आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिका : केन्द्रबाट गरिएको भागबण्डाले गठबन्धन घटकमै असन्तुष्टि

तालमेल नगर्ने काँग्रेसको अडान, उपमेयरको आश गरेको माओवादी वडामा सीमित, जसपालाई आंशिक राहत
बुधबार, ०७ वैशाख २०७९, १५ : ३६
बुधबार, ०७ वैशाख २०७९

विराटनगरसहित ६ वटा महानगरमा स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको केन्द्रीय बैठकले तयार पारेको तालमेलको खाकाप्रति स्थानीयस्तरमा आंशिक असन्तुष्टि देखिएको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय बैठकले विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा जसपा नेपालले उम्मेदवारी दिने गरी सहमति जुटाएको छ ।

नेपाली काँग्रेसको स्थानीय समितिले विराटनगरमा तालमेल नगर्ने निर्णय यसअघि गरेको थियो । काँग्रेसले महानगरमा आफ्नो जनाधार बलियो रहेको भन्दै मेयर र उपमेयरसहित अधिकांश वडा आफूले नै जित्ने दाबी गर्दै चुनावी तालमेल आवश्यक नरहेको जनाएको थियो ।

पालिका समितिले गरेको उक्त निर्णय विपरीत केन्द्रले पाँच दलबीच चुनावी तालमेल गर्ने भन्दै काँग्रेसलाई मेयर र जसपा नेपाललाई उपप्रमुख दिने निर्णय गरेको हो । काँग्रेसका विराटनगर समितिका सभापति दिपक चापागाईँले काँग्रेस विराटनगरमा एक्लै लड्न सक्षम रहेको बताए । उनले केन्द्रीय गठबन्धनले भागबण्डा गरेको खबर आफूले मिडियामार्फत थाहा पाएको उल्लेख गर्दै भने, ‘त्यस्तो निर्णयबारे मलाई औपचारिक रुपमा जानकारी छैन, यदि त्यस्तो भएको हो भने हामी पुनः स्थानीय साथीहरुसँग बसेर आवश्यक निर्णय लिन्छौं ।’

काँग्रेसले यसअघि नै विराटनगर महानगरपालिकाको प्रमुख तथा उपप्रमुखका आकांक्षीको नाम माथिल्लो समितिमा सिफारिस गरिसकेको छ । काँग्रेसबाट मेयरका लागि सिफारिस गरिएका नामहरुमा मोरङ जिल्लाका उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मी छन् ।

यस्तै उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

यता प्रमुख पदको दाबी गर्दै आएको जनता समाजवादी पार्टीले पनि आफू केन्द्रीय गठबन्धनको निर्णयप्रति पूर्ण सन्तुष्ट हुने अवस्था नरहेको बताएको छ । सो पार्टीका नेता तथा विराटनगर महानगर प्रमुखका आकांक्षी रहेका उमेश यादवले पार्टीको निर्णय मान्ने तर आफू उपप्रमुख पदमा नजाने स्पष्ट पारेका छन् ।

‘हाम्रो माग भनेको मेयर पाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘केन्द्रीय गठबन्धनको निर्णयप्रति हामी पूर्ण रुपमा सन्तुष्ट छैनौं, अब वडा कसरी विभाजन हुन्छ, हेरौं ।’

माओवादी केन्द्रले पनि गठबन्धन हुँदा आफूले उपप्रमुख पाउनु पर्ने माग गर्दै आएको थियो । तर, सहमति गर्दा नेताहरुले उपप्रमुख पद पनि छोडेपछि पार्टी केन्द्रले आफूहरुलाई हेपेको हो कि भन्ने महसुस भएको माओवादी केन्द्रका विराटनगर महानगरपालिका अध्यक्ष नविन पौडेलले बताए ।

‘हामीलाई केन्द्रले हेपेको हो कि जस्तो लागेको छ, हामी अपमानित भएका छौं,’ उनले भने, ‘पार्टी केन्द्रले सहमति गरेको गठबन्धनको निर्णयलाई हामी मान्छौं, तर वडामा एक्लाएक्लै जाने तयारी गरिरहेका छौं ।’

माओवादी केन्द्रले यसअघि जनता समाजवादी पार्टीले उठाएका प्रमुखका उम्मेद्वार उमेश यादवलाई सहयोग गरेको थियो भने जसपाले माओवादी केन्द्रले उपप्रमुखमा उठाएको उम्मेदवार नमिता न्यौपानेलाई सहयोग गरेको थियो ।

यता, नेकपा (एकीकृत समाजवादी) विराटनगरका अध्यक्ष पारुल क्षेत्रीले भने गठबन्धन दलहरुबीच भएको सहमति अपेक्षित रहेको बताएका छन् । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि चालेको प्रतिगामी कदमका विरुद्धमा उभिएका पार्टीहरुबीच तालमेल गर्नैपर्छ,’ उनले भने, ‘वडा तहसम्म पनि सहमति गरेर जानुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो ।’

२०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले ७ वटा वडा जितेको थियो भने तत्कालीन संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ वडामा जितेका थिए । दुई वटा वडामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

अघिल्लो पटक काँग्रेस र राप्रपा एक्लाएक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो । त्यसबेला काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए ।

यस्तै, माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५२४ मत पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप