँ पुगिन्छ । भेटिएका ती मान्छे, घुमेका ठाउँ जीवनमा फेरि भेटिएला कि नभेटिएला, घुमिएला कि नघुमिएला । यी सब कुरा मान्छेको जीवनको एउटा इतिहास न हो । वर्तमानका प्रत्येक गतिविधि र घटनाहरू इतिहास बन्दछन् । मलाई युरोपको यात्राका क्रममा जेनेभाबाट प्यारिस यस्तै आरामदायी बसमा यात्रा गरेको सम्झना भयो । अत्यन्त रमाइलो लागेको थियो ।  घरिघरि बाहिर हेर्दै थिएँ । घरहरू छुट्दै गए, जङ्गलहरू छुट्दै गए, ससाना नगरहरू हाम्रो दृष्टिबाट ओझेल पर्दै गए । 

 बाहिर हेर्दै म सोचिरहन्छु । यस्तो लामो यात्रामा म प्रायः केके केके सोच्ने गर्छु र आफैँमा हराउन मन पराउँछु । सकभर कसैले डिस्टर्ब नगरिदिए हुन्थ्यो जस्तो पनि लाग्छ । मैले मेरो देश सम्झिएँ– मेरो त्यो सुन्दर देश कहाँ छुट्यो कहाँ ! मेरो प्यारो सगरमाथा कहाँ छुट्यो कहाँ ! म यति टाढा आइपुगेँ । भावुक भएँ म । मेरो देशले मलाई भनिरहेझैँ लाग्यो–

“नौ सय खोला तरेर जाने 

बिर्सने पो हौ कि मलाई 

बिर्सने पो हौ कि ।।.....”   

तारादेवीले गाउनु भएको यही गीत सुनेर म भावुक बनेँ । नौ सय मात्र होइन, हजारौँ खोला तरेर आएको छु म, कैयौँ समुद्र पार गरेर । बसका सबै यात्रुहरू आ–आफ्नो धुनमा थिए । कोही बाहिरी दृश्यावलोकनमा र कोही मोबाइलमा त कोही निदाउन खोजिरहेका, कोही झ्यालबाट फोटा खिच्दै गरेका । हाम्रो बस पेन्सिलभानियाको स्ट्राउसबर्ग हुँदै अगाडि बढिरहेछ । बाटोमा एउटा खाजा खाने जक्सनमा बस रोकियो । पेट्रोल पम्प, कफी सप र सानो रेस्टुरेन्ट थिए त्यहाँ । रेखा र मैले पनि एक एक कप स्टारबक्स कफी पियौँ, केही स्न्याक्ससहित । 

यात्रा फेरि सुरु भयो । ससाना होचा पहाड, अग्ला हैन, मझौला रूखहरूका जङ्गल, जताततै सडक सञ्जाल, ठाउँ ठाउँमा हावाबाट चल्ने मिलहरू, ससाना नगरहरू पार गर्दै फेरि एक ठाउँमा हामी रोकियौँ । त्यो एउटा पार्क रहेछ ‘वाट्लेन ग्लेन पार्क’ । हाम्रो यात्रा प्याकेजमा त्यो पनि परेको थियो । भित्र छिर्याैं । फाइन फिङ्गर लेक, भाइन यार्ड हेर्दै हाम्रो गाइडले हामीलाई एउटा खोल्सी झरेको ठाउँतिर लग्यो– ओरालै ओरालो । केके न होला भन्ठानेको, केही न कामको सानो तुर्तुरे झरना देखाउँदै गयो । यस्तो नाथे झरना पनि झरना ? हाम्रो देशमा कस्ता कस्ता प्राकृतिक सुन्दर झरना छन् । यो त बनावटीजस्तो पनि लाग्यो । हैन हौ मार्केटिङ गर्न पनि कति जानेका यी अमेरिकीहरूले । 

खासै मजा आएन । रेखा हिँड्न नसकेर पछाडि थिइन् र उनी आइपुगेपछि हामी बसतिर फर्कियौँ । अरूहरू अलि पछि आए । हाम्रो बसमा एक जोडी भारतीय दम्पती पनि थिए । चिनजान भयो, उनीहरू पनि पहिलोपटक अमेरिका आएका रहेछन् । एक्लै यात्रा गरिरहेकी दक्षिण एसियालीझैँ लाग्ने एउटी राम्री युवती पनि यो बसमा थिइन् । चिनजान गर्दा उनी भारतको चेन्नाइकी रहिछन् । इटलीको रोममा काम गर्ने र छुट्टी मनाउन अमेरिका आएकी रहिछन् । केही स्टेट घुमिसकेकी र नायग्रा फल्स घुमेर अर्को हप्ता रोम फर्कने भन्दै थिइन् । 

बाटोमा हाम्रो गाइडले बीच बीचमा हाते माइकबाट महत्त्वपूर्ण ठाउँहरूका बारेमा जानकारी दिँदै गथ्र्यो । उसको भनाइअनुसार अब त हामी सिटी अफ नायग्रा फल्स पुग्नै लागेका थियौँ । यस नगरलाई ‘बफेलो’ पनि भनिँदो रहेछ । बफेलो नगर प्रवेश गर्ने ठाउँमा “तपाईंलाई स्वागत छ, तपाईंको दिन शुभ रहोस् ।” लेखिएको बोर्ड देखिन्थ्यो । हाम्रो बस ‘रेन्बो ब्रिज’निर रोकियो । त्यहाँबाट तल हेर्दा नीलो पानी बगिरहेको नायग्रा नदी देखियो । हाम्रो भोजपुर र सङ्खुवासभाको बीचबाट बग्ने संखुवाखोला जस्तै माथिबाट हेर्दा कञ्चन र सफाझैँ लाग्यो । हिमालको हिउँ पग्लेर आएको सङ्खुवाखोलाको कञ्चन चिसो पानी खाएर हुर्केको म । बाल्यकालमा त्यहीँ पौडी खेलियो, दुवाली फर्काइयो, माछा मारियो । अहिले मैले आफ्नो त्यही खोला सम्झिएँ ।

त्यही नायग्रा अलि तलतिर गएर झरेपछि नायग्रा फल्सको रूपमा प्रसिद्ध भएको रहेछ । त्यसपछि पावरभिस्टा हाइड्रोपावर देखाउँदै हामीलाई आरक्षित गरिएको होटल होलिडे इनमा पुगेर बस रोकियो । होटल निकै भव्य रहेछ । होटलमा आआफ्ना कोठामा गएर फ्रेस भएर करिब एक घन्टापछि होटलको लबीमा भेला हुने उर्दी थियो हाम्रो गाइडको । होटलको लबीमा एकजना गोरा सज्जन हामीसँग चिनजान गर्न अगाडि बढे । उनी पनि श्रीमतीसहित आएका रहेछन् । चिनजान भयो । उनको नाम स्टिभ रहेछ । हामीले हाम्रो पनि परिचय दियौँ ।

नाइस टु मिट यु, ह्वेयर आ यु फ्रम ? (तपाईंलाई भेटेर खुसी लाग्यो । तपाईं कहाँबाट आउनु भएको ?)  परिचय पछि स्टिभले सोधे । 

वी आ फ्रम नेपाल । (हामी नेपालबाट)

नेपाल (नेपल्स ?) उसले नेपल्सबाट भन्ने पो बुझेछ ।

नो नो, वी आ फ्रम नेपाल । कन्ट्री अफ माउन्ट एभरेस्ट– द हाइएस्ट पिक अफ द वल्र्ड । (होइन, होइन, हामी संसारकै सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेष्टको देशबाट) ।

ह्वेयर इज इट ? (कहाँ पर्छ यो ?)

इन बिट्विन चाइना एन्ड इन्डिया (चीन र भारतको बीचमा) ।

ओ, आई सी, द्याट्स ग्रेट (ए, बुझेँ, कस्तो राम्रो) ।

स्टिभ न्यूयोर्र्ककै बासिन्दा रहेछ । ऊसँग अन्य धेरै कुरा भए । उसले अमेरिकाका बारेमा, राष्ट्रपति बाराक ओबामाका बारेमा धेरै कुरा गर्यो । स्टिभ बाराकको प्रशंसक रहेछ । मैले पनि नेपालका बारेमा थोरै कुरा तिनीहरूलाई भनेँ । उसले आज भन्दा अघि नेपालको बारेमा सुनेको पनि रहेनछ । खुसी भयो । मौका परे नेपाल घुम्न जान्छु भन्दै थियो । 

सबै यात्री जम्मा भइसकेपछि हाम्रो गाइडले नायग्रा फल्सका बारेमा हामीलाई केही जानकारी दियो । न्यूयोर्र्क स्टेटभित्रै पर्ने यो नायग्रा फल्सको सात सय वर्ष पुरानो इतिहास रहेछ । अमेरिका र क्यानाडाको सीमा क्षेत्रको यो विश्वप्रसिद्ध नायग्रा फल्स हेर्न अमेरिकी र क्यानेडियन दुवैतर्फबाट बर्सेनि दुई करोडभन्दा बढी पर्यटक आउँदा रहेछन् । सामान्यतया वर्षैभरि यहाँ आउन मिल्ने भए पनि जुनदेखि अगस्टसम्म सबैभन्दा उपयुक्त समय मानिदो रहेछ । हामी अगस्टमा पुग्यौँ, राम्रै भएछ । 

जाडो मौसममा नायग्रा फल्स वरफयुक्त ध्रुवीय आँधीको असरले जम्न सक्छ रे । एक सय असी फिट उचाइबाट झर्ने असाधारण छाँगो हिउँ झरनामा परिणत हुने गर्छ भनिँदोरहेछ । प्रति सेकेन्ड पाँच लाख लिटरभन्दा बढी पानीको वहाव हुने यो संसारकै ठूलोमध्येको एक झरना हो । ध्रुवीय आँधीका कारण अमेरिका र क्यानडामा माइनस बाउन्न डिग्री सेल्सियससम्म तापक्रम गिरावट हुँदा नायग्रा फल्स जम्ने गर्दोरहेछ । हाम्रो गाइडकै भनाइअनुसार अमेरिकी साइडबाट भन्दा पारिपट्टि क्यानाडाको टोरन्टो साइडबाट यसको दृश्य अझ भव्य देखिन्छ रे । त्यसको कारण अमेरिकी साइडबाट पानी झर्ने हुँदा पारि क्यानाडापट्टिबाट स्पष्ट र भव्य देखिनु स्वाभाविक पनि हो जस्तो लाग्यो । पन्छीहरू पखेँटा फिजाउँदै निस्फिक्री उडिरहेका छन् ।

साँझ परिसकेको थियो । डुङ्गा यात्रा भोलि गरिने कार्यक्रम रहेकाले हाम्रो गाइडले अब हामीलाई नायग्रा फल्सको रात्रि दृश्य देखाउन लिएर गयो । पारिपट्टि क्यानाडाको टोरन्टो सहरको केही भाग देखिँदै थियो । नायग्रा फल्स नजिकै पुगेर हेर्दा त अचम्म लाग्यो । ए गाँठे नि ! यो पृथ्वीमा यस्तो ठाउँ पनि रहेछ । मैले कल्पनै गरेको पनि थिइनँ । रात्रिकालीन समयमा रङ्गीविरङ्गी बत्तीहरूले गर्दा त्यो दृश्य अत्यन्त मनमोहक र अद्भूत देखिन्थ्यो । वर्णन नै गर्न नसकिने । कुन संसारमा छु जस्तो भान हुने । यहाँ नआएको भए त जीवनमा ठूलै कुरा छुटाउने पो रहेछु जस्तो लाग्यो । 

रेखा र मैले थुप्रै फोटा खिच्यौँ । भिडियोमा कैद गर्यौँ ती मनै हर्ने दृश्यहरू । मान्छेहरूको भीड अलिअलि होइन । निकै समय त्यहाँ बसेर हामी फर्कने क्रममा विराटनगरका त्रिलोक न्यौपानेजी र श्रीमती न्यौपाने भेट हुनुभयो अचानक । उहाँहरू पनि अमेरिका आएको बेला यहाँ आउनुभएको रहेछ । भलाकुसारी गरियो, खुसी लाग्यो । त्यहाँबाट फर्केर एउटा भारतीय रेस्टुरेन्टमा खाना खाएर होलिडे इन होटलमा गयौँ । स्टिभ दम्पती गुड नाइट भन्दै आफ्नो कोठातर्फ लागे ।

बिहान साढे ६ बजे होटलबाट वेक अप कल आयो । रेखा र म पहिले नै तयार भइसकेकै थियौँ । होटलको रेस्टुरेन्टमा गएर नास्ता खाएपछि हाम्रो टोलीका सबैजना लबीमा भेला भए । डुङ्गा यात्राका लागि हामीलाई हाम्रो गाइडले लिएर गयो । हाम्रो टिकट पहिले नै व्यवस्था गरिसकेको रहेछ तर लामो लाइन भएकोले डुङ्गामा चढ्न केही समय लाग्यो । सबैलाई नीलो रेनकोट दिइँदो रहेछ । यो अमेरिकी साइडको डुङ्गा सयरलाई ‘मेड अफ द मिस्ट’ भनिँदो रहेछ । 

रेनकोट लगाएर हामी दुई तले डुङ्गामा चढ्यौँ । कोही पहिलो तलामा बसे, कोही माथिल्लो छतमा । हामी पनि माथिल्लै खुल्ला छतमा चढ्यौँ । डुङ्गा झरनातर्फ अगाडि बढ्यो । जति जति डुङ्गा अगाडि बढ्यो, उति उति रमाइलो । पानीको छल्काले हामीलाई झ्याप्प झ्याप्प पार्थ्यो । हावाको झोँक्काले रेनकोट नै उडाउलाझैँ गर्ने । कोही कोही ‘वाउ !’ गर्दै थिए, कोही ‘अमेजिङ !” भन्दै थिए भने कोही ‘वन्डरफुल’ भन्दै खुसी व्यक्त गर्दै थिए । झरनाको एकदमै नजिक पुर्याएर डुङ्गाले एक फन्का मार्यो । साह्रै आनन्द आयो तर पानीको  छल्का र हावाको कारणले फोटा भने राम्ररी खिच्न सकिएन । उता क्यानेडियन साइडका डुङ्गाहरू पनि पर्यटकहरूलाई लिएर आइरहेका देखिन्थे । हाम्रो डुङ्गा आफ्नो ट्रिप सकेर फर्कियो ।

होटलमा फर्कनुअघि हामीले एकछिन सहरका केही भागहरू घुम्यौँ । आज मौसम सफा थियो । मान्छेहरूको चहलपहल बाक्लै थियो । 

“यहाँका मान्छेहरू कति मोटा र भद्दा । बाँच्नलाई खान्छन् कि खानलाई बाँच्छन् कुन्नि ।” रेखाले भनिन् । 

“यस्तै हो, जङ्कफुड बढी खान्छन् नि यिनीहरू ।” मैले हाँस्दै भनेँ । 

होटलमा पुगेर आआफ्ना सामान बसमा हालेपछि हाम्रो फिर्ती यात्रा सुरु भयो । हाम्रो कार्यक्रममा ‘नायग्रा फल्स स्टेट पार्क’को भ्रमण पनि थियो । त्यहाँ हामीले केही समय बितायौँ । त्यो अमेरिकाकै सबैभन्दा पुरानो पार्क रहेछ– सन् १८८५ मा स्थापित । हामी त्यसपछि बाटोमा पर्ने संसारकै ठूलो ‘ग्लास म्युजियम’ र कारखाना हेर्न रोकियौँ । यो पनि हेर्न लायक रहेछ । अब खाना खाने समय भइसकेको थियो । बाटोमा रोकिएर खानापछि हामीहरू सरासर न्यूयोर्र्कतर्फ प्रस्थान गर्यौँ । उही असी माइलको गतिमा बस हुइँकियो । 

 झन्डै सात घन्टाको तुफानी यात्रापछि न्यूयोर्र्कको चाइना टाउन पुग्दा साँझको झन्डै आठ बज्यो । यात्राले शरीर थाकेको भए पनि मन भने त्यो अत्यन्त सुन्दर, हेरिरहुँझैँ लाग्ने नायग्रा फल्समै पुगिरहेको थियो । त्यसकै इन्द्रेणी रङ्गहरूमा हराइरहेका थिएँ ।

(साहित्यकार पवन आलोकको भर्खरै प्रकाशित ‘पहाड र लमतन्न समुद्र’ पुस्तक अंश ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप