मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कथा : माने दाइको आशा र चुनाव

शनिबार, १० वैशाख २०७९, ०८ : ५०
शनिबार, १० वैशाख २०७९

चुनाव नजिकिँदै थियो । अध्ययनकै क्रममा सहरतिरको बसाइँ पनि लामै भइसकेको थियो । चुनावको कारण स्नातक दोस्रो वर्षको परीक्षा स्थगित भएपछि गाउँतिर लागेँ । पाँच वर्षमा गाउँमा खासै परिवर्तन भएको देखिनँ । केही दिनको बसाइँमा कहिल्यै नदेखिने नेता कार्यकर्ताहरूको चहलपहल निकै बढेको थियो । 

अघिल्लो चुनावमा एकापसमा बोलचाल बन्द भएका गाउँका दाजुभाइहरूको पुनः मेलमिलापको वातावरण सिर्जना भएको थियो । सबै एक मन बनाएर जिउँदाको जन्ती मर्दाको मलामी चाहिने समाज छरछिमेक नै हो भन्ने सामाजिक एकतामा बसेका थिए । 

तर जसै उम्मेदवारको टुङ्गो लाग्यो । काले दाइ, चामे, माने, हरि काका, डाँडाघरे जेठा बा, पुलामी बाजे, सुशीला दिदी, छेउ घरे साइला, भक्ते दमाइ आदि सबै फेरि चुनावका कारण बाँडिए । सबै आआफ्ना सुरमा थिए । विभिन्न पार्टीका झण्डा समातेर जुलुस, आमसभा, कार्यक्रममा सहभागी देखिए । 

गाउँका विचरा सोझा दाइभाइबिच मन मैला भयो । उनीहरुलाई कुनै पार्टीको सिद्धान्त, दर्शन, चुनावी घोषणा पत्रसँग कुनै सरोकार थिएन, थियो त केवल नेताले दिएका आश्वासन । यो, त्यो, यस्तो उस्तो बनाइदिन्छु, गराइ दिन्छु भन्ने प्रलोभन । त्यही प्रलोभनको आशामा केन्दी्रत डाँडाघरे जेठा बा र पुलामी बाजेको बोलचाल नै बन्द भएको थियो । छेउघरे साइला र भक्ते दमाइबिच त झण्डै कुटाकुट भएको थियो । 

चुनाव आउनु अघिसम्म पार्टी र नेतालाई सत्तोसराप गर्दै एक दिन माने दाइ भन्दै थिए, “यस पटक चुनाव त आओस् मैले जान्या छु । यिनका लागि मैले के गरिन पैला, आज यो गति भोग्नु पर्या छ । गाउँमा बहिस्कार गर्नुपर्छ ।” यो कुरा भनेको केही दिनपछि त माने पार्टीको चिन्हसहितको टिसर्ट पहिरेर नेताको पछि पछि गाउँ गाउँ आफै चहार्दै हिँडेको पो देखेँ । 

मानेले भन्यो, “कान्छा, यस पटक गजराज काकालाई जिताउनु पर्छ ।” मैले भनेँ, “हैन अस्तिसम्म त नेता र पार्टीलाई निकै गाली गलौज गर्दै थियो नि ?” 

मानेले जवाफ दियो–“के गर्छस् कान्छा दुईचार पैसा कमाउनु पर्यो । तेरो भाउजू दीर्घरोगी छे । त्यसमाथि दम, उच्च रक्तचाप पनि छ । उपचार गर्न सहरमा लैजाम्ला भनेको पनि पाँच वर्ष हुन लाग्यो । आम्दानी फुत्ती कौडी छैन । सानो बारीको अन्नपातले पेट पाल्नै मुश्किल छ । ससाना भुराभुरीहरुको सहारा ऊ नै छे । कथम्कदाचित केइ भइहाल्यो भने मेरो त बिल्लीबाँठ हुन्छ, । त्यै भएर चुनावमा नलागी नहुने भो, कान्छा ।’

‘रिस त कम्ता उठ्या छैन । गाउँमा मोटरबाटो पुग्यो भनेर गाउँले कति खुशी थियौँ । गएको वर्खामा पैराले बाटो भत्केको कति भयो, मर्मत भा छैन । खानेपानीको पाइप घर घरमा पुर्याउने भनी कति पटक वडामा धायौं, केइ सुनुवाइ भएन । गाउँको स्कुलको छानो फेर्ने भनी पालिकामा धायांै, माखो मरेन । यी सब सम्झिदा त नेतालाई जिउँदै जलाइ दिऊँ जस्तो लाग्छ । तर के गर्छस् कान्छा । चुनाउ जितेपछि त केइ होला त नि भनेर लाग्नै पर्यो ।” अलि निरास हुँदै आफ्नो कुरा माने दाइले राखे । मैलै एकचित्त भइ सुनिरहें । 

“अनि कान्छा, नेताले तेरो भाउजूलाई चुनाउपछि सहरमा लगेर उपचारको व्यवस्था मिलाइदिन्छु भन्या छन् । यति भन्दा के चाहियो त हामी गरिब मान्छेलाई ।” आशा र प्रलोभनको पछाडि दौडिरहेको मानेको विवशता सुनेर मैले निकै घोरिएर सोचेँ । आखिर नेता भन्या नेतै रैछन् । गरिब सोझा गाउँलेलाई कति सजिलै प्रपञ्चका जालोमा पार्छन् । 

दिन बित्दै गए । चुनाव सकियो । गजराज काका पनि मेयरमा निर्वाचित भए । चारैतिर हर्षबधाई र जय जयकार गर्दै जिन्दावादको नारा पनि घन्कियो । धेरै नेताहरु आआफ्नो पाँच वर्षे जागिर पक्का गरे ।  

म पनि सहरतिर स्नातकको परीक्षा तयारीका लागि हिँडे । परीक्षापछि केही समयका लागि गाउँमा पुनः फर्किएँ । धुस्सिएको टालो हालेको पुरानो सुरुवाल, कच्याककुचुब परेको टोपी, दुब्लो जिउ भएका माने दाइ आफ्नो घरको आँगनमा गालामा हात राखी बसिरहेका थिए । करिब पाँच महिनापछि गाउँमा माने दाइसँग मेरो भेट भएको थियो । 

म गाउँमा आउने बित्तिकै प्रायः माने दाइको घर नपसी मन मान्दैनथ्यो । म सरासर माने दाइको घरमा गएँ । मैलै अभिवादन गर्दै सोधेँ, “के छ दाइ गाउँघरको नयाँ ताजा खबर, भाउजूको उपचार भयो त ?” 

“के गर्ने कान्छा, दैवको लीला तेरी भाउजू यो दुनियाँमा रहिन अब । म एक्लो भएँ । यी ससाना भुराभुरीको बिचल्ली हुने भो ।” भन्दै उनका आँखा रसाए । मैले शान्त मुद्रामा  नेताले उपचार गराइदिने आश्वासन दिएको कुरा सोधेँ । 

“के गर्नु कान्छा, त्यो मुर्दार चुनाव जितेपछि त गाउँमा कहिल्यै फर्केर आएन । धेरै पटक सहरमा गएर भेट्ने प्रयास गरेँ । महिनौ दिनसम्म भेट पनि भएन । उपचार गर्ने रुप्पे नभएर मेरी उनीको ज्यानै गयो । यस्तै रैछ कान्छा, गरिबको व्यथा । जुन शासन आए पनि, जत्ति चुनाव आएपनि हामलाई हेर्ने कोइ छैन ।” 

ऊ चुनाव र शासनप्रतिको विश्वास पूर्ण रुपले गुमाइसकेकोे थियो । भोलिको दिनमा कसरी छोराछोरी पाल्ने ध्याउन्नमा थियो । म पनि निराश हुँदै त्यहाँबाट घरतिर लागेँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप