आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घुमघाम : सूर्योदय दृष्यका लागि प्रख्यात श्रीअन्तु

मङ्गलबार, ०६ वैशाख २०७९, १४ : ४८
मङ्गलबार, ०६ वैशाख २०७९

इलामको सूर्योदय नगरपालिकामा पर्ने श्रीअन्तु सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले अन्माउन लागेको दुलही जस्तै सिँगारिएको छ । समुद्री सतहबाट करिब २३०० मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनको लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ । दृष्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट करिब चौध किलोमीटरको दुरीमा पर्दछ यो । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । हुन त इलाममा धेरै पर्यटकीय गन्तव्य छ तर अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीय स्थलमा छैन । अन्तु डाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बंगालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको अलौकिक दृश्य देखिन्छ । 

अन्तु सूर्योदयका लागि जति प्रख्यात छ, त्यति नै होम स्टेका लागि पनि परिचित छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सँगै होमस्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ वर्षेनी पर्यटक बढ्दै गएको अन्तु पर्यटक विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए । हरेक वर्ष एक लाख भन्दा बढी पर्यटकहरू होमस्टेमा बस्ने गरेको आलेको भनाइ छ । नेपालको सबैभन्दा ठूलो होम स्टे श्रीअन्तुको हो । ५० घर होम स्टे दर्ता भएका छन् भने १५ घर दर्ताको प्रक्रियामा रहेका छन् । 

अन्तु डाँडाबाट तराईका फाँट, भुटानका पहाड, दार्जिलिङका बस्ती र कञ्चनजंगा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । अन्तुमा बाह्रै महिना चिसो हुन्छ । छिनछिनमा परिवर्तन हुने मौसम श्रीअन्तुको मुख्य विशेषता हो । कृषिका लागि पनि श्रीअन्तुले निकै ख्याति कमाएको छ । चियाका लोभलाग्दा डाँडा, अदुवा, अम्लिसोले पनि स्थानीयले मनग्गे आम्दानी गर्ने गरेका छन् । हरियो गलैँचा ओछ्याएझैँ चटक्क मिलेको चियाबारी, कोणधारी धुप्पी, सल्ला, अलैँची, सिजन अनुसारका फलफूल तथा अरू बाली श्रीअन्तुको मुख्य आकर्षण हुन् । धुप्पी कटेज एण्ड भ्यूका सञ्चालक जय प्रसाद उपाध्यायका अनुसार गएको असोज यता मात्र यहाँ ५० हजार भन्दा बढी पर्यटक आएको जनाउँछन् । 

अन्तुको विकासका लागि समितिले गुरुयोजना समेत तयार गरेको छ । वरिपरि चियाबारी, सल्ला र धुप्पीका सुरिला रुखले चारैतिरबाट घेरिएको यस क्षेत्रमा पुग्दा जो कोहीको मन हर्छ । अन्तुमा करिब तीन वर्ष यता मनमोहक पोखरीसमेत छ । पोखरीमा डुंगा सयर गर्दै पोखरीको बीच भागमा बसेर सेल्फी खिच्नेहरूको रोजाइमा पर्छ । प्रेमिल जोडी डेटिङ गर्न, भर्खर विवाह वन्धनमा बाँधिएका नवदम्पति हनिमुन मनाउन आउनेहरूको सङ्ख्या बढ्दै गएको छ । इलामका अन्य पर्यटकीय स्थलमा पर्यटकको खासै उपस्थिति नरहेको बेला पनि श्रीअन्तुमा पर्यटकहरूको कमी नहुने स्थानीयबासीहरुको भनाइ छ । खास गरी साउन अन्तिम सातादेखि पर्यटकहरुको आगमन हुन थाल्छ । 

अन्तु लोपोन्मुख लेप्चा जातिको थातथलो हो । यहाँ आउने पर्यटकले लोपोन्मुख लाप्चा जातिको संग्राहलयमा सकलित ऐतिहासिक हातहतियार, बाजागाजा, घरायसी प्रयोजनका सामग्री अवलोकन गर्न पाउँछन् । लेप्चा भाषामा अत्थु भनेको अग्लो डाँडा हुन्छ । पछि अत्थु शब्द अप्रभंश हुँदै अन्तु भएको हो । पञ्चायत कालमा २०३० सालतिर अन्तु र श्रीबंगु गाउँ पञ्चायत एकीकृत भएर श्रीअन्तु भएको थियो । २०४३ सालमा दीपेन्द्र शिखर नामकरण गरिएको भए पनि पुरानो नाम श्रीअन्तु वा अन्तु डाँडा नामबाट यो ठाउँ प्रसिद्ध छ । एक पटक घुम्नैपर्ने ठाउँ हो श्रीअन्तु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप