आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोसपाबाट धमाधम पलायन : किन टिक्न सकेनन् नेता–कार्यकर्ता ?

बिहीबार, ०८ वैशाख २०७९, १० : ११
बिहीबार, ०८ वैशाख २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले गत माघमा भनेका थिए– कसैलाई पार्टीमा आउन रोक्न सकिन्छ तर पार्टीबाट जानका लागि झ्याल–ढोका धेरै हुन्छन्, सबैबाट बाहिरिन सकिन्छ ।

ठाकुरले यो कुरा त्यतिबेला भनेका थिए, जतिबेला उनका विश्वास पात्र वृषेशचन्द्र लाल लोसपा छाड्ने तयारीमा थिए । ठाकुरले यस्तो अभिव्यक्ति दिएको केही दिनमै अर्थात् माघको अन्तिम साता वृषेशचन्द्र लालले लोसपा परित्याग गर्दै पुरानो तमलोपालाई ब्युँताएका थिए । उनका साथमा लोसपाका प्रभावशाली नेता डा.विजय सिंहलगायत थुप्रै नेता तमलोपामा समाहित भएका छन् ।

त्यसो त निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न पार्टी छाड्ने र प्रवेश गर्ने क्रम बढ्ने गर्दछ । यद्यपि, पछिल्लो समय पार्टी छाड्ने क्रममा लोसपाका नेता उल्लेख्य देखिन्छन् । सो पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले चुनावको समयमा पार्टी छाड्ने र आउने नौलो कुरा नरहेको प्रतिक्रिया दिए ।

चुनावको बेलामा उम्मेदवारीका टिकटको आकांक्षामा एक पार्टीबाट अर्को पार्टीमा जाने गरेको उनको भनाइ छ । यसरी पार्टी नेता–कार्यकर्ता बाहिरिनुलाई ‘सामान्य’ भनेका सोनलले निर्वाचनमा खासै फरक नपर्ने जनाए ।

लोसपाबाट नेता लाल, सिंहमात्र होइन, पछिल्ला दिनमा थुप्रै नेताले पार्टी छाडेका छन् । तीमध्ये कोही एमालेमा गएका छन् भने कोही काँग्रेस र जसपामा गएका छन् । अझै केही नेता लोसपा छाड्ने तर्खरमा रहेको बताइन्छ । बुधबारमात्र लोसपाका केन्द्रीय नेता सञ्जय यादव (बारा) ले पार्टी त्यागेको घोषणा गरेका छन् । उनी एमालेमा प्रवेश गरिसकेका छन् यद्यपि, त्यसलाई औपचारिकता दिन बाँकी छ ।

बुधबार नै लोसपाका नेता जानकी राम साह एमालेमा प्रवेश गरेका छन् । उनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वर्तमान अध्यक्ष हुन् । लोसपा धनुषा समितिले सो उपमहानगरपालिका लागि मेयर पदका लागि सिफारिस गरेको उनी अचानक पार्टी छाडेर हिँडेका हुन् ।

लोसपाका कार्यकारिणी सदस्य राजकुमार लेखी पनि सो पार्टी छाडेर एमालेमा प्रवेश गरिसकेका छन् । उनी थरुहट तथा पूर्वी मधेसका प्रभावशाली नेता हुन् । लोसपाका अर्का प्रभावशाली नेता शिव पटेल पनि एमालेमा गइसकेका छन् ।

लोसपाका अर्का केन्द्रीय नेता राजेशमान सिंह सो पार्टी छाडेर एमाले हुँदै जसपामा गइसकेका छन् । राजेशमान सिंह पर्सामा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

त्यस्तै, लोसपाका सञ्जय यादव, कृष्ण सिंह, उमेश मण्डल, प्रेमबाबु पटेल, महोत्तरी पिप्रा गाउँपालिकाका उपाध्यक्ष नुनु कुमारी दास, बाराको कलैया उपमहानगर–९ का वडाध्यक्ष डा.अख्तर आलम अन्सारीले पनि सो पार्टी छाडेर अन्य अन्य पार्टीमा गइसकेका छन् ।

लोसपाका केन्द्रीय नेता प्रेमदीप थाम्सुहाङ, लोसपा प्रदेश १ का अध्यक्ष फक्तालुङ योङहाङ, वरिष्ठ उपाध्यक्ष शरणहाङ जवेगु, सचिव दिपेश पालुङवा, लोसपा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष रञ्जन सुब्बा, उपाध्यक्ष गजेन्द्र लावती, किरात खम्बुवान राष्ट्रिय समितिका संयोजक हर्कराज राई, लगायत ५२ जनाले एकै दिन सो पार्टी छाडेका थिए ।

लोसपाका नवलपरासी जिल्ला सचिव जयप्रकाश सहनी, मनोजकुमार गिरी, माया अग्रहरि र धिरज शर्मा काँग्रेसमा प्रवेश गरिसकेका छन् । यस्ता थुप्रै नेता तथा कार्यकर्ताहरु छन् जसले लोसपा छाडेका छन् ।

स्रोतका अनुसार लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तव र मधेस प्रदेशका प्रदेशसभा सदस्य प्रह्लाद गिरी पनि सो पार्टी छाड्ने तयारीमा छन् । सांसद भएका कारणले उनीहरूले अहिले पार्टी छाडेका छैनन् । संघ र प्रदेशको चुनाव मिति घोषणा हुने बित्तिकै उनीहरू लोसपा छाडेर एमालेमा जाने लगभग निश्चित भएको नेता श्रीवास्तव निकट नेताहरु बताउँछन् ।

पार्टी छाड्नुको कारण

लोसपा छाडेका विभिन्न नेताहरूले साझा आरोप लगाउने गरेका छन्– लोसपा वास्तवमा पार्टी नै बन्न सकेन ।

जसपाबाट अलग भएर लोसपा बनेको ९–१० महिना भए पनि अझै त्यो पार्टी बन्न नसकेको उनीहरुको अरोप छ । हालसम्म सो पार्टीमा कार्यकारिणी समितिमात्र छ, त्यसबाहेकका नेताहरुको हैसियत के हो भन्नेबारे निश्चित भएको छैन ।

‘पार्टीेले कसैलाई कुनै जिम्मेवारी पनि दिएको छैन । नेताहरु अलपत्रको अवस्थामा छन् । त्यस्तो अवस्थामा पार्टी छाडेर अन्यत्र नगएर के गर्नु ?’ वृषेशचन्द्र लालले भने ।

लोसपा दुईचार जनाले चलाइरहेको पार्टी भएको भन्दै उनले सो पार्टीमा अरू नेताको कुनै काम नरहेको बताए ।

एमालेमा प्रवेश गरेका शिव पटेलले पनि लोसपा कहिल्यै पार्टी बन्न नसकेको गुनासो गरे । उनले भने, ‘दुईचार जना मिलेर पार्टी चलाइरहेका छन्, त्यसबाहेकका अन्य नेताको कुनै महत्व छैन त्यहाँ ।’

लोसपा मात्र होइन, जसपाले पनि मधेसको मुद्दा र एजेण्डा बिर्सेंर सत्ता अभियानमा लागेको उनको आरोप छ । उनले भने, ‘महन्थ ठाकुर र उपेन्द्र यादवले काँग्रेस र एमालेसँग गठबन्धन गर्न सक्छ भने हामी किन उनीहरूकै पार्टीमा बसिरहने ?’

जसपाबाट लोसपा अलग भएको नौ महिना भइसकेको छ तर अहिलेसम्म पार्टीको केन्द्रीय समिति बनेको छैन । लोसपाको संसदीय दल पनि नेता विहीन छ । प्रदेश तथा जिल्ला र केही पालिकामा तदर्थ समिति गठन भए पनि संगठन चलायमान भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप