ब्याटल ग्राउन्ड सुनसरी : ज्ञानेन्द्रलाई सुनसरीमा पनि खतरा !
नेत्र पन्थी र एसके यादव
सुनसरी– मङ्गलबार बिहान साढे ६ बजेतिर इनरुवास्थित अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निवासमा पुग्दा चहलपहल बाक्लो थियो । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र काङ्ग्रेसका स्थानीय नेता कार्यकर्ताको भीड छिचोल्दै हामी उनको निवासमा पस्यौँ । किनभने सोमबार राति नै मङ्गलबार बिहान ६ देखि ७ बजेको बीचमा अन्तर्वार्ता गर्ने तय भइसकेको थियो ।
हामी घरमा पुग्दा मन्त्री कार्की हतार र तनावमा देखिन्थे । ‘मैले तपाईंहरूलाई पर्खेको हुँ । निकै हतार छ । पाँच मिनेटमा सकौँ है ।’ उनले भने ।
हामीले प्राविधिक तयारी गर्दै गर्दा दुई–चार मिनेट लाग्यो । त्यतिन्जेल कार्कीले तीन चार पटक ‘पाँच मिनेट है, त्योभन्दा बढी समय छैन’ भने ।
त्यसैको बीचमा मन्त्रीले अर्को कुरा सुनाए– ‘यहाँ एकछिन ढिला हुँदा उता मेरो एक डेढ सय मतको गढबढ हुन्छ ।’
समयको दबाबमा रहेका मन्त्री कार्कीसँग हामीले छोटो अन्तर्वार्ता गर्यौँ । कार्की जसरी हतारमा थिए, त्यसको सङ्केत थियो– ‘उनी यहाँ जोखिममा छन् । चुनाव आफ्नो पक्षमा आउने सुनिश्चता उनले अझै देखेका छैनन् ।’
स्थानीय तहको चुनावी अङ्कगणित र मत सुरक्षित गर्दा पनि मन्त्री कार्कीले यहाँ चुनाव जित्न सक्छन् । तर यो चुनावमा त्यहीँ अङ्कगणित भत्किन सक्ने खतराका सङ्केतहरू देखिएका छन् । यही बुझेर होला मन्त्री कार्की हरेक एक भोटमाथि नजर राखिरहेका छन् । समय र मतको दबाब महसुस गरिरहेका छन् ।
मन्त्री कार्की कसरी दबाबमा छन्, त्यो जान्नु अगाडि स्थानीय तहमा उनको क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मतको आँकलन गरौँ ।
सुनसरी क्षेत्र नं. ४ मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । यहाँ आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्की मैदानमा छन् भने वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ । यी दुवैलाई दबाब दिने गरी राजपाका रामनारायण यादव उठेका छन् । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा मोटामोटी रूपमा काङ्ग्रेसले २१ हजार २ सय ३३, एमालेले १८ हजार ३ सय २२, माओवादीले ४ हजार २ सय ६, राप्रपाले ११ सय ७०, फोरम लोकतान्त्रिकले ३ हजार ६ सय ६७ र सङ्घीय समाजवादी फोरम नेपालले ८ हजार ९ सय १७ मत पाएको थियो । यसअनुसार यहाँ वाम गठबन्धनको पक्षमा २२ हजार ५ सय २८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ९ सय मत रहेको छ ।
तर, यो अङ्कगणित बचाउन कठिन हुने गरी कार्कीमाथि केही नयाँ झमेला आएका छन् । भोजपुरबाट अचानक सुनसरी–४ मा चुनाव लड्न आएपछि कार्कीमाथि ‘टुरिस्ट’ नेताको आरोप लागेको छ । यो क्षेत्रमा पटक पटक बाहिरबाट उम्मेदवार आउने गरेको र जितेपछि काम नगर्ने गरेको भन्दै मतदाता असन्तुष्ट छन् ।
बाराह नगरपालिका ११ मधुवनमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुरानो घर छ । हामी उनको घरमा पुग्दा भाउजु तारा यादव मात्र थिइन् । उनले ‘नेताहरूले जितेर गएपछि गाउँ फर्कनन्न् ।’
व्यस्त हुन्छन् । समय नभएर नआएका होलान् ।’ चुनावी क्षेत्र छाडेको विषयमा उपेन्द्र यादवको त्यहीँ घर नजिक शिक्षक सराबुद्धिन अन्सारीको घर छ । उनले काङ्ग्रेस नेता कार्कीको उम्मेदवारीलाई लिएर व्यङ्ग्य गरे– ‘यहाँ जहिले पनि टुरिस्ट उम्मेदवार आउँछन् । यसपालि स्थानीयको पक्षमा नतिजा आउन सक्छ ।’
उपेन्द्रका अर्का छिमेकी रहेछन् गगन थापाका काका नरबहादुर थापा । उनले पनि नेताहरू नफर्ककोमा गुनासो गरे । आफ्नो घर अगाडिको पक्की बाटो देखाउँदै उनले भने– ‘यो बाटो हेर्नुहुन्छ । नेपाल सरकारले होइन भारत सरकारले बनायो । नेताहरूले यहाँबाट जितेर मात्र गए फर्केर आएनन् । विकास गरेनन् ।’
मधुवनकै भोजराज सापकोटाको मनमा यो प्रश्न खेलिरहेको छ कि, नेताले जितेर गएपछि किन विकास गर्दैनन ? उनले भने– ‘यो त पर्यटकीय क्षेत्र जस्तो भयो । नयाँनयाँ नेता आउँछन्, जित्छन्, विकास पनि गर्दैनन् र फर्केर पनि आउँदैनन् ।’
यी दुई मतदाताले किन यस्तो भने । यसको सहज जवाफ छ । गिरिजाप्रसाद कोइरालाले यहाँबाट दुई पटक चुनाव लडे । भीम आचार्यले दुई पटक चुुनाव जिते । उपेन्द्र यादवले दुई पटक चुनाव जिते । उनी आफ्नो घर रहेको क्षेत्रबाट चुनाव लडेका थिएनन् । अहिले फेरि कार्की चुनावी मैदानमा उत्रिए । तर, उनको स्थायी घर भोजपुर हो ।
हामीसँगको अन्तर्वार्तामा चाहिँ कार्कीले सुनसरीमा पनि आफ्नो घर रहेको बताएका थिए । तर, अहिले उनी इनरुवामा जुन घरमा बसेका छन्, त्यो चाहिँ भाडको घर रहेको कार्की आफैले बताएका थिए ।
‘टुरिस्ट’ उम्मेदवारबाहेक कार्कीमाथि रहेको अर्को दबाब हो, सङ्घीय समाजवादी फोरम, नेपाल र काङ्ग्रेसबीचको विरोध । कार्कीको समर्थनमा सङ्घीय समाजवादी फोरमले यहाँबाट प्रतिनिधिसभाको उम्मेदवारी दिएनन् । यसको बदलामा फोरमले प्रदेशसभामा काङ्ग्रेसबाट सर्मथन खोजेको थियो । तर, काङ्ग्रेसले प्रदेशसभामा आफ्ना उम्मेदवार कायम राखेपछि फोरम नेपालका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट छन् । यो असन्तुष्टिले तालमेलको मर्म विपरीत भोट अन्यत्र जान्छन् कि भन्ने भय कार्कीमा देखिएको छ । यो भय उनका लागि दबाबको अर्को कारण बनेको छ ।
‘काङ्ग्रेसले प्रदेशसभामा हामीलाई छाडेन । यसले हाम्रा जिल्ला तहका नेता र कार्यकर्तामा असन्तुष्टि बढाएको छ । चुनावको यसको असर अलि अलि पर्न सक्छ ।’ सङ्घीय समाजवादी फोरम, नेपालका जिल्ला तहका नेता प्रभुनारायण यादवले भने । उनी उपेन्द्र यादवको पुरानो घर मधुवनमा भेटिएका थिए । स्थानीय चुनावमा सङ्घीय समाजवादी फोरम नेपालले ८ हजार ९ सय १७ मत पाएको थियो । यदि यो मत दायाबायाँ भयो भने काङ्ग्रेस उम्मेदवार कार्कीका लागि ठूलो जोखिम हुन सक्छ ।
यो क्षेत्रमा सबैभन्दा धेरै मत मधेसी समुदायको छ । तर, वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले पहाडी समुदायबाट उम्मेदवारी दिएका छन् । यस्तोमा राजपाका उम्मेदवार रामनारायण यादवलाई यादवसहित अन्य मधेसी समुदायको भोट बढी जान सक्छ । यस्तो भयो भने पनि कार्कीका लागि खतरा हुन सक्छ ।
जातीय समीकरणको हिसाबले हेर्दा यहाँ झन्डै २५ हजार मत मुस्मिल समुदायको र २० हजार मत यादव समुदायको छ । पहाडी समुदायको मत २० हजारको आसपास छ र अन्य मत मधेसका अन्य समुदायको छ । यो जातीय समीकरणको फाइदा राजपाका उम्मेदवार रामनारायण यादवलाई हुन सक्छ । तर, उनको पार्टी सङ्गठन त्यति बलियो नभएकाले उनी सहजै जित निकाल्ने ठाउँमा छैनन् । तर, उनले चुनौती खडा गर्न सक्छन् ।
‘यहाँ १ लाख १ लाख ११ हजार ४ सय ८१ मतदातामा मधेसी समुदायका ८८ हजार मत छन् । पर्वते (पहाडी) दाजुहरूका २२ हजार मत छन् । स्थानीय नेताले उम्मेदवारी नपाएकोमा काङ्ग्रेसभित्र मतभेद छ । पञ्चायती पृष्ठभूमिका वाम गठबन्धनका उम्मेदवार छन् ।’ राजपाका उम्मेदवार यादवले भने– ‘यस्तो अवस्थामा मलाई सबै मधेसी समुदायको भोट आउँछ । म चुनाव जित्छु ।’ जतिबेला उपेन्द्र यादव यहाँबाट चुनाव लडेका थिए, त्यसबेला उनलाई यादव समुदायको धेरै भोट आएको थियो । राजपा उम्मेदवार अहिले पनि यस्तै गरेर यादव समुदायको भोट आफूलाई आउने बताउँछन् । सङ्घीय समाजवादी फोरमका नेता प्रभु नारायण यादव पनि मान्छन् कि, राजपाका उम्मेदवारले सम्मानजनक भोट पाउँछन् ।
राजपा उम्मेदवार यादवले पनि काङ्ग्रेस र फोरम नेपालबीचको अन्तर्विरोध रहेको र त्यसको लाभ आफूलाई हुने बताए । भने– ‘यहाँ काङ्ग्रेस र फोरमको तालमेल छ । तर, संयुक्त चुनावी सभा र कार्यक्रम छैनन् । प्रचार पनि आआफ्ना छन् । यति भएपछि भोट कहाँ जान्छन् आफै बुझ्नुहोस् ।’
यादवले कार्कीमाथि हमला गरे, ‘नाम ज्ञानेन्द्रबहादुर कार्की भए पनि उहाँमा ज्ञानको अभाव छ । आचारसंहितालाई अचार बनाउनुभएको छ ।
एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्य सुनसरी १ को प्रदेशसभा २ बाट प्रत्यक्ष उम्मेदवार छन् । वाम गठबन्धनका उम्मेदवार आचार्य १ नम्बर प्रदेशका मुख्यमन्त्रीका बलिया दाबेदार पनि हुन् । उनले चाहिँ सुनसरीमा प्रतिस्पर्धा रहे पनि आफूहरूले जित्ने दाबी गरे । ‘मोरङ र झापामा हामी अगाडि छौँ । जित्नका लागि कसैले नसोचे हुन्छ । सुनसरीमा अलिअलि प्रतिस्पर्धा छ । त्यहीँ पनि हामी अगाडि छौँ ।’ आर्चायले रातोपाटीसँगको अन्तर्वार्तामा भने ।
तर काङ्ग्रेस उम्मेदवार कार्की आफ्नो क्षेत्रमा वाम गठबन्धनको दबाब नरहेको बताउँछन् । ‘यहाँ वाम गठबन्धनको त्यस्तो केही दबाब छैन । स्थानीय तहको चुनावमा हामी अगाडि छौँ । हाम्रो जित निश्चित जस्तै छ ।’ काङ्ग्रेस उम्मेदवार कार्कीले रातोपाटीसँगको अन्तर्वार्तामा भने ।
स्थानीय तहको चुनावी अङ्कगणितलाई आधार मान्दा सुनसरीका अन्य क्षेत्रमा पनि चुनाव पेचिलो नै हुनेछ । सुनसरीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ४ र प्रदेश सभा निर्वाचनका लागि ८ निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लामा कूल ४ लाख ७४ हजार ३ सय मतदाता रहेका छन् ।
सुनसरी क्षेत्र नं. ३ मा विजयकुमार गच्छदार कम जोखिममा छन् । यहाँ १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् । यो क्षेत्रमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी र काङ्ग्रेसका नेता एवं मन्त्री विजयकुमार गच्छदारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो ।
यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २० मत छ भने नेपाली काङ्ग्रेसको पक्षमा ३९ हजार २ सय ५० मत देखिन्छ । अर्थात् यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १३ हजार २ सय ३० मत रहेको छ ।
सुनसरी क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख २२ हजार ६ सय ८ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका जय राई र सङ्घीय समाजवादी फोरमबाट अशोक कुमार राईबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका कारण नेपाली काङ्ग्रेसले उम्मेदवार उठाएको छैन ।
गत स्थानीय तहको निर्वाचनमा सुनसरी १ मा काङ्ग्रेसले २३ हजार २४, एमालेले ३० हजार १ सय ३८, माओवादी केन्द्रले १२ हजार ७ सय ४०, नयाँ शक्तिले ५ हजार ५ र राप्रपाले ५ सय ८७ मत पाएको थियो ।
यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ८ सय ७८ मत देखिन्छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १९ हजार ८ सय ५४ बढी मत हो । यहाँ स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिले चुनावी तालमेल गरी ५ हजार ५ मत पाएका थिए । यो मत नेपाली काङ्ग्रेसले पाएको मतमा मिलाउने हो भने २८ हजार २९ मत हुन्छ । यो मत जोड्दा पनि लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा १४ हजार ८ सय ४९ पछाडि परेको छ । स्थानीय तहको चुनावका आधारमा सङ्घीय समाजवादी फोरमका नेता अशोककुमार राईले सहजै जित निकाल्न सकिने अवस्था देखिँदैन ।
सुनसरी क्षेत्र नं. २ मा १ लाख ३० हजार ३ सय ७० मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका डम्बर सुवेदी, नेपाली काङ्ग्रेसका सीताराम मेहता र सङ्घीय समाजवादी फोरमका तेज नारायण चौधरी चुनावी मैदानमा छन् ।
गत स्थानीय तहको निर्वाचनमा सुनसरी २ बाट मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २७ हजार ८ सय ५९, नेकपा एमालेले २८ हजार ९ सय ४०, माओवादी केन्द्रले ४ हजार ६ सय ३९, नयाँ शक्तिले ४ सय ४, राप्रपाले १२ सय ७६, फोरम लोकतान्त्रिकले ५ हजार ७ सय २८ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय २२ मत पाएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६ सय ७९ मत छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत मिसाउँदा ३३ हजार ५ सय ८७ मत हुन्छ । यहाँ राप्रपाले पाएको १२ सय ७६ र नयाँ शक्तिले पाएको मत नेपाली काङ्ग्रेसमा मिसाउने हो भने वाम गठबन्धन भन्दा नेपाली काङ्ग्रेस १५ सय ८८ मतले अगाडि देखिन्छ । यस आधारमा भन्नुपर्दा यहाँ वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर पर्नेछ ।
पहिलो चरणमा १ नम्बर प्रदेशका ७ जिल्लामा चुनाव भएको छ । अब दोस्रो चरणमा पनि ७ जिल्लामा चुनाव हुँदैछ । पहिलो चरणमा मङ्सिर १० गते प्रदेश १ का सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङमा चुनाव भएको छ । दोस्रो चरणमा यो प्रदेशका इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा चुनाव हुँदैछ ।
फोटो : बिजु महर्जन