आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको पूर्वाधार विकासमा भारतीय लगानी र प्रविधि आवश्यक : मन्त्री झाक्री

बुधबार, ०७ वैशाख २०७९, ११ : १३
बुधबार, ०७ वैशाख २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छिन् । पूर्वाधार विकासमा भारतले आधुनिक प्रविधि सहितको सडक, टनेल, पुल, शहरी एवं यातायात पूर्वाधारमा गरेको प्रगति हाम्रा लागि पनि अनुकरणीय हुनेमा उनले बताएकी हुन् ।

निर्माण उपकरण उद्योगको दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम (एक्सकोन)को पूर्वावलोकन कार्यक्रममा बोल्दै उनले एक्सकोनमा नेपालको सहभागिता महत्वपूर्ण हुने समेत उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग परिसंघले सो कार्यक्रमको आयोजना गरेको हो ।

नेपालमा पूर्वाधारमा लगानीको ठूलो अवसर रहेकाले प्रदर्शनीको माध्यममार्फत नेपालको पूर्वाधार विकासमा प्रविधि, लगानी आकर्षणका लागि सहयोग गर्न पनि मन्त्रीले आग्रह गरिन् । भारतले आफ्नो विकासका साथै नेपालको विकासपनि सहयोग गर्नुपर्नेमा उनको सुुझाव थियो ।

एक्सकोन, भारतीय उद्योग परिसंघद्वारा आयोजित दक्षिण एशियाको सबैभन्दा ठूलो निर्माण उपकरण र निर्माण प्रविधि व्यापार मेला हो । यसको ११औं संस्करण भारतको बैंगलोर अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बैंगलोरमा आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुँदै छ । सोही प्रदर्शनीका वारेमा जानकारी सहित नेपाललाई उक्त प्रदर्शनीको निम्तो दिन सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एक्सकोनबाट नेपालले पनि फाइदा उठाउने गरी सहकार्य हुनुपर्नेमा जोड दिंदै नेपाली निजी क्षेत्रले उक्त कार्यक्रममा भाग लिने विश्वास दिलाए । अध्यक्ष गोल्छाले एक्सकोनबाट नेपालले भरपुर फाइदा लिने गरी सहभागी हुने विश्वास दिलाए ।

अध्यक्ष गोल्छाले भने, ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । भारतले नेपाललाई तेस्रो मुलुकको व्यापारका लागि पारवहन सुविधा दिएको छ । भारतका सार्वजनिक र निजी दुवै क्षेत्रले नेपालमा लगानी गरेका छन् ।’ अत्यन्त नजिकको छिमेकीको नाताले भारतलाई, नेपालको पूर्वाधार विकासमा अझ बढी सहयोग गर्न गर्नेमा गोल्छा विश्वस्त देखिएका छन् ।

कार्यक्रममा जानकारी दिइए अनुसार एक्सकोन ३ लाख वर्ग मिटर डिस्प्ले क्षेत्रफलमा फैलिनेछ र अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, यूएई, दक्षिण कोरिया, सिंगापुर र श्रीलंका जस्ता देशहरू सहित भारत र विदेशबाट १ हजार  भन्दा बढी प्रदर्शनहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । ५ दिने प्रदर्शनीमा विश्वभरबाट ४० हजारभन्दा बढी व्यापारिक आगन्तुकहरुले भाग लिनेछन् ।

कार्यक्रममा एक्सकोनका अन्तराष्ट्रिय प्रचार प्रसार प्रमुख जयदीप शेखरले  एक्सकोन ११औं संस्करण भएको र यस वर्षको विषयवस्तु ‘नयाँ संसारको लागि भारत निर्माणः प्रतिस्पर्धात्मकता, विकास’ रहेको बताउंदै प्रदर्शनीबाट नेपाललाई पनि लाभ हुनेगरी सहयोग गर्न आफूहरु तयार रहेको बताए । भारतीय निर्माण उपकरण उत्पादक संघका पूर्व अध्यक्ष अरविन्द के गर्गले भारतको सबैभन्दा नजिकको छिमेकी भएकाले नेपालमा लगानी गर्न तयार रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप